कालोपट्टी : जनआन्दोलनको जुनकिरी– २

आयो अब चैत ३ गते । अपराह्न २ बजे निषेधकारी शाही आज्ञाको हाकाहाकी अवज्ञा गर्दै त्रिचन्द्र क्याम्पस परिसरभित्र विशाल जमघट जुट्यो । छिर्न पाए शाही प्रज्ञा प्रतिष्ठानको डबलीमा बसौँला । छिर्न नपाए त्रि–चन्द्र क्याम्पसको भलिबल मैदानमा पलेँटी कसौँला । आयोजक टोलीका योजनाकारकोे वैकल्पिक सोचाइ यस्तो थियो तर कमलमणि दीक्षितले जुक्ति सुझाए— बस्नु नै छ त सरस्वती सदन सामुन्ने किन नबस्ने ? सडकमा हिँड्ने र गुड्ने नागरिकका नजरबाट ओझेल परी कुनामा छेकिएर किन बस्ने ? ८–१० मिनेटमै जुट्ने क्रम भटाभट पूरा भयो । ब्यानर हावामा फहरायो । ब्यानरको बोल थियो— अभिव्यक्तिमाथिको दमन र जनहत्याविरूद्ध कलाकर्मीहरू ।
तरुण रघु पन्तले विरोधकोे उद्देश्य, विरोधको शैली, विरोधको समयावधि र विरोधको मर्यादाउपर सङ्क्षेपमा प्रकाश पारे । सुनील र आरोहण परिवारका सदस्यले काला पट्टी फटाफट बाँडे । जगेडा काला पट्टी बोकेर हरिगोविन्द तम्तयार भए । पलभरमै सबैका आसन जमे । सबभन्दा अगाडि मूलद्वारको सोझोभित्र पारिजात दिदी मुढामा बसिन् । उनको छेवैमा बसे युद्धप्रसाद मिश्र । दोस्रो लहरमा बसे— कृष्णचन्द्रसिंह प्रधान र कमलमणि दीक्षित, भुवनलाल प्रधान र आनन्ददेव भट्ट, गोविन्दप्रसाद लोहनी र मोहन कोइराला, डायमनशमसेर र सत्यमोहन जोसी, शक्ति लम्साल र दुर्गालाल श्रेष्ठ, ध्रुवचन्द्र गौतम र अशेष मल्ल, हरि अधिकारी र विष्णुविभु घिमिरे, राजेश ढुङ्गाना र अरूहरू ।
महिला कलमकर्मीले त्यही लहरमा आसन जमाए । यथा अञ्जु दीक्षित र बेञ्जु शर्मा, शारदा शर्मा र अरूणा उप्रेती, कुन्द टण्डन र सुम्निमा तुलाधर आदि । त्यसपछिको लहरमा बसे निनु चापागार्ईं र रुद्र खरेल, महेश मास्के र गङ्गाप्रसाद उप्रेती, रामेश र रायन, मल्ल के. सुन्दर र इस्माली, हरिगोविन्द लुइँटेल र गोविन्द वर्तमान, अच्युतरमण अधिकारी र राजेश गौतम, राजभाइ जकःमीः र रघु पन्त, मुरारी अर्याल र सुनील पोखरेल, मणि थापा र कृष्णसेन इच्छुक, शार्दूल भट्टराई र कुन्दन अर्याल, पूर्णविराम र त्रिरत्न शाक्य, वासुदेव अधिकारी र ललिजन रावल, राजकुमार केसी र अरूहरू । अगाडि सडकको पारि भित्तोमा प्रहरीको विशाल ट्रक आएर घ्याच्च अडियो । वातावरणमा आतङ्कको सन्देश तरङ्गित भयो । प्रहरीहरू प्रहार गरिहाल्ने मुद्रामा सडकको पेटीभरि झुप्पाझुप्पा भएर उभिए ।
देशका स्वतन्त्रताप्रेमी लेखक–कलाकारको व्यापक सहभागितायुक्त विरोध थियो त्यो । त्यो नितान्त शान्तिपूर्ण र मर्यादित थियो । त्यसबाट न कसैका चित्तमा अभद्र शब्दवाणको खतरा थियो न कसैका ढाडमा हिंसात्मक पत्थर प्रहारको । तथापि शाही प्रज्ञा प्रतिष्ठानको प्राङ्गणभित्र पस्न राष्ट्रको स्वतन्त्र विवेक र प्रज्ञालाई निषेध गरियो । विडम्बनावश, कुकुरहरूलार्ई भने फुक्काफाल भित्र पसी मैथुनक्रीडा प्रदर्शन गर्न कृपापूर्वक छुट दिइयो ।
कालोपट्टीकर्मीका जस्तै कालोपट्टीका पनि आफ्नै कथा छन् र कथाभित्र त्यसका आफ्नै व्यथा छन् । कालोपट्टीको जोहो गर्ने जिम्मा हरिगोविन्द लुइँटेल र सुनील पोखरेलका भागमा परेको थियो । हरिगोविन्द र शिवप्रसाद गौतम कालोपट्टीको कपडा किन्न पसलमा पसे । पसलेका चित्तमा कुनै आशङ्का नजागोस् र साथै सरकारी जासुसका सिकारी आँखा छल्न सकियोस् भनी तिनले चतुर्याइँ गरे । कालो कपडासँगै तिनले सेतो कपडा पनि किने । सुनील पोखरेल र नारायण पुरीले फ्रेन्च कल्चरल सेन्टरको एक कुनामा लुकेर कालोपट्टीका लागि कपडा च्याते ।
उसले महजोडीका कानमा खुसुक्क साउती गर्यो, ‘मैले पुलिसको वाकीटकी सुनेँ । महजोडीलाई हुलबाट छुटाएर पुलिस क्लबमा ल्याउने आदेश आइरहेछ ।’
विरोधकर्मीहरूको आसन जम्न थाल्नु के थियो, ट्राभल एजेन्सीमा काम गर्ने एक शुभचिन्तक असिनपसिन गर्दै दौडेर आयो । उसले महजोडीका कानमा खुसुक्क साउती गर्यो, ‘मैले पुलिसको वाकीटकी सुनेँ । महजोडीलाई हुलबाट छुटाएर पुलिस क्लबमा ल्याउने आदेश आइरहेछ ।’ महजोडीले महमय मुस्कानसाथ शुभचिन्तकलाई भने, ‘यतिका ठुलाबडालाई घरघरै चहारेर, यहाँ ल्याएर, भुङ्ग्रामा पारेर हामी चाइने लुसुक्क भाग्ने ? असम्भव ! कुटे कुटुन्, मारे मारुन्, अब हातखुट्टा कमाउने कुरै छैन !’
विरोधको आसन सुरु भई करिब २० मिनेट बितेको छ । मुखमुखमा कालापट्टी बाँधिएका छन् । बन्द मुखहरूले मौन भाकामा भनिरहेछन्, ‘यी काला पट्टीमा हेरे शाही सत्ता तेरो अस्सली अनुहार !’
शाही हैकमका प्यादामाथि टावरमा बसेर आदेश दिइरहेका हुँदा हुन् । लाठी, बुट र गोलीले विवेक र न्यायको आवाजलाई कुल्चिन अभ्यस्त क्रूद्ध जवान तल हाम्रासामु तमतयार छन् । चरम उत्तेजित र आक्रामक मुद्रामा दङ्गा प्रहरी लाठा र बन्दुक बोकेर सरस्वती सदनको मूलद्वारमा झुप्पाझुप्पा भएर उभिए । सिठी तिर्र बज्यो । दङ्गा कमान्डरले चर्को डाकोमा आदेश दियो, ‘घेर, घेर, जम्मैलाई घेर ।’ एक बन्दुके जबानले हत्तपत्त घुँडा टेकेर राइफल ताक्यो । राइफल युद्धप्रसाद र पारिजाततिर ताकिएको थियो ।
प्रहरीको गोलो हानेको काणसरी हुत्तिँदै र हल्ला गर्र्दै भित्र घुस्यो । हामी चेतनाकर्मी पलभरभै प्रहरीका कटबाँसका लाठाको बारभित्र घेरियौँ । पाखुरा समातेर बलात् उठाउँँदै, घचेट्दै, लाठाले घोच्दै हामीलाई मूलद्वारतिर हुर्याइयो । पारि पेटीबाट उत्तेजना र आक्रोशमिश्रित स्वर सुनियो । यसो हेर्छु त गाँठे ! एउटी महिलालाई पुलिसले लतारेर पेटीमा पछारेको छ । कमलमणि दीक्षित र महेश मास्के विरोध गरिरहेका छन् । दीक्षित उत्तेजित मास्केको क्रोधलाई मत्थर पार्न खोजिरहेछन् । सोध्दा थाहा भयो, अञ्जु दीक्षितको झिनो हात पारि पेटीबाट हेरिरहेकी महिला बटुवाकोे स्वागतमा हल्लिएछ । बटुवा रैछन् ज्ञानु प्याकुरेल । ज्ञानुको हात प्रत्युत्तरमा उठेछ । यत्तिकैमा मुस्तन्ड प्रहरीको क्रोध ती निर्दोष महिलामाथि खनिएछ ।
वयोवृद्ध कवि युद्धप्रसाद र लोकप्रिय महजोडीलाई प्रहरीले भ्यानमा राखेर चलान गर्यो । बाँकी सबैलाई लछारपछार पार्दै, घँचेट्दै र घोच्दै ट्रकमा खाँदियो । केही युवक ट्रकदेखि केही पर पेटीमा उभिएर त्यो दृश्य हेरिरहेका थिए । जब ट्रक गुड्न थाल्यो, क्रूद्ध युवाले नारा लगाए— ‘फासिस्ट पञ्चायत व्यवस्था मुर्दावाद !’ प्रहरीले कटबाँसका लाठाले दाग्दै युवालाई नजिकैको संस्कृत छात्रावासतिर लखेटे । लेखक–कलाकार थोत्रो टाटा ट्रकमा सिमन्टीका बोरासरह खचाखच लादिएका थिए । खचाखचको बोझ थेग्न नसकेर ढलपल–ढलपल गर्दै ट्रक बेत्तोडले सभागृहतिर हुइँकियो । विरोधकर्मी जोधाहामध्ये सबभन्दा अग्ला छन् राजेन्द्र सलभ । हावाको गतिमा ट्रक कुदिरहेछ, सारसको जस्तो घिच्रो यताउता तन्काउँदै र दायाँबायाँ पेटीका पात्र र दृश्यको चिलको चालले चियो गर्दै राजेन्द्र विनोद र व्यङ्ग्यमिश्रित स्वरमा सुनाइरहेछन्— ‘ऊ पेटीमा एक कलमधारी रूपसी र गोविन्द गिरी प्रेरणा उभिएका छन् । प्रहरीको ट्रकमा भेडा–च्याङ्ग्राझैँ कोचिएका आफ्ना सहधर्मीको दशा देखेर मानौँ ती गद्गद छन्् । ती त आनन्दी मुद्रामा हाँसिरहेका पो छन् गाँट्ठे !’
ट्रक बेत्तोडसँग कुदिरहेछ, टिप्पणीकारको धाराप्रवाह टिप्पणी सुनेर हामी खित्का छाडेर हाँसिरहेछौँ ।
विरोधकर्मीको गोलोमा सबभन्दा वृद्ध छन् युद्धप्रसाद मिश्र, उमेर ८२ वर्ष । सबभन्दा कलिलो उमेरकी छन् सुम्निमा तुलाधर, सुपरिचित पद्मरत्न तुलाधरकी छोरी, उमेर १५ वर्ष । युद्धप्रसाद मिश्रलाई अहिलेसम्म भित्र प्रहरी अड्डामा कतै एक्लै राखिएको छ ।
ट्रकको खचाखच भिडमा खासखास–खुसखुस सुरु हुन्छ— खल्तीमा भएका कागजात, परिचयपत्र आदि के गर्ने ? खासखुसे सल्लाहपछि हठात् निधो हुन्छ, सबै नष्ट गर्ने । अब सुरु हुन्छ आ–आफ्ना खल्तीको अपरेसन । कणाद महर्षिका खल्तीमा जागिरे परिचयपत्र रहेछ । त्रास मिश्रित प्रश्न उठ्छ, त्यसलाई सुरक्षित राख्ने कि च्यातेर फाल्ने ? पलभर यसो कि उसोको द्विविधा चल्छ र पलभरमै परिचयपत्र नष्ट हुन्छ । कोही कागजको डल्लो चपाइरहेछन्, कोही कागजका टुक्रा धुजाधुजा पार्दै हावामा बत्ताइरहेछन् । सबैजसो व्यस्त छन्, सबैमा हडबडी छ, सबैमा आतुरी छ ।
मानिसको बोझ र आतङ्कमय कुदाइको तोडले ढलपल–ढलपल गर्दै, पल्टिनबाट रौँप्रमाणले जोगिँदै थोत्रो ट्रक महेन्द्र पुलिस क्लबभित्र पस्यो । एकाध मिनेट अडिएपछि ट्रक फेरि उस्तै ज्यानमारा गतिमा बाटो लाग्यो । हामीलाई सिंहदरबार अगाडि बग्गीखानाको ट्राफिक प्रहरी अड्डाको एउटा विशाल हलमा कोचियो । उद्विग्न मुद्रामा म अहिले सम्झन्छु, लेखक–कलाकारको विशाल जमघटको एक कुनामा एक चिन्ताग्रस्त युवक थिए— निर्ममतापूर्वक पिटिएजस्ता, अत्यासको मुद्रामा थप पिटाइ पर्खिरहेजस्ता । पछि थाहा भयो, ती युवक रहेछन् सुवास देवकोटा । लेखक–कलाकार यता आफ्नो विशाल गोलोमाझ उन्मुक्त मुद्रामा गफ गर्दै हाँसिरहेछन् । उता सुवास त्रस्त मुद्रामा मानौँ अर्को चरणको प्राणघातक यातनाको प्रतीक्षामा छन् । त्यो असहज वातावरणमा मलाई लाग्यो, मेरो बेचैन आत्मा पञ्चायती करौँतीले रेटिरहेछ । सुवास देवकोटाबाहेक त्यहाँ कोही कालिदास पनि छन् । उनी जनआन्दोलनबाट एकाध दिनअघि समातिएका रहेछन् । छाँटले उनी पनि पञ्चायती राजशाहीको कठोर सास्तीको सिकार भएका छन् !
अलिबेरपछि महजोडीलाई पनि हुलका बिचमा ल्याइयो । यी रौसे जोडीलाई प्रहरी हाकिमले खातिरदारी गर्दै गरम चिया खिलाएछन् । र, चियाको गुलियोले मन पगाल्न खोज्दै तत्काल बाटो लागिदिन बिन्ती गरेछन् । तर महजोडीको अठोटै जब्बर । तिनले साथीभाइलाई थुनामा छाडेर आफू मरिगए बाटो नलाग्न अड्डी लिएछन् । त्यसैले प्रहरीले तिनलाई समूहमाझ ल्याएको रहेछ । महजोडीभित्र पस्दा खासखुस र हाँसो सुरु भयो । हलमा अलिबेर खाँदिएपछि उमेर अनुसार डाक्दै हामीलाई भुइँतलाको घोडाको विशाल तबेलामा झारियो । पहिले सत्तरी माथिकालाई, त्यसपछि साठी माथिकालाई, अनि पचासकालाई, अनि त्यसपछि चालीसकालाई । विरोधकर्मीको गोलोमा सबभन्दा वृद्ध छन् युद्धप्रसाद मिश्र, उमेर ८२ वर्ष । सबभन्दा कलिलो उमेरकी छन् सुम्निमा तुलाधर, सुपरिचित पद्मरत्न तुलाधरकी छोरी, उमेर १५ वर्ष । युद्धप्रसाद मिश्रलाई अहिलेसम्म भित्र प्रहरी अड्डामा कतै एक्लै राखिएको छ ।
घोडाको फोहोर तबेलामा खाँदिएपछि विरोधकर्मीहरू झुन्डझुन्ड भई गोलो घेरोमा बसेर गफ गर्न थाले । जमातका बिचमा छन् कमलमणि दीक्षित, सिङ्गो जमातको आकर्षण केन्द्रजस्ता, अनुहारका राम्रा, बोलीका मिठा, चतुर र वाचाल । पक्राउ परेको समस्त गोलोका जानिफकार अभिभावकजस्ता । झुन्डझुन्डमा गुनगुन–गुनगुन चलिरहेछ, म कान थाप्दै यता र उता घुमिरहेछु । रामेश र हरिगोविन्दसहितको गोलोनिर अडिएर म ध्यानपूर्वक सुन्छु । रामेश भन्दै छन्— ‘सरस्वती सदनतिर जान लाग्दा मञ्जुललाई रत्नपार्कमा भेटेको थिएँ । सोधेँ— मञ्जुल, तिमी कालोपट्टीमा नजाने ? पहिले उसले पेट लागेको छ भन्यो, पछि जरुरी काम छ भनेर सुरक्षित बाटो ततायो । मुखले त अलि बेरमा आउँछु भन्थ्यो तर किन आउँथ्यो ?’ हरिगोविन्दले हँस्यौली गर्दै भने— ‘मञ्जुल दाइकोे जरुरी हाम्रो कालोपट्टीभन्दा जरुरी थियो होला नि त । बुझ्नु भो रामेश दाइ, मान्छेका रुचि र रोजाइ फरक–फरक हुन्छन् । आखिर जरुरी पनि त फरक–फरक हुन्छन् । कसैलाई केकोे धन्दा, कसैलाई केकोे धन्दा, भाते घरज्वाइँलाई खानकै धन्दा ।
हाम्रो विशाल गोलोमा कतै ठट्टामजाक जमेको छ, कतै मुलायम खिसिट्युरीको मेसो चलेको छ । अहिले अशेष मल्लको औँठी किस्साको उद्घाटन हुँदै छ । वरिपरि श्रोताको हुल जमाएर मल्ल भन्दै छन्— ‘आज घरबाट निस्कँदा मलाई त मल्लयुद्धमै हिँडेजस्तो लाग्यो ।’
मल्ल उत्तर दिन्छन्, ‘श्रीमतीले भनिन्, त्यो औँठी फुकालेर जानोस् । के होला कसो होला, कसलाई थाहा ?’ मल्लको बोलीमा हाँसो घोलिएको छ । भन्छन्, ‘आखिर औँठी फुकालेरै बाटो लागेँ । गज्जब छ बा, ठ्याक्कै मल्लयुद्धमा भिड्न निस्क्याजस्तो भो ।’
‘किन ?’ कोही खुलदुली प्रकट गर्छ ।
मल्ल उत्तर दिन्छन्, ‘श्रीमतीले भनिन्, त्यो औँठी फुकालेर जानोस् । के होला कसो होला, कसलाई थाहा ?’ मल्लको बोलीमा हाँसो घोलिएको छ । भन्छन्, ‘आखिर औँठी फुकालेरै बाटो लागेँ । गज्जब छ बा, ठ्याक्कै मल्लयुद्धमा भिड्न निस्क्याजस्तो भो ।’
कसैले विनोदी स्वरमा मलुवा व्यङ्ग्यवाण छोड्योे, ‘थरै त मल्ल छ । मन्डलेसितको मल्लयुद्धमा मल्ल ननिस्के के लुलो बाहुन निस्क्योस् त ?’
झुन्डझुन्डमा गुनगुन चलिरहेछ । यता र उता कान थाप्दै सुलसुले मुद्रामा म घुमिरहेछु । एउटा झुन्डमा साहित्यकारका नामको सम्झना गरिँदै छ । कालोपट्टीमा को आयो, को आएन ? गुन्द्रुक भएर को ट्रकमा कोचियो ? पेटीमा उभिएर कसले दृश्यावलोकन गर्यो ? त्यहाँ यावत् कुराको हिसाबकिताब हुँदै छ । ‘ध्रुव सापकोटा र शैलेन्द्र साकार सरस्वती सदनअगाडि पेटीपारिबाटै कुलेलम् ।’ रमरम हाँसो मिसिएको स्वरमा कोही भन्छ । अर्कोले कुराको पोयो तन्काउँछ, ‘जागिरे मान्छे रे ध्रुव सापकोटा र शैलेन्द्र साकार । पेटीवारिसम्म आउन तिनलाई जागिरले छुट दिएन रे । त्यसैले बिराना बटुवाले झैँ पट्टीधारीहरूतिर एक नजर कृपा गरेर ती लुसुक्क बिदाबादी भएका रे ।’ ध्रुवचन्द्र गौतम र ध्रुव सापकोटा परे चिम्टाका दुई खुट्टीजस्ता हित्तचित्त मिलेका परम मित्र । सहलेखनका पनि साथी, रसपानका पनि साथी । एउटा ध्रुव हाम्रा माझमा छन्, अर्का ध्रुव अघि नै कुलेलम् । चिम्टाका दुई खुट्टीजस्ता धु्रव र धु्रव किन यसरी चिरा परेका होलान्, म गम्छु ।
सम्झीसम्झी नाम गन्ने क्रम चलिरहेकै छ । वासुदेव त्रिपाठी, मदनमणि दीक्षित, अभि सुवेदी, दयाराम श्रेष्ठ, देवीप्रसाद किसान, शारदारमण नेपाल, रामचन्द्र भट्टराई, नारायण ढकाल । कागजका टुक्राटाक्रीमा टिपिएका गयल पर्नेका नाम गनेको म सुन्छु । के थाहा, उनीहरू राम्रै काममा व्यस्त पो होलान् कि ? अथवा अस्वस्थ पो होलान् कि ? कुरा चलिरहेवैm छन् । नारायणगोपाललाई कालोपट्टी पर्वमा सहभागिता दिन बिन्ती गर्दा भनेछन्— ‘यो हामीजस्ता कलाकारले गर्ने कामै होइन ।’ सन्तोष पन्तले आउँछु भनेर पारिजातसँग वाचा गरेछन् । पछि वाचा भुसुक्कै बिर्सेर आनन्दसँग गयल परेछन् । गाइँगुइँ चलिरहेकै छ । अनि रमेश विकल नि ? रमेश विकलको नाम सुन्नासाथ मलाई कुत्कुती लागेर आउँछ । खै, रमेश दाइ ? प्रगतिशील लेखक सङ्घको अध्यक्ष भनेर आउँदाआउँदै बाटैमा घ्याच्च पक्राउ पो परे कि ? कि बाटामै बिरामी पो भए कि ? विरोध प्रदर्शन थलो बिर्सिएर बुढालाई अलमल पो भयो कि ?
भोलिपल्ट चाबेलमा रैथाने साहित्यकारको एक झुन्डसँग मेरो भेट भयो । यसो सुन्छु, झुन्डमा कालोपट्टी पर्वकै प्रसङ्ग चलिरहेछ । झुन्डका एक गफाडी सुनाइरहेका छन्— विकल दाइ कालोपट्टी पर्वमा किन गएनछन्, सुन्यौ ? किन रे ? कोही एक जनाले सोध्यो । मूल वाचक भन्दै गयो, विकल दाइले भनेको सुनेको— मोबिल घोलेको पानीमा चोबलेर फुका तिघ्रा सिस्नाले डाम्ने खतरा थियो रे । बुढो ज्यानले कसरी धान्न सक्छ त्यो बर्बर सास्ती ? भन्ने र सुन्नेमाझ हाँसोको लहर उठ्यो । हाँसोको लहरमाथि लहर खप्टियो । म भने हाँस्न सकिनँ । म अलिअलि गम्भीर, अलिअलि खिन्न भएँ ।
रमेश विकल प्रगतिशील लेखक सङ्घका अध्यक्ष । युद्धप्रसादजस्ता फुकिढल बुढा र पारिजातजस्ती शारीरिक रूपले अशक्त लेखकसमेत उमङ्ग र निर्भीकतासाथ कालोपट्टीमा हाजिर भए । अध्यक्ष विकलचाहिँ गयल हाजिर ? यो गयलपराइ शोभनीय भयो कि अशोभनीय, यसबारे मेरो भन्नु केही छैन । यस गयलपराइले प्रगतिशील लेखक सङ्घको प्रतिष्ठा बढायो कि सङ्घका लेखक–कलाकारका मनमा निरूत्साह र ग्लानि जगायो, यसबारे पनि मेरो कुनै टिप्पणी छैन । मेरा लागि त यस उद्गारमा प्रकट भएको मानसिकता र मनोविज्ञानको अलि बेग्लै सन्दर्भमा लाक्षणिक अर्थ छ । रमेश विकल नेपाली साहित्यका थोरै अग्ला जीवित लेखकमध्येका एक हुन् ।
त्यत्रो सार्वजनिक पहिचान, त्यत्रो प्रतिष्ठा र त्यत्रो सामाजिक महत्ता भएका लेखकको मानसिकता र मनोबलको त्यो स्तर, त्यो सङ्कोच, त्यो द्विविधा, त्यो भय, त्यो आतङ्क— पञ्चायती दमनतन्त्रको त्यो कति पारदर्शी प्रतिबिम्ब ? जुद्धशमसेर मार्काको ठालु प्रजातन्त्रको त्यो कति प्रखर अभिव्यक्ति ? फासिस्ट पञ्चायत व्यवस्था भनेको के हो भनी कसैले सोधे म भन्छु, त्यो भनेको त्यही सङ्कोच, त्यही द्विविधा, त्यही भय, त्यही आतङ्क र त्यही मानसिक ह्रासको जननी हो । स्वाभिमानी र स्वतन्त्रताप्रेमी लेखक–कलाकारको कालोपट्टी पर्व त्यही दमनतन्त्रविरूद्धको सामूहिक र सङ्गठित विरोध हो । विडम्बना भनुँ कि अनिष्ट संयोग भनुँ, प्रगतिशील लेखक सङ्घको अध्यक्ष त्यस विरोध पर्वमा आरामसाथ गयल पर्यो !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का
-
तेलअभिव र हाइफा मुख्य निशाना: इरान
-
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
-
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’