सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

कार्यसूचीमा रहेका दुई विषय हटाइएपछि सभामुख र माओवादीबिच सवाल जवाफ

मङ्गलबार, २४ असार २०८२, १५ : ४५
मङ्गलबार, २४ असार २०८२

सारांश

  • सभामुख र माओवादी केन्द्रका सांसदबीच कार्यसूचीबाट दुई विषय हटाइएपछि सवालजवाफ भएको छ।
  • सभामुखले ऊर्जा र शिक्षा मन्त्रालयसम्बन्धी कार्यसूची हटाएपछि माओवादीले आपत्ति जनाए।
  • सभामुख घिमिरेले विशेष कारणले कार्यसूची हटाइएको र सोही विधिबाट काम हुने बताए।

काठमाडौँ । प्रतिनिधिसभाको कार्यसूचीमा रहेका दुई विषय हटाइएपछि सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)बिच सवाल जवाफ भएको छ ।

 सभामुख घिमिरेले सदनको मंगलबारको बैठकको कार्यसूचीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भन्ने कार्यसूची हटाएका थिए । 

त्यसमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाए । उनले प्रतिनिधिसभा नियमावलीको नियम २६ अन्तर्गत समय माग्दै भने, ‘हामी माननीयहरू कार्यसूची अनुसार तयारी गरेर आउँछौँ । तर एकाएक हटाइन्छ । यसले हामी समस्यामा परेका छौँ । सरकारलाई नियम लाग्नु पर्दैन । सदनलाई व्यवस्थित गरियोस् ।’ 

त्यसपछि सभामुख घिमिरेले निर्धारण गरिएको कार्यक्रम सभामुखले नै स्वीकृत गर्ने र हटाउने विधि रहेको जवाफ पाण्डेलाई दिए । सभामुख घिमिरेले भने, ‘निर्धारित गरिएको कार्यक्रम यहाँबाट स्वीकृत गरिन्छ, यहाँबाट नै हटाइन्छ । विशेष कारणले हटाइने विधि हो । त्यही विधिको आधारबाट गरिन्छ ।’

त्यसमा माओवादीले आपत्ति जनाइरहे पनि सभामुखले अगाडिको कार्यसूची अघि बढाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप