त्रिपन्न लाखभन्दा बढीमा बागवानीको आँप ठेक्कामा
_J2ESK6ogjR.jpg)
समाचार सारांश
- सर्लाहीको उष्ण प्रदेशीय बागवानी केन्द्रले यस वर्ष ५३ लाख ७१ हजारमा आँप बिक्रीको ठेक्का लगाएको छ।
- गत वर्षको तुलनामा यस वर्ष आँपको ठेक्का दोब्बर मूल्यमा लागेको छ, जसको कारण यस वर्ष आँपको उत्पादन बढेको हो।
- बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बै, लगायत ३५ भन्दा बढी जातका आँप उत्पादन हुने गरेको छ।
सर्लाही । उष्ण प्रदेशीय बागवानी केन्द्र सर्लाही नवलपुरले ५३ लाख बढी मूल्यमा यस वर्षको लागि आँप बिक्री ठेक्का लगाएको छ । केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि जम्मा रु ५३ लाख ७१ हजारमा ठेक्का लगाएको हो ।
दोस्रो पटक आँप बिक्रीका लागि निकालेको सूचनाअनुसार सुरज निर्माण सेवा लालबन्दी–१, पुनर्वासले उक्त मूल्यमा ठेक्का सकारेको केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले जानकारी दिए । निमित्त प्रमुख यादवका अनुसार यस वर्ष आँप गत वर्षको तुलनामा दुई गुणा बढी मूल्यमा ठेक्का लागेको हो । गत वर्ष रु २१ लाख १५ हजारमा मात्र ठेक्का लागेको थियो ।
‘‘गत वर्ष अफ सिजन थियो । त्यसैले आँप निकै कम फल्यो । ठेक्का कम रकममा लागेको हो’’, निमित्त प्रमुख यादवले भने । यस वर्ष सिजन भएकाले धेरै फलेको उनको भनाइ छ ।
उत्पादन बढेकाले बागवानीले रु ७१ लाख ११ हजार १२१ बिक्री मूल्य राखेर गत वैशाख १६ गते प्रथम पटक बिक्री सूचना निकालेको थियो । तर, १५ दिनको म्याद अवधिमा आँप ठेक्काको निवेदन नपरेको उनले बताए । त्यसपछि केन्द्रले फेरि गत जेठ १ गते रु ५१ लाख ७५ हजार मूल्य राखेर दोस्रो पटक सात दिनको लागि सूचना निकालेको हो ।
ठेक्का लगाउने समयमा हावाहुरीले आँपमा क्षति गरेकाले ठेक्का मूल्य घटाउनुपरेको केन्द्रका निमित्त प्रमुख यादवको भनाइ छ । यस केन्द्रले अहिले सम्मकै धेरै आर्थिक वर्ष २०७९/८० मा रु एक करोड ११ लाखमा आँप बिक्री गरेको थियो । यहाँ करिब एक सय बिघा क्षेत्रफलमा आँपका छ हजार वटा रूख छन् ।
त्यसमध्ये बर्सेनि तीन हजार पाँच सय बढी रुखमा मात्र फल लाग्ने गरेको छ । बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमसहित ३५ बढी जातको आँप उत्पादन हुने गरेको निमित्त केन्द्र प्रमुख यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली डेभलपमेन्ट बैँकका अध्यक्ष राजेन्द्र : सल्यानका राई नेपालगन्जमा राय, लखनउमा पुग्दा गुप्ता बनेर लुके
-
रास्वपा संसदीय दलको बैठकमा भिजिट भिसा प्रकरणबारे छलफल
-
सुदूरपश्चिम प्रदेशस्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ २४ र २५ गते हुने
-
‘शक्तिशाली’ सहसचिवलाई सीडीओ बनाउन कार्यविधि लत्त्याउँदै गृहमन्त्री
-
गायक तथा सङ्गीतकार रसिकको मङ्गलबार अन्त्येष्टि गरिने
-
टुसा उम्रिएको आलु खान हुन्छ कि हुन्न ?