शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
प्रथम महिला शृङ्खला-२२

कमल राणा : विशेष विवाह विधेयक प्रस्तुत गरिन्, जनमत नआउँदै संसद् भंग हुँदा दुखी भइन्

शनिबार, १० जेठ २०८२

काठमाडौँ । रातोपाटीको प्रस्तुति ‘प्रथम महिला’ शृङ्खलाको २२ औँ एपिसोड कमल राणाका सम्बन्धमा छ । नेपालको संसदीय इतिहासमा पहिलो संसद्को माथिल्लो सदन (महासभा) मा प्रथम उपाध्यक्ष  निर्वाचित हुने श्रेय कमल राणाले प्राप्त गरेकी हुन् । 

कमल राणा संसद्को माथिल्लो सदन ‘महासभा’ मा उपाध्यक्ष हुन पाएकोमा गौरव मान्छिन् । 

माथिल्लो सदनमा उपाध्यक्ष हुने बेलाको संस्मरण सुनाउँदै उनले भनेकी छिन्– ‘३६ जनामा निर्वाचन भएको थियो । उम्मेदवारमा एक जना म र नेपाली कांग्रेसका एक जना उम्मेदवार थिए । 

कांग्रेसको सदस्यता लिएमा अर्का उम्मेदवारलाई फिर्ता लिन लगाउने सुझाव पनि आएको थियो । 

विश्वबन्धु थापाले प्रस्ताव राख्ने बित्तिकै मैले अस्वीकार गरेकी हुँ । 

निर्वाचन भयो, मैले नै जितेँ । 

त्यतिखेर बिपी (विश्वेश्वरप्रसाद कोइराला) ले हाम्रो पार्टी हारे पनि मलाई खुसी लागेको छ, भनेका थिए । 

त्यतिखेर म स्वतन्त्र उम्मेदवार थिएँ । 

उम्मेदवारीका बखत पनि मेरो उमेरलाई लिएर किचकिच गरिएको थियो । 

राष्ट्रिय संसद्मा उम्मेदवार हुन ३० वर्ष हुनुपर्नेमा मेरो उमेर नपुगेको भनी मुद्दै हालेका थिए । 

उतिबेला जन्मदर्ताको व्यवस्था थिएन । 

तैपनि बुवाले पाल्पा गएर उमेरसम्बन्धी प्रमाण बनाई ल्याउनुभएपछि विरोध गर्नेहरू शान्त भए । 

विरोध गर्नेलाई बिपीले यतिखेर यस्तो कुटिल कुरा गर्नु ठिक होइन भनेका थिए । 

त्यतिखेर विरोध गर्ने कांग्रेसकै मान्छे थिए ।

संसद् दुई वर्ष पनि रहेन । 

यसबिच मैले के अनुभव गरेँ भने ‘बिपी’ पढालेखा, बुज्झकी, असल नेता थिए । 

त्यस्ता नेता अहिलेसम्मन् भएका छैनन् । 

बिपी र राजा महेन्द्र दुवै आफ्नो समयका होनहार व्यक्तित्व हुन् । 

मैले बारम्बार भन्दै आएको कुरो हो– दुवै एकै समयमा हुन नपर्ने व्यक्ति हुन् ।’ 

त्यतिखेर संसद्प्रति सबैको चासो थियो । 

अनुभवी कोही थिएनन् ।

केही जान्नुपर्‍यो भने किताबै पढ्नुपर्थ्यो । 

सिंहदरबारको ग्यालरी बैठकमा बिहान र बेलुकी प्रतिनिधिसभा र माथ्लो सभाको बैठक हुन्थ्यो । 

कमल राणाको भनाइ छ– ‘हामी बिहान आठै बजे पुग्थ्यौँ । 

म उपाध्यक्ष हुँदा अध्यक्ष डम्बरबहादुर सिंह थिए । 

कमजोर मनका मान्छे, 

अलिकति खलबल पर्नासाथ बिरामी भएँ भनेर आउँदै नआउने !’ 

‘नेपाल अधिराज्यको संविधान–२०१५’ अनुसार ‘संसद्को गठन: श्री ५ महाराजाधिराज  र महासभा तथा प्रतिनिधिसभा नामका दुई सदनसहित एक संसद् रहने’ व्यवस्था थियो । 

३६ सदस्यीय महासभाका लागि प्रतिनिधिसभाबाट निर्वाचित हुने १८ जना र श्री ५ बाट १८ जना मनोनीत हुने व्यवस्था भए अनुसार कमल राणा पनि श्री ५ बाट मनोनीत भएकी हुन् । 

२०१६ असार २९ गते सभासद् मनोनीत हुनेमा उनी एक मात्र महिला थिइन् । 

२०१६ साउन ६ गते बसेको महासभाको बैठकमा कमल राणा उपाध्यक्ष पदमा विजयी बनेकी हुन् । 

पक्ष तथा विपक्षमा १७÷१७ मत परेकाले महासभा अध्यक्ष डम्बरबहादुर सिंहको विशेष मतद्वारा उनलाई विजयोपहार प्राप्त भएको हो ।

संसदीय अभ्यासको ऐतिहासिक यात्राका सम्बन्धमा उनको भनाइ छ– ‘संसदीय व्यवस्थाको यात्रा लामै भए तापनि अझै त्यो परिपक्वता आइसकेको देखिँदैन । 

खारिएको संसद् हुन खोइ कति समय कुर्नुपर्ने हो, म यसै भन्न सक्दिनँ ।’

त्यसबखत माथ्लो सदनमा उनी एक मात्र महिला थिइन् ।

प्रतिनिधिसभामा पनि द्वारिकादेवी ठकुरानी एक जना मात्रै महिला थिइन् ।

दुवै महिलाले अग्रगामिताको परिचय दिएका छन् ।

कमल राणा ‘महासभा’ मा प्रथम उपाध्यक्ष हुन पुगिन् ।

द्वारिकादेवी ठकुरानी प्रथम महिला उपमन्त्री बन्न सफल भइन् ।

उतिबेलाको बैठकका सम्बन्धमा उनले जनाए अनुसार  बिहान महासभाको बैठक हुन्थ्यो भने प्रतिनिधिसभाको बैठक दिउँसो हुन्थ्यो ।

बैठकका लागि एउटा मात्रै हल भएकोले बिहान र दिउँसोको समय मिलाइएको थियो । 

कमल राणा महिला स्वयं सेविका सङ्घ (डब्ल्यू.भी.एस.) की महामन्त्री पनि बनेकी थिइन् । 

प्रिन्सेप शाहको अध्यक्षतामा २००९ सालमा स्थापित उक्त सङ्घ २०१७ सालसम्म क्रियाशील रह्यो । 

यसले महिला उत्थानका क्षेत्रमा विभिन्न गतिविधि अगाडि सारेको भए तापनि मूलतः निःशुल्क महिलाशिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको थियो । 

विश्व स्वास्थ्य सङ्गठनबाट विशेषज्ञ झिकाई नर्सतालिम आयोजना गरिएको थियो ।

यसमा ‘होमनर्सिङ’ र ‘फर्स्ट एड’ तालिम दिइएको थियो । 

सङ्घसँग सम्बद्ध सदस्यकै आर्थिक सहयोगमा क्रियाकलाप बढाइएका थिए । सदस्यमा २५ जनाको सहभागिता थियो ।

स्वयं सेविका सङ्घमा छँदादेखि नै महिला विकासका क्षेत्रमा काम गर्दै आइरहेकी थिइन् कमल राणा ।

विकासका काममा राजनीतिक प्रभावले पनि निकै फरक पार्ने अनुभूति जागेकाले उनी राजनीतितर्फ अभिप्रेरित हुन् । 

कमल राणा राजनीतिक दलसँग आबद्ध भएको चाहिँ २०४६ साल यता मात्रै हो । 

सूर्यबहादुर थापा नेतृत्वको ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ को उपाध्यक्ष भई सल्लाहकार समेत रहेकी थिइन् । 

तर एउटा मुटु चुँडाउने घटनाले उनलाई विरक्तिको सागरमा धकेलिदियो । 

उनका एकमात्र छोरा अनुपशमसेर राणा असमयमै (२०५६ मङ्सिरमा) यो संसार छाडी गए ।

पुत्रशोकमा उनी भावविह्वल हुन पुगेकी थिइन् । 

अहिले पनि त्यो असह्य क्षणको स्मरणले उनका आँखा सजल हुने गरेका छन् ।

वि.संं. २०१६ सालमा महासभाको उपाध्यक्ष बन्न सफल कमल राणा ‘नेपाल खेलकुद परिषद्’ को स्थापनाकालीन पहिलो महिला सदस्य पनि हुन् । यति मात्रै होइन, संयुक्त राष्ट्र सङ्घीय महिला आयोगको प्रथम निर्वाचित नेपाली महिला हुने गौरव पनि उनलाई प्राप्त छ । त्यतिखेर एसियाबाट श्रीलङ्का र नेपालबिच प्रतिस्पर्धा भएको थियो । 

सन् १९६३ देखि १९६५ सम्म त्यहाँ सदस्य हुँदा उनले नेपाली महिलाका समस्या समाधानका निम्ति विशेष आवाज उठाएकी थिइन् । 

महिला जागरणका दिशामा अग्रणी पुण्यप्रभा ढुङ्गाना आदिसँग रहेर उनले विभिन्न काम गरेकी छिन् । 

यसैको फलस्वरूप नेपालमा महिला शिक्षा, सीप आदिको विकासमा योगदान पुगेको छ ।

प्रत्येक विद्यालयमा एक शिक्षिका राख्नुपर्ने अवधारणा फलीभूत हुँदै आएकोमा उनी हर्ष मान्छिन् । 

संसद्मा महिलाका तर्फबाट गैरसरकारी विशेष विधेयक प्रस्तुत गर्ने ऐतिहासिक दायित्व पनि उनीबाट पूरा भएको छ । 

२०१६ सालमा प्रस्तुत सो विधेयक महिला हक, हितसम्बन्धी थियो । 

प्रस्तुत ‘विशेष विवाह विधेयक’ मा बहुविवाह तथा अनमेल विवाह रोक्ने, विवाहको उमेर तोक्ने लगायतका विषयवस्तु थिए । 

‘पब्लिक ओपिनियन लिन पठाइएको त्यो विधेयक धेरै महत्त्वपूर्ण थियो, 

त्यो नआउँदै ‘२०१७ पुस १ गतेको कदम’ले संसद् भङ्ग भइहाल्यो’ – खिन्नता प्रकट गर्छिन् उनी ।

अलि समय संसद् रहेको भए महिला हक, हितका दिशामा उतिखेरै केही काम हुन्थ्यो भन्ने उनलाई लागेको छ । 

कमल राणाको माइतीघर स्याङ्जा हो । १९८५ वैशाखमा तानसेन, पाल्पामा जन्मिएकी कमल राणाकी माता मदनदिव्येश्वरी शाह र पिता तारकबहादुर शाह हुन् । 

तारकबहादुर ‘भिर्कोटेराजा’ हुन् ।  ऋषीकेश शाह कमल राणाका दाजु हुन् । 

डा. नारायणकेशरी शाह भाइ हुन् ।  बहिनीको नाम पद्मा मल्ल हो ।

वि.सं. २००० मा उनको विवाह तत्कालीन श्री ३ महाराज जुद्धशमशेरका छोरा उपरथी मीनशमसेर जबरासँग भएको हो । 

प्रेम विवाह कि ? सोद्धा ‘त्यतिखेर प्रेम विवाह भन्ने नै थिएन’ उनको भनाइ छ ।  उनका ससुरा जुद्ध शमसेरले आफ्ना छोराहरूका नाममा घर बनाएका थिए । 

उनका पतिको घरको आधारमा ठाउँको नाम नै ‘मीनभवन’ कहलाउन पुगेको छ । कमल राणाले प्रारम्भिक शिक्षा दार्जिलिङको महारानी स्कुल र लरेटो कन्भेन्टमा पूरा गरेकी हुन् ।

घरमै अध्ययन गरी एसएलसी दिने तयारी गरे पनि त्यही बेला उनको विवाह भएकाले परीक्षा रोकिन पुग्यो । पढाइ छुटे पनि उनको पढाइ प्रतिको हार्दिक इच्छा भने मरेको थिएन । 

पाँच वर्षपछि छोरो जन्म्यो र उसलाई हुर्काई, बढाई स्कुल पठाउन थालेपछि एसएलसी दिएकी हुन् । 

काठमाडौँको सीताराम हाईस्कुलबाट एसएलसी गरिन् उनले । आई.ए. र बी.ए. चाहिँ हालको दरबार हाईस्कुलको माथिल्लो भागमा सञ्चालित नाइट कलेज (नेपाल राष्ट्रिय कलेज) बाट पूरा गरेकी हुन् । 

सोही कलेज अहिले ‘शंकरदेव क्याम्पस’ का रूपमा चर्चित छ ।  यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट २०२३ सालमा राजनीति विषयमा स्नातकोत्तर तह पूरा गरेकी हुन् ।

कमल राणाको विभिन्न संस्थासित आबद्धता रहेको छ ।  एकीकृत महिला मोर्चाकी सचिव रहेकी कमल राणा ‘नेपाल रेडक्रस सोसाइटी’ की संस्थापक सदस्य (सन् १९६२) हुन् ।

‘नेपाल परिवार नियोजन सङ्घ’ मा सभापति पनि बनिन् ।  उनको कार्यकाल सन् १९६१ देखि १९६५ सम्म रह्यो ।युनियन कमिसन अफ स्टेटस अफ वुमेन (सन् १९६३–१९६५), नेपाल महिला सङ्गठन तदर्थ समिति सदस्य (सन् १९६३), नेपाल महिला सङ्गठन केन्द्रीय सङ्गठनकी सभापति (सन् १९६६), 

राष्ट्रिय पञ्चायतमा निर्वाचित सदस्य (सन् १९७१), नेपाल महिला सङ्गठनकी अञ्चल सभापति (सन् १९७१),  नेपाल रेडक्रस सोसाइटीकी उप सभापति (सन् १९७१–१९७३), राष्ट्रिय पञ्चायत सदस्य (सन् १९७३–१९७६) आदिमा रहेको उनको सक्रियता उल्लेखनीय छन् ।

त्रिशक्तिपट्ट दोस्रो, गोरखादक्षिण बाहु दोस्रो लगायत अनेक पदक, पुरस्कारबाट सम्मानित उनले विश्वका अधिकांश देशको भ्रमण गरेकी छिन् ।

यही २०८१ असोज महिनामा सम्पर्क हुँदा उनी पूर्णरूपेण अध्यात्म साधनामा तल्लीन रहेको पाइयो । उनका अनुसार स्वास्थ्य ठिकै छ । अलिअलि खुट्टा दुख्छ । श्रवणशक्ति कमजोर भएको छ । यसबारे उनको छोटो भनाइ थियो– ‘उमेर पनि त भयो नि !’ नेपालको संसदीय इतिहासमा पहिलो संसद्को माथिल्लो सदन (महासभा) मा प्रथम उपाध्यक्ष निर्वाचित कमल राणाले पुर्‍याएका योगदान अविस्मरणीय छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया