बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

जापान एयरलाइन्सको नेपालमा उडान सुरु गर्न जापानका परराष्ट्रमन्त्रीसँग आग्रह

बिहीबार, ०८ जेठ २०८२, १५ : ४२
बिहीबार, ०८ जेठ २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिहीबार जापानका परराष्ट्रमन्त्री महामहिम इवाया ताकेशीसँग भेटवार्ता गरेकी छन् । बिहीबार टोकियोस्थित जापानको विदेश मन्त्रालयमा भएको भेटवार्ता फलदायी भएको मन्त्री राणाले बताएकी हुन् ।

मन्त्री राणाले भनिन्, ‘टोकियोस्थित जापानको विदेश मन्त्रालयमा जापानका परराष्ट्रमन्त्री महामहिम इवाया ताकेशीसँग फलदायी छलफलमा संलग्न हुन पाएँ। उक्त बैठकका क्रममा मैले सगरमाथा संवादमा जापानको महत्त्वपूर्ण सहभागिताका लागि महामहिम ताकेशीप्रति हार्दिक धन्यवाद व्यक्त गरेँ।’

मन्त्री राणाले जापानी समकक्षीसँग जापान एयरलाइन्सलाई नेपालमा उडान सुरु गर्न विचार गर्न आग्रह गरेकी छन् । यसप्रति ताकेशीले सकारात्मक रूपमा सहजीकरण गर्ने आश्वासन दिएको मन्त्री राणाको भनाई छ ।

उनले भनिन्, ‘नेपाल र जापानबिच दीर्घकालीन र सुदृढ साझेदारी रहँदै आएको छ। हामी हाम्रो कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा, यस साझेदारीलाई अझ मजबुत बनाउँदै आपसी सहयोग र लाभका लागि नयाँ सम्भावनाहरू खोज्ने अपेक्षा गर्दछु।’

मन्त्री राणा ज्येष्ठ नागरिकहरूमा हुने सामाजिक एकान्तता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जापान पुगेकी हुन् । एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउन्डेसन फर द वेलफेयर एण्ड एजुकेसन अफ द एसियन पिपुल)द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहेको छ ।

ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक), सुरक्षित मातृत्व सञ्जाललगायतका संघसंस्थामार्फत नेपाली महिलाहरूको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी  मन्त्री डा राणालाई सो कार्यक्रमको विशेष वक्ताका रूपमा आमन्त्रित गरिएको हो ।  

जापानमा रहँदा उनले महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी शनिबार स्वदेश फर्किने छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप