आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
निबन्ध

धुवाँको उडान र अस्तित्वको अमूर्त रूप

शनिबार, ३१ जेठ २०८२, १७ : ००
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • लेखकले जीवनको क्षणभंगुरता र मृत्युपछिको अस्तित्वबारे चिन्तन व्यक्त गरेका छन्, धुवाँ र खरानीको रूपक प्रयोग गर्दै।
  • लेखकले मृत्युलाई प्रकृतिको लयबद्ध समर्पण र अर्को जीवनमा प्रवेशको रूपमा व्याख्या गरेका छन्, जसले जीवनको निरन्तरतालाई जनाउँछ।
  • लेखकले जीवन र मृत्युलाई एउटै चक्रका भिन्न चरणका रूपमा लिँदै, वर्तमान जीवनलाई अर्थपूर्ण बनाउन र सकारात्मक प्रभाव पार्न जोड दिएका छन्।

धुवाँको उडान र अस्तित्वको अमूर्त रूपमा आज म जीवनको अस्त्वि, सौन्दर्य र सौभाग्यको रहस्य खोज्दै छु । मेरो यो खोजाइमा अध्ययन र अनुसन्धानको गहिराइ छैन । केवल मनको निर्बन्ध लेखनको क्रमागत सिलसिला मात्र छ । 

सबैलाई थाहा छ— मरेपछि जीवन खरानी बनेर माटोमा बिलाउँछ, धुवाँ बनेर जीवन हावामा मिसिन्छ । यो शाश्वत सत्य हो, जुन हरेक प्राणीको नियति हो । यो यस्तो यथार्थ हो, जसले हामीलाई जीवनको क्षणभंगुर र प्रकृतिको अविचलित चक्रको स्मरण गराउँछ ।

वास्तवमा जीवनको अन्त्य प्रकृतिको काखमा एक लयबद्ध समर्पण हो । अर्को अज्ञात जीवन स्वरूपमा हस्तान्तरणको प्रक्रिया पनि हो । हुन त हामी प्रत्येक रात मर्छौं । जीवन भएर बिहान पुनः बौरिन्छौँ । यो प्रक्रिया पनि स्वाभाविक हो तर जब हामी बिहान फेरि बिउँझिन सक्दैनौँ, हाम्रो बिहान सदाका लागि अन्त्य भइसकेको हुन्छ । त्यति बेला हामी थाहै नपाई अर्को जीवनमा प्रवेश भइसकेका हुन्छौँ ।

जब प्राणपखेरु उडेर जान्छ, यो देह माटोमा विलीन हुन्छ । कोमल जीवन आगोले खरानी बन्छ । कण–कण माटोसँग एकाकार हुन्छ । यो कुनै दुःखद अन्त्य होइन । बरु प्रकृतिको काखमा एक स्वतः समर्पण हो । जुन माटोबाट हाम्रो शरीर बनेको थियो, त्यही माटोमा फर्केर जानु जीवनको एउटा पूर्ण चक्र हो । 

जीवन जलेर त्यसबाट बाँकी रहेका खरानीका धुलोहरू, जुन कहिल्यै अलग्ग देखिँदैनन् । अब ती खरानी माटोको अभिन्न अंग बन्छन् । ती बिरुवाका लागि मल बन्छन् । त्यसले नयाँ जीवनको उद्गम गराउँछन् । यसरी मृत्युपछि पनि जीवनको निरन्तरता सुनिश्चित हुन्छ । मलाई लाग्छ, धुवाँको उडान र अस्तित्वको अमूर्त वास्तवमा यही हो । मित्थ्या होइन यही सत्य हो ।

त्यस्तै शरीरबाट निस्किएको धुवाँ हावामा अमूर्त, अदृश्य र स्वतन्त्र भएर मिसिन्छ । हावाका सूक्ष्म कणहरूमा बिलाउँछ, फैलिन्छ र त्यही सकिन्छ । यो धुवाँ भौतिक शरीरको अवशेष होइन, बरु यो जीवनको एउटा प्रतीक हो, जुन भौतिक बन्धनबाट मुक्त भएर अनन्त चरणमा विचरण गर्छ । हावामा मिसिएको यो धुवाँले हाम्रो अस्तित्व शरीरमा सीमित हुँदैन भन्ने बताउँछ । 

हाम्रो बोली, व्यवहार, सोच–विचार; हाम्रो प्रेम; हाम्रा तमाम काम र कर्महरू अनि हाम्रो प्रभाव हावामा तैरिएर अनन्तसम्म रहिरहन्छन् । जसरी धुवाँलाई हामी समात्न सक्दैनौँ, त्यसरी नै जीवनको सारलाई पनि भौतिक रूपमा कैद गर्न सकिँदैन । यो त एक अनुभव हो, एक भावना हो । त्यसले मात्र गहिरो छाप छोडेर जान्छ ।

मेरो लेखनको अभिप्राय जीवन र मृत्युको एकात्म सौन्दर्यको अनुराग पनि हो । यसमा म जीवनको सौन्दर्य र सौभाग्यको सम्बन्ध खोज्छु । त्यसले जीवनको महत्त्व र कर्तव्यलाई आत्मसात् गर्न मद्दत गर्नेे छ । हामी सबै जन्म दिनको उत्सव मनाउँछौँ । जन्मोत्सवमा रमाइलो गर्दै दीर्घजीवनको प्रार्थनामा सरिक हुन्छौँ तर मरणमा यस्तो उत्सव कहाँ हुनु ? सदाका लागि विछोडको पीडामा कस्तै कठोर मन पनि भावुक बनेर पग्लिन्छ । आँखामा आँसुको बलिन्द्र धारा बग्न थाल्छ । मन भक्कानिएर शून्य–शून्य हुन्छ ।

यद्यपि मृत्युको यो परिघटनाले जीवनलाई अझ गहिराइमा बुझ्ने अवसर दिन्छ । यो दुःखान्त होइन बरु एउटा रूपान्तरण हो । खरानी बनेर ‘माटोमा मिल्नु’ र धुवाँ बनेर ‘हावामा विलीन’ हुनुले जीवन र मृत्युबिचको अटुट सम्बन्धलाई उजागर गर्छ । जीवन–दर्शनको यो यौटा शाश्वत पाटो हो । त्यहाँ अस्तित्वको अमूर्त रूपले स्थान ग्रहण गरिरहेको हुन्छ ।

वस्तुतः जीवन र मृत्यु दुई अलग–अलग पाटा होइनन् । बरु एउटै चक्रका भिन्न चरणहरू हुन् । हामी यस संसारमा खाली हात आउँछौँ र खाली हात जान्छौँ । तर, यो बिचको यात्रामा हामीले जे अनुभव गर्छौं, जे लिन्छौँ–दिन्छौँ र जे सिकाउँछौँ–सिक्छौँ, ती सबै हाम्रो वास्तविक सम्पत्ति हुन् । धुवाँ बनेर हामी हावामा बिलाए पनि वा खरानी भएर माटोमा मिसिए पनि अन्ततः त्यसमा हाम्रो अस्तित्वको अमूर्त सौन्दर्य समाहित भएको हुन्छ ।

मूलतः यो बुझाइले जीवनलाई अझ अर्थपूर्ण बनाउन प्रेरित गर्छ । प्रत्येक पललाई अमूल्य सम्झेर जिउनु, प्रेम बाँड्नु र सकारात्मक प्रभाव पार्नु नै मृत्युपछिको हाम्रो अमूर्त अस्तित्वलाई चिरस्थायी बनाउने उत्तम माध्यम हो । 

सनातन धर्ममा आत्मालाई अमर मानिएको छ, जसको न जन्म हुन्छ न मृत्यु । यसले केवल शरीर फेर्छ, जसरी मानिसले पुराना वस्त्र त्यागेर नयाँ धारण गर्छ— सर्पले काँचुली फेरेझैँ, बोट–बिरुवाले नयाँ पालुवा फेरेझैँ ।

एकछिन सोचौँ– हामी हाम्रो जीवनसँग कति खुसी छौँ ? हामी हाम्रो मृत्यसँग कति भयभीत छौँ ? र, हामीले आफ्नो जीवन–यात्रालाई कसरी व्यतीत गरिरहेका छौँ ? दुःख र सुखको अनुभूतिमा हामी किन प्रताडीत र हर्षित हुन्छौँ ?!

मृत्युपछिको जीवन अनन्त यात्राको एक चिन्तन हो भन्ने तथ्यमा हामी अनभिज्ञ छैनौँ । कुनै आफन्तको अवसानमा मलामी बनेर हामी जब घाट जान्छौँ, त्यति बेला जीवन केही होइन बाँचुन्जेल खुसी रहन सक्नुपर्छ । लोभमोह, घृणा, स्वार्थ, संकीर्ण मन राख्नु हुँदैन भन्छौँ तर घाटबाट फर्किएपछि हाम्रो सोचाइ फेरिँदैन । लोभलालच र स्वार्थको सागरमा तँछाडमछाड गर्न थालिहाल्छौँ ।

मानव चेतनाको गहिराइमा लुकेको एउटा रहस्यमय प्रश्न हो, मृत्युपछिको जीवन । यो एक यस्तो सत्य हो, जसलाई सबैले स्विकार्नुपर्छ । तर यसको गन्तव्य के हो, यस विषयमा भने युगौँदेखि अनेकौँ जिज्ञासाहरू, धारणाहरू र विश्वासहरू मडारिइरहेका छन् । जब शरीरले प्राण त्याग गर्छ, तब आत्माको यात्रा कहाँ पुग्छ ? के यो अन्त्य हो वा अर्को नयाँ सुरुवात ?

जब जीवनको धड्कन रोकिन्छ, शरीर निर्जीव हुन्छ तर के चेतना पनि त्यहीँ समाप्त हुन्छ ? कतिपयले मृत्युलाई नै पूर्णविराम मान्छन्, जहाँ हरेक अनुभूति, प्रत्येक स्मृति र विपना हुन नसकेका सपनाहरू पनि खरानीमा परिणत हुन्छ । उनीहरूका लागि मृत्यु जीवनको पूर्णता हो, जहाँबाट कुनै फर्काइ छैन । कतिपयले भने यसलाई एउटा संक्रमणकाल मान्छन्, जहाँ आत्माले पुरानो आवरण त्यागेर नयाँ रूप धारण गर्छ, वा कुनै अनन्त यात्रामा निस्कन्छ ।

सनातन धर्ममा आत्मालाई अमर मानिएको छ, जसको न जन्म हुन्छ न मृत्यु । यसले केवल शरीर फेर्छ, जसरी मानिसले पुराना वस्त्र त्यागेर नयाँ धारण गर्छ— सर्पले काँचुली फेरेझैँ, बोट–बिरुवाले नयाँ पालुवा फेरेझैँ । यस अनुसार मृत्यु एउटा द्वार हो । यसले आत्मालाई एक लोकबाट अर्को लोकमा प्रवेश गराउँछ । कर्म अनुसार फल भोगाउँछ । पुनर्जन्मको यो अवधारणाले जीवनलाई एउटा लामो शृंखलाको रूपमा हेर्छ । त्यहाँ हरेक कर्मको फल हामीले भोग्नुपर्छ । मोक्ष प्राप्त नभएसम्म यो चक्र चलिरहन्छ ।

धार्मिक र दार्शनिक धारणाहरूभन्दा पर, मृत्युपछिको जीवनको रहस्य अझै पनि अनिश्चित छ । के यो एउटा सपना हो जहाँ हामी सबै आफ्ना प्रियजनहरूसँग पुनः मिल्नेछौँ ? वा यो एउटा यस्तो शून्य हो जहाँ सबै कुरा विलीन हुन्छ ? विज्ञानले यस विषयमा धेरै अनुसन्धान गरेको छ, तर ठोस प्रमाण भने जुटाइसकेको छैन । 

नजिकको मृत्यु अनुभवका केही अपत्यारिला क्षणहरूले नमिठो चोट दिन्छन् । तथापि झिना भए पनि आशाका किरण देखाउँछन् । त्यहाँ मानिसले शरीरबाट बाहिर निस्किएर प्रकाश वा आनन्दमय अनुभूति गरेको बताउँछन् । यद्यपि यी अनुभवलाई वैज्ञानिक रूपमा पुष्टि गर्न अझै बाँकी छ ।

जे भए पनि मृत्युपछिको जीवनको परिकल्पनाले हामीलाई वर्तमान जीवनलाई अझ अर्थपूर्ण बनाउन प्रेरित गर्छ । मृत्यु एउटा अन्त्य हो भने हामीले हरेक पललाई पूर्ण रूपमा जिउनुपर्छ, प्रेम बाँड्नुपर्छ र सकारात्मक छाप छोड्नुपर्छ । यो एउटा नयाँ सुरुवात हो भने, हामीले आफ्नो कर्म शुद्ध राख्नुपर्छ ताकि हाम्रो अर्को यात्रा सुखमय होस् ।

मृत्युपछिको जीवन एउटा गहिरो, भावनात्मक र व्यक्तिगत यात्रा हो । यो एउटा यस्तो रहस्य हो जसलाई पूर्ण रूपमा बुझ्न सायद सम्भव छैन । तर यसको चिन्तनले हामीलाई जीवनको महत्व, कर्मको परिणाम र अनन्तको खोजीमा लाग्न प्रेरित गर्छ । यो एउटा यस्तो प्रश्न हो जसले सधैँ मानव मनलाई जिज्ञासु बनाइरहने छ । मृत्युपछिको त्यो अनन्त यात्रा आखिर कहाँ पुग्छ ?

यही खोजी, यही प्रश्न, यही जिज्ञासा र यस्तै खुल्दुलीहरूले सबैको मन भरिएको हुन्छ ।  धुवाँको उडान र अस्तित्वको अमूर्त शब्दमा आज म जीवनको सौन्दर्य र सौभाग्यको रहस्य खोजिरहेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप