आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
अदालत

छुटेलगत्तै समातिएका युनुश अन्सारी पुगे अदालत

आइतबार, ०१ असार २०८२, ११ : १९
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • नक्कली भारतीय नोट मुद्दामा दोषी ठहरिएका युनुश अन्सारी ६ वर्ष कैदपछि छुटे लगत्तै पुनः पक्राउ परेका छन्।
  • सीआईबीले सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको र उनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।
  • अदालतले उनलाई ६ वर्ष कैद र जरिवाना तोकेको थियो भने उनलाई नख्खु कारागारमा सारिएको थियो।

काठमाडौँ । नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भई ६ वर्ष कैद काटेर छुटेलगत्तै समातिएका युनुश अन्सारी अदालत पुगेका छन् । अन्सारी जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए ।

छुटेलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको थियो । सीआईबीले उनीविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धान गरिरहेको छ ।

२०७६ जेठ १० मा  अन्सारीसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।  उनीहरूबाट प्रहरीले त्यतिबेला ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद गरेको थियो ।

सो घटनामा अन्सारीलाई अदालतले ६ वर्ष कैद सजाय र ६० हजार जरिवाना ठहर गरेको थियो ।  उनलाई सुरुमा केन्द्रीय कारागारमा सुन्धारामा राखिएकोमा कारागारभित्रै भारतीय सुटर मनमित भटियाले हत्या प्रयास गरेका थिए । त्यसपछि नख्खु कारागार सारिएको थियो ।

कैद कट्टालगत्तै पुनः समातिएपछि अन्सारी बन्दी प्रत्यक्षीकरणको रिट लिएर शुक्रबार उच्च अदालत पाटन पुगेका हुन् । उनले नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो, आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, आर्थिक तथा वित्तीय अपराध अनुसन्धान सम्पत्ति शुद्धीकरण शाखा, कारागार कार्यालय नख्खु र जिल्ला अदालत काठमाडौँलाई विपक्षी बनाएका छन् ।

उनको रिटमाथि आज पेसी तोकिएको छ । न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा अन्सारीले दायर गरेको बन्दी रिटमाथि सुनुवाइ हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप