शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

फोनपेको यूपीआई कारोबारमा १० लाखको माइलस्टोन पार

बुधबार, ३२ असार २०८२, ११ : २६
बुधबार, ३२ असार २०८२

काठमाडौं । नेपालमा डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको अग्रणी संस्था फोनपेले यूपीआई (युनिफाइड पेमेन्ट्स इन्टरफेस) कारोबारमा ऐतिहासिक सफलता हासिल गरेको छ । भारतीय ग्राहकहरूलाई लक्षित गर्दै सञ्चालित क्रस-बोर्डर डिजिटल भुक्तानीमा फोनपे नेटवर्कमार्फत प्रशोधित यूपीआई कारोबार संख्या १० लाख नाघेको कम्पनीले जनाएको छ ।

फोनपेले एक विज्ञप्तिमार्फत उक्त उपलब्धिले भारतीय पर्यटक तथा ग्राहकहरूलाई नेपालमा सुरक्षित, सहज र वास्तविक समयमा भुक्तानी गर्न सकिने सुविधा थप सशक्त भएको स्पष्ट पारेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवश सापकोटाले यो माइलस्टोन नेपालको डिजिटल भुक्तानी प्रणालीप्रति विदेशी ग्राहकहरूको बढ्दो विश्वास र उत्साहजनक अपनत्वको संकेत भएको बताएका छन् ।

उनले भने, '१० लाख यूपीआई कारोबार पार गर्नु भनेको नेपालमा भारतीय ग्राहकहरूद्वारा डिजिटल भुक्तानीप्रति देखाइएको विश्वास र अपनत्वको प्रमाण हो । यसले फोनपे नेटवर्कमाथिको विश्वास मात्र होइन, सम्पूर्ण क्षेत्रीय डिजिटल अर्थतन्त्रको एकीकृत भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई पनि पुष्टि गर्छ ।'

फोनपेका अनुसार हालसम्म क्रस-बोर्डर यूपीआई कारोबारबाट २ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी प्रशोधन भइसकेको छ । यो कारोबार देशका सबै ७७ जिल्लामा फैलिएको छ भने १ लाखभन्दा बढी व्यापारीले फोनपे नेटवर्कमार्फत सेवा दिइरहेका छन् ।

खासगरी काठमाडौं, कास्की र कैलाली जिल्लामा यूपीआई कारोबार उच्च देखिएको छ । यस्तै, खानपिन स्थल, रेस्टुरेन्ट, किराना पसल, होटल तथा रिसोर्ट यस्ता सेवा क्षेत्र यूपीआईमार्फत हुने कारोबारका प्रमुख वर्गका रूपमा देखिएका छन् ।

फोनपेको अनुसार यूपीआई कारोबारमा आएको तीव्र वृद्धिको मुख्य कारणहरूमा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या बढ्नु, अन्तरसञ्चालनीय क्यूआर कोड प्रणालीमार्फत सहज भुक्तानी सुविधा र व्यापारीहरूबीच डिजिटल कारोबारप्रतिको स्वीकार्यता उल्लेखनीय छन् ।

फोनपेले आगामी दिनमा क्रस-बोर्डर भुक्तानी सुविधालाई अझ व्यापक बनाउने र प्रयोगकर्ताको अनुभवमा थप सुधार ल्याउने तयारी गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप