शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : अनुत्तरदायी उद्योगी

औद्योगिक रसायनले प्रदूषित सिर्सिया नदी, तटीय क्षेत्रमा कस्तो असर ?

शुक्रबार, ०९ जेठ २०८२, १० : ०९
शुक्रबार, ०९ जेठ २०८२

समाचार सारांश

  • बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरूले रसायनयुक्त पानी सिधै खोलामा फाल्दा स्थानीयको स्वास्थ्यमा असर, खेतीयोग्य जमिनमा क्षति पुगेको छ।
  • सिर्सिया र अन्य खोलामा फोहोर पानी बग्न थालेपछि सिँचाइ प्रभावित, पशुचौपायाको मृत्यु, र छठ पर्वमा समेत असर परेको छ।
  • उपमहानगरको निर्देशन अटेर गर्दै उद्योगहरूले प्रदूषण नियन्त्रण नगरेको र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्षले उद्योगीको लापरबाहीको आलोचना गरेका छन्।

बारा । बाराको पथलैयादेखि पर्साको वीरगञ्जसम्म सयौँ उद्योग छन् । बग्रेल्ती उद्योग भएकै कारण पथलैया–वीरगञ्ज क्षेत्रलाई औद्योगिक करिडोर पनि भनिन्छ । यहाँका उद्योगमा हजारौँ मजदुरले रोजगारी पाएका छन् भने मुलुकले ठुलो राजस्वसमेत सङ्कलन गर्दै आएको छ ।

यद्यपि, यही करिडोरका उद्योगीहरूको अनुत्तरदायी गतिविधिका कारण स्थानीयवासीको स्वास्थ्यमा गम्भीर असरसमेत परेको छ । उद्योगहरूबाट निष्कासन हुने रसायनलाई सुरक्षित रूपमा विसर्जन नगरेका कारण स्थानीयवासीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–२३ का खलिल मियाँ मन्सुरीले ३ वर्ष अघिसम्म ५ बिघा खेतमा सिर्सिया नदीकै पानीले सिँचाइ गर्दथे । उनको खेतमा प्रतिवर्ष ३ बाली (धान, मकै, गहुँ) उत्पादन हुन्थ्यो । सिर्सिया नदीको पानीले वर्षभरि सिँचाइ उपलब्ध हुनाले बालीको उत्पादन दर राम्रो थियो । केही वर्ष यता नहरमा दुर्गन्धित कालो लेदो बग्न थालेपछि खेतमा सिँचाइ गर्न समस्या भएको मन्सुरीको गुनासो छ ।

k1

‘रसायनसहितको कालो लेदो पानीले हाम्रो धान, गहुँ, मकै पूरै नष्ट भएको छ । हामी धेरै पीडित भएका छौँ,’ मन्सुरीले भने, ‘अहिले सिँचाइका लागि पानीको कुनै सुविधा छैन । कारखानाले छोडेको केमिकल पानीले खेतमा कुनै पनि बाली उब्जनी हुँदैन ।’

विगतमा बारा, पर्साका सयौँ किसानको खेतमा सिँचाइ हुँदै आएको सिर्सिया नदीमा केही वर्षदेखि दुर्गन्धित कालो लेदो बगिरहेको छ । सिँचाइका लागि प्रयोग हुँदै आएको नदी यतिबेला फोहर बग्ने नालाजस्तो भएको छ ।

२०१३ सालमा अमेरिका सरकारको आर्थिक सहयोगमा सिर्सिया बाँध निर्माण गरेर नहर प्रणालीमार्फत सिर्सिया नदीबाट सिमरा, जीतपुर, परवानीपुर, वीरगञ्ज महानगरको केही वडा हुँदै जगन्नाथपुरसम्मका किसानले सिँचाइ गर्ने गर्दथे । बारा–पर्सा औद्योगिक करिडोरका सिमेन्ट, डण्डी, तेल, घिउ, छाला, कपडा, टायल्स, साबुन, औषधि उद्योगहरूले प्रशोधन नगरी रसायनयुक्त पानी सिधै खोलामा बगाउन थालेपछि समस्या सिर्जना भएको हो ।

‘फोहर पानी बग्छ, सिँचाइमा प्रयोग गर्न मिल्दैन । यस्तो पानी खेतमा लैजाने हो भने बाली नष्ट हुन्छ,’ मन्सुरीले भने, ‘मेयर, सांसदहरू आएर हेरेर जान्छन् । अहिलेसम्म केही उपलब्धि भएको छैन ।’

चैतदेखि जेठसम्म गर्मी महिनाभर गाउँका केटाकेटी, महिला यही खोलामा नुहाइ–धुवाइ गर्थे । छठ पर्वमा यही नदीमा पूजापाठ हुन्थ्यो । गाउँमा कसैको मृत्यु भएमा दाहसंस्कार गर्नेदेखि लिएर गाईभैँसीले समेत यही नदीको पानी पिउँथे ।

औद्योगिक रसायनले नदी दुर्गन्धित भएपछि दाहसंस्कार गर्ने ठाउँसमेत नभएको स्थानीय बताउँछन् । ‘दाहसंस्कार गरेर मलामीहरू यही नदीमा नुहाउँथे । अहिले नदीको पानी छुन पनि घिन लाग्छ । मलामीहरू घरमा गएर नुहाउनु पर्छ,’ मन्सुरीले भने ।

रसायनयुक्त पानी खाएर गाउँमा धेरै गाईभैँसी र बाख्रा मरेको स्थानीय सरोज कुमार राउत बताउँछन् । उत्तरतर्फ चुरे हुँदै बगेको सफा पानीलाई पथलैयाभन्दा दक्षिण पुगेपछि उद्योगहरू ढलका रूपमा परिणत गर्दै औद्योगिक रसायन मिसाइदिन थालेपछि प्रदूषित भएको राउतको भनाइ छ ।

k9

‘३ वर्ष अघिसम्म पानी राम्रो थियो तर अहिले उद्योगहरूले बर्बाद गरिदिए,’ राउतले भने, ‘सिँचाइका लागि पानी नभएपछि मैले खेती नै गर्न छोडिसकेँ ।’

उद्योगसँगको मिलेमतोमा स्थानीय प्रहरी, प्रशासन, जनप्रतिनिधिहरू मौन बसेको स्थानीयहरूको आरोप छ ।

सिर्सियासँगै सिँचाइमा प्रयोग भएको अर्को भाङ्ग्रे खोलालाई जगदम्बा, हुलास, हामा, सूर्य नेपाल, शालिमार लगायतका उद्योगले रसायनयुक्त पानी निष्कासन गर्ने माध्यम बनाएका छन् । सिँचाइकै अर्को पुरानो खोला कैयसुदलाई डाबर नेपाल प्रा.लि, त्रिवेणी टेक्सटायल, नारायणी लेदर लगायतका उद्योगले रसायनयुक्त लेदो बगाउने ढलका रूपमा परिणत गरेका छन् ।

वीरगञ्ज महानगर–३२, चोर्नीका जितेन्द्र प्रसाद यादवका अनुसार कैयसुद खोला कुनै बेला सिँचाइका लागि प्रयोग हुन्थ्यो । पछिल्लो समय यो खोलालाई कैयौँ उद्योगले प्रदूषित पानी फ्याँक्ने नालाजस्तै बनाएको उनको भनाइ छ ।

‘यो खोला हाम्रो गाउँको चारैतिरबाट बगेको छ । पहिला यही खोलाबाट गाउँको सबै खेतमा सिँचाइ हुन्थ्यो । गाईभैँसीले यही खोलाको पानी पिउँथे,’ यादवले भने, ‘अहिले उद्योगहरूले खोला कब्जा गरेर दुर्गन्धित कालो लेदो फाल्न प्रयोग गरेका छन् । अहिले सिँचाइ गर्न, गाईभैँसीलाई पानी खुवाउन र दाहसंस्कारपछि मलामी चोखिन सफा पानीको अभाव छ ।’

वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७६ मा कुनै पनि उद्योग खोल्नुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गर्नुपर्ने प्रावधान छ । उद्योगले रसायनयुक्त प्रदूषित पानी निष्कासन गर्नुपूर्व पूर्ण रूपमा प्रशोधन गरेर जलचर प्राणी, खेतीपाती र वातावरणमा कुनै पनि असर नपर्ने गरी फ्याँक्नुपर्ने उल्लेख छ ।

k13

बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सञ्चालन खर्च महँगो पर्ने भन्दै ‘ट्रिटमेन्ट प्लान्ट’ सञ्चालन नगरेको जीतपुरसिमरा उपमहानगरको वातावरण शाखाले जनाएको छ ।

जीतपुरसिमरा–२३ का वडाध्यक्ष मुस्तफिक अन्सारीले सिर्सिया बाँधमा पहिले सफा पानी आउने गरे पनि अहिले उद्योगहरूले खराब र प्रदूषित पानी फ्याँक्ने गरेको बताए । ‘उद्योगले खोलामा प्रदूषित पानी छोड्दा किसानलाई धेरै समस्या भएको छ,’ उनले भने, ‘त्यस्तो पानी खाएर गाईगोरु मरेका छन् । छठ पर्वमा खोलामा पूजापाठ गर्न मिल्दैन ।’

खोला तथा नदीमा प्रदूषित पानी विसर्जन गर्ने उद्योगलाई तुरुन्तै कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

  • उद्योगहरूले कस्ता रसायन निष्कासन गर्छन् ?

छाला उद्योगमा क्रोमियम लवण, सल्फरयुक्त यौगिक, सोडियम सल्फाईड (छालाबाट रौँ हटाउन प्रयोग हुने) लाइम (छालालाई फुलाउन र रौँ हटाउन प्रयोग गरिने) सल्फ्युरिक एसिड, फार्मिक एसिड, छालालाई रङ दिने क्रममा प्रयोग हुने रसायन, ब्याक्टेरिया मार्न सफाइ र स्यानिटाइजेशन रसायनहरू प्रयोग हुन्छ ।

यी रसायनलाई उद्योगले सिधै खोलामा निष्कासन गर्दा वातावरणमा दीर्घकालीन असर पर्ने, पानीमा अक्सिजनको कमी ल्याउने, पानीलाई अत्यधिक अम्लीय र क्षारीय बनाउने जीतपुरसिमरा उपमहानगरकी वातावरण शाखा प्रमुख इन्जिनियर पुष्पा सिंहले जनाइन् । पानीमा यस्ता रसायन मिसिएपछि जीवजन्तुहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने उनको भनाइ छ ।

इन्जिनियर सिंहले यस्ता रसायनले माटोको उर्वरा शक्ति नष्ट गर्ने, सल्फाइड ग्याँस र दुर्गन्धले वायुलाई प्रदूषण गर्ने, छालाको सम्पर्कमा आए एलर्जी, श्वासप्रश्वास र क्यान्सरको खतरासमेत हुने बताइन् ।

त्यसैगरी कपडा उद्योगहरूमा कपडा सफा गर्न प्रयोग हुने डिटर्जेन्ट, साबुन, कपडाको सतह सफा गर्न प्रयोग हुने सोडियम हाइड्रोक्साइड, कपडालाई सेतो बनाउन प्रयोग हुने हाइड्रोजन पोरोक्साइड, विभिन्न रङमा प्रयोग हुने डाइ र कपडा नरम तथा टिकाउ बनाउन प्रयोग हुने फिनिसिङ्ग केमिकलहरू सिधै खोलामा निष्कासन गर्दा पानीमा रासायनिक प्रदूषण बढ्ने सिंहको भनाइ छ ।

यस्तो रसायनयुक्त पानी सिँचाइमा प्रयोग गर्दा माटोको गुणस्तर घटाउने उनले बताइन् । यस्तो पानी शरीरमा परेको खण्डमा छालामा एलर्जी हुनका साथै दीर्घकालीन रोग निम्त्याउने उनले प्रस्ट पारिन् ।

तेल तथा घिउ उद्योगमा प्रयोग हुने हेक्सेन, फस्फोरिक एसिड, कास्टिक सोडा लगायतका रसायनले पनि जैविक स्वास्थ्यमा असर पर्ने विज्ञ बताउँछन् । समग्रमा औद्योगिक रसायनले माटोलाई अत्यधिक क्षारीय बनाएर उर्वराशक्ति नष्ट पार्नुका साथै स्नायु प्रणालीमा असर गर्ने, छाला र आँखामा जलन हुने, श्वासप्रश्वासमा असर पार्ने उनीहरूको भनाइ छ ।

k2

उपमहानगर वातावरण शाखाकी प्रमुख सिंहले सम्बन्धित वडाका वडाध्यक्षहरूले सहयोग नगरेसम्म कर्मचारीले मात्रै उद्योग अनुगमन गर्न नसक्ने बताइन् । ‘हामीकहाँ अहिले पानीमा धेरै प्रदूषण छ । सबैजसो उद्योगले भारी रसायन भएको तरल पदार्थ सिधै खोलामा निष्कासन गरेका छन्,’ सिंहले भनिन्, ‘उपमहानगरसँग प्रदूषण मापन गर्ने यन्त्र छैन । अनुगमन समितिलाई वास्तै छैन । हामीले कसरी काम गर्ने ?’

  • उपमहानगरको निर्देशन कार्यान्वयनमा उद्योगको आलटाल

जीतपुरसिमरा उपमहानगरले करिडोरका करिब एक दर्जन उद्योगलाई पत्र पठाएर रसायनयुक्त तरल पदार्थ तथा फोहर पानी सोझै खोलामा नफाल्न निर्देशन दिएको थियो ।

k7

३ महिनाअघि उपमहानगरले दिएको लिखित निर्देशन हालसम्म कुनै उद्योगले कार्यान्वयन नगरेको वातावरण शाखाले जनाएको छ । ‘जमुनी पैनी, भङ्ग्राह खोला हुँदै सिर्सिया नदीमा उद्योगबाट निष्कासन हुने तरल पदार्थ तथा फोहर पानी प्रशोधन नभएको, सिधै खोलामा निष्कासन भएको देखिएको हुँदा फोहर पानी प्रशोधन गर्न आवश्यक पर्ने उपकरण जडान गर्नुहोला’ निर्देशनमा उल्लेख छ ।

उपमहानगरले जगदम्बा स्टिल प्रा.लि., हुलास स्टिल प्रा.लि, नन्दन घी एण्ड आयल इन्डष्ट्री प्रा.लि., शिवशक्ति घी एण्ड आयल इन्डष्ट्री प्रा.लि, गणपति वनस्पति प्रा.लि., कोहिनुर टेक्सटायल, नेपाल सेरामिक इन्डष्ट्री प्रा.लि, नेपाल स्टोनेक्स कम्पनि प्रा.लि., अशोक स्टिल प्रा.लि, नारायणी लेदरलाई प्रदूषण नियन्त्रण गर्न पत्र काटेको थियो । उद्योगहरूलाई करिडोरमा अनिवार्य वृक्षारोपण गर्न समेत निर्देशन दिएको छ ।

प्रदूषण नियन्त्रण गर्न उपमहानगरले दिएको निर्देशन पालना भए–नभएकोबारे अनुगमन हुन नसकेको शाखाकी प्रमुख सिंहले बताइन् । ‘जनप्रतिनिधिहरूलाई खासै वास्ता छैन । हामी कर्मचारीमात्रै बाठो भएर के गर्ने ?’ सिंहले भनिन् ।

  • ‘प्रदूषित पानीले उर्वर माटोलाई बिस्तारै मरुभूमि बनाउँछ’

जीतपुरसिमरा उपमहानगर कृषि शाखा प्रमुख अनिस प्याकुरेलले उद्योगबाट निष्कासन भएको भारी रसायनले जमिनको उर्वर क्षमता घटाउँदै लैजाने र दीर्घकालमा मरुभूमि बनाउने बताए ।

k10

‘उद्योगले निष्कासन गरेका रसायनहरूले तत्कालै बाली ओइलाउने, मर्ने, बालीमा नयाँ–नयाँ रोग देखिने र दीर्घकालमा उर्वर जमिनलाई बिस्तारै मरुभूमि बनाउँदै लैजान्छ,’ उनले भने, ‘यस्ता रसायनले माटोको भौतिक, रासायनिक र जैविक तत्वहरूलाई नष्ट गर्दछ ।’

कृषि सिँचाइ प्रणालीलाई अव्यवस्थित गर्ने, खोला, नदीहरूमा रसायनयुक्त पानी मिसाएर किसानलाई समस्यामा पार्ने उद्योगहरूलाई तत्कालै कारबाही गर्नुपर्ने प्याकुरेलको भनाइ छ । ‘कुलो, नहरमा प्रदूषित पानी फ्याँक्नेहरूलाई कानुनी मापदण्डमा टेकेर कारबाही गर्नुपर्दछ,’ उनले भने ।

रसायनयुक्त पानीले माटोमा अम्लीय र क्षारीय मात्रा ह्वात्तै बढाउँछ । माटोको अम्लिय र क्षारीयपना ६ दशमलब ५ देखि ७ दशमलब ५ भित्र हुनु उपयुक्त मानिन्छ ।

  • ‘उद्योगीहरू बदमास भए’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले उद्योगीले आफ्नो धर्म छोडेर बदमासी गरेको टिप्पणी गरेका छन् । ‘उद्योगीले सञ्चालन अनुमति लिँदा नै म प्रदूषण गर्दिनँ, प्रदूषण नियन्त्रण गर्न यो–यो मेसिन जडान गर्छु भनेर कबुल गरेर लाइसेन्स लिएका हुन्,’ उनले भने, ‘तर अहिले उद्योगीहरू बदमास भए । यिनले आफ्नो धर्म छोडे ।’ गर्छु भनेर प्रतिबद्धता जनाएको काम नगर्नु भनेको बदमासी नै हुने उनको भनाइ छ ।

hari gautam

अध्यक्ष गौतमले ट्रिटमेन्ट प्लान्ट सञ्चालनमा उद्योगीहरूलाई सरकारले पनि सहयोग गर्नुपर्ने बताए । उनले पहिलो चरणमा प्रशोधन भएको पानीलाई एकै ठाउँमा राखेर पुनः दोस्रो चरणको प्रशोधन गरेर खेतबारीमा सिँचाइ गर्न मिल्नेगरी खोलामा छोड्नुपर्ने प्रस्ट पारे ।

‘प्रदूषणयुक्त पानीलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा वीरगञ्ज, महानगर, जीतपुरसिमरा उपमहानगर र परवानीपुर गाउँपालिका प्रमुखहरूसहित बसेर छलफल गर्नुपर्छ,’ उनले भने, ‘प्रदूषण नियन्त्रणको दुई वटा च्याप्टर छन्– एउटा उद्योगीले गर्नुपर्ने र अर्कोचाहिँ सरकारले गर्नुपर्ने ।’

यस्ता प्रदूषणले सिङ्गो मानवजाति र जलचरलाई नै असर पार्ने भएकाले नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप