सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश अधिवेशनले इन्जिनियर प्रकाश विष्टलाई पुनः प्रदेश सभापतिको जिम्मेवारी सुम्पिएको छ।
- प्रदेश अधिवेशनबाट उपसभापतिमा भोजराज जोशी, महामन्त्रीमा सन्तोष जोशी लगायतका पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका छन्।
- नवनिर्वाचित पदाधिकारीहरूले विगतका कमजोरीहरूलाई सुधार्दै मिलेर अघि बढ्ने र आगामी निर्वाचनमा रास्वपालाई सुदूरपश्चिमको पहिलो शक्ति बनाउने योजना रहेको बताएका छन्।
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । धनगढीमा सम्पन्न अधिवेशनले इन्जिनियर प्रकाश विष्टलाई पुनः प्रदेश सभापतिको जिम्मेवारी सुम्पिएको छ।
सभापति बाहेकका अन्य पदाधिकारीहरू भने सर्वसम्मत रूपमा चयन भएका छन् । इन्जिनियर प्रकाश विष्टले प्रतिनिधि सभा सदस्य जनक सिंह धामीलाई पराजित गर्दै प्रदेश नेतृत्वको जिम्मेवारी पाएका हुन्।
प्रदेश अधिवेशनबाट उपसभापतिमा भोजराज जोशी, महामन्त्रीमा सन्तोष जोशी, सह–महामन्त्रीमा जसु भट्ट र पारस बाहुन, प्रवक्तामा तेज ठकुल्ला र कोषाध्यक्षमा गणेश बोहरा निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचित पदाधिकारीहरूमध्ये सहमहामन्त्री पारस बाहुन यसअघि प्रदेश महामन्त्रीको भूमिकामा थिए । विगतमा पार्टीभित्र गुटबन्दी गरेको आरोपमा उनलाई जिम्मेवारीबाट हटाइएको भए पनि यसपटक उनी पुनः नेतृत्वमा फर्किएका छन्।
रास्वपाको विधान अनुसार अधिवेशनले पहिले १६ भूगोल र १५ खुला तथा समावेशी सदस्यहरू छनोट गरेको थियो । तिनै सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिएको हो।
सुदूरपश्चिममा रास्वपाको उदयको पृष्ठभूमि निकै रोचक रहेको नवनिर्वाचित उपसभापति भोजराज जोशीले बताए । धनगढीमा गोपाल हमालले स्वतन्त्र उम्मेदवारका रूपमा मेयर जितेपछि यस क्षेत्रमा वैकल्पिक राजनीतिको जग बसेको उनको भनाइ छ।
त्यतिबेला पब्लिक पावर नामक संस्थामार्फत ९ वटै जिल्लामा स्वतन्त्र उम्मेदवार जिताउने अभियानमा सक्रिय रहेका जोशी र उनको समूहले सुरुमा छुट्टै क्षेत्रीय पार्टी खोल्ने तयारी गरेका थिए।
सोही समयमा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि क्षेत्रीय शक्तिको सट्टा राष्ट्रिय मञ्चमा जोडिनु उपयुक्त ठानेर उनीहरू रास्वपामा समाहित भए।
धनगढीको ओम प्यालेसमा भएको पहिलो कार्यक्रमबाटै यस प्रदेशमा रास्वपाको औपचारिक राजनीतिक यात्रा सुरु भएको थियो।२०७९ को निर्वाचन ताका सुदूरपश्चिममा रास्वपालाई उम्मेदवार पाउनै मुस्किल परेको अवस्था थियो । तर, छोटो समयमै रास्वपाले यहाँ उल्लेख्य प्रगति गरेको छ।
सभापति प्रकाश विष्टका अनुसार २०७९ माघमा उनी पहिलोपटक सभापति बन्दा पार्टीको संरचना निकै सीमित थियो। अहिले प्रदेशमा पार्टीका संगठित सदस्यहरूको सङ्ख्या ३८ हजार नाघिसकेको छ।
सुदूरपश्चिमका ८८ पालिकामध्ये ८४ वटामा पार्टीको संरचना विस्तार भइसकेको छ। विशेषगरी कैलाली र कञ्चनपुरका ८ वटा निर्वाचन क्षेत्रमा रास्वपाले आफ्नो विशेष ध्यान केन्द्रित गरेको छ।
पार्टी सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको भन्दै सञ्चालित हस्ताक्षर सङ्कलन अभियानमा सुदूरपश्चिमबाट मात्रै करिब ३ लाख मानिसले हस्ताक्षर गरेको विष्टले दाबी गरे । यो सङ्ख्या पुराना दलहरूले पाउने समानुपातिक मतको हाराहारीमा रहेको उनको तर्क छ।
रास्वपाले आफूलाई एलिटहरूको मात्र नभई श्रमजीवीहरूको पार्टीका रूपमा चिनाउन खोजेको छ । यसको एउटा उदाहरण हुन् भारतको हैदराबादमा बस्ने बैतडीका विनोद विष्ट । कोरोनाकालमा मृत्युलाई जितेर समाजसेवामा होमिएका उनले आफ्नै खर्चमा बैतडीको शिवनाथमा एम्बुलेन्स चलाएका थिए । प्रवासमा रहेका ६०–७० जना नेपाली कामदारलाई एकैसाथ पार्टीमा जोडेर उनले रास्वपाको प्रभाव विस्तार गरेका छन् ।
‘हाम्रो पार्टीमा इन्जिनियर र पाइलटमात्र होइन, मजस्तो श्रमजीवी पनि छन्,’ विष्टले भने।
सुदूरपश्चिमका विकट पहाडी जिल्लाहरू बाजुरा, बझाङ र दार्चुलाका कतिपय वडाहरूमा संगठन पुग्न अझै बाँकी छ । भौगोलिक विकटता, इन्टरनेटको अभाव र युवाहरूको वैदेशिक पलायन संगठन विस्तारका प्रमुख चुनौती बनेका छन्।
नयाँ कार्यसमितिले अबको कार्यकालमा यी बाँकी रहेका दुर्गम क्षेत्र र टोल–टोलसम्म संगठन विस्तार गर्ने लक्ष्य राखेको छ । महामन्त्री सन्तोष जोशीले विगतका कमजोरीहरूलाई सुधार्दै पेलेर होइन, मिलेर अघि बढ्ने प्रतिबद्धता जनाए।
सभापति विष्टले आगामी निर्वाचनमा रास्वपालाई सुदूरपश्चिमको पहिलो शक्ति बनाउने र जनताका साझा समस्यालाई नीतिगत रूपमै समाधान गर्न पहल गर्ने योजना रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण