बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई

बिहीबार, ०४ असार २०८३, १६ : ५४
बिहीबार, ०४ असार २०८३

सारांश

  • बागमती खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटको उपाधि चितवनले ललितपुरलाई हराउँदै जितेको छ ।
  • फाइनल खेलमा चितवनले ११९ रन बनाएको थियो र ललितपुरलाई १० रनले पराजित गर्‍यो ।
  • प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चितवनका रोशन झा घोषित भएका छन् ।

हेटौँडा । बागमती खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटको उपाधि चितवनले जितेको छ । बिहीबार भएको फाइनल खेलमा ललितपुरलाई हराउँदै चितवनले उपाधि उचालेको हो ।

तेस्रो संस्करणको बागमती खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार हेटौँडाको गौरीटार क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । चितवनका लागि प्रतीक श्रेष्ठले सर्वाधिक ४६ रन र आदर्श दुलालले २१ रन बनाए । उत्कृष्ट बलिङ गर्दै ललितपुरका कप्तान सूर्य तामाङले ५ विकेट र विवेक राना मगरले ३ विकेट लिए ।

१२० रनको लक्ष्य पछ्याएको ललितपुर १० रनले पराजित हुन पुग्यो । ललितपुरको टोली १८ ओभर ३ बलमा १०९ रनमै अलआउट भयो । ललितपुरका लागि कप्तान सूर्य तामाङले सर्वाधिक २१ रन बनाए भने अन्य ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चितवनको जितका लागि प्रतीक श्रेष्ठले २ विकेट लिए । टोली पराजित हुँदा पनि खेलमा ब्याट र बलबाट उत्कृष्ट प्रदर्शन गरेका ललितपुरका कप्तान तामाङ फाइनल खेलको प्लेयर अफ दि म्याच बने ।

उपाधि विजेता चितवनले प्रथम पुरस्कार ५ हजार र खेलाडीहरूको भत्तासहित कुल ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । यसैगरी उपविजेता ललितपुरले द्वितीय पुरस्कार ४ हजार र खेलाडीहरूको भत्तासहित कुल ७४ रुपैयाँ र ट्रफी प्राप्त गरे । प्रतियोगितामा विधागत खेलाडीहरूको लागि पनि ट्रफीको व्यवस्था गरिएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले चितवनका रोशन झाले २० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे। यसैगरी झाले उत्कृष्ट ब्याटर, ललितपुरका कप्तान सूर्य तामाङ उत्कृष्ट बलर र चितवनका सुमित शर्मा प्रतियोगिताको उदियमान खेलाडी बने ।

सेमिफाइनलमा चितवनले मकवानपुरलाई र ललितपुरले नुवाकोटलाई पराजित गरेर फाइनलमा पुगेको थियो। बागमती खेलकुद विकास परिषद्को आयोजनामा भएको प्रतियोगितामा ८ वटा जिल्लाको सहभागिता रहेको थियो । सहभागी टोलीहरुलाई दुई वटा समूहमा बाँडिएको थियो ।

समूह ‘ए’ मा चितवन, धादिङ, काभ्रेपलान्चोक र मकवानपुर रहेको थियो । समूह ‘बी’ मा भक्तपुर, काठमाडौँ, ललितपुर र नुवाकोट रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप