एक वर्षमा लागूऔषध ओसारपसारमा संलग्न ५८ जना विदेशी काठमाडौँमा पक्राउ
सारांश
- यस वर्ष नेपालमा लागूऔषध ओसारपसारमा संलग्न ५८ विदेशी नागरिक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्, जसमा ४५ जना कारोबारी पक्राउ परेका छन्।
- ब्युरोले काठमाडौँ विमानस्थलबाट २०७ केजी गाँजा, १५ केजी हेरोइन र १९ केजी कोकिन बरामद गरेको छ।
काठमाडौँ । नेपाललाई ट्रान्जिट बनाएर लागूऔषध ओसारपसारमा संलग्न विदेशी नागरिकहरू यस वर्ष ५८ जना पक्राउ परेका छन् ।
चालु आर्थिक वर्षमा लागूऔषध नियन्त्रण ब्युरोले भारत सहित विभिन्न मुलुकका ५८ जना विदेशीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक सबैभन्दा धेरै छन् ।
२०८१ साउन देखी २०८२ असार सम्ममा ४५ जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरिएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । सो अवधिमा भारत घर भएका ३८ जना पुरुष र ७ जना महिला पक्राउ परेका हुन् ।
थाइल्यान्ड, नाइजेरिया, लाटभिया, केन्या र चीन लगायतको मुलुकका १३ जना पक्राउ परे । पछिल्लो समय कारोबारीहरूले थाइल्यान्ड र अमेरिकाबाट काठमाडौँ हुँदै गाँजाको तस्करी गर्ने गरेको भेटिएको छ । लागूऔषध कारोबारीहरूले तस्करी गरेर काठमाडौँ ल्याएको करिब २०७ केजी गाँजा ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको छ ।
यो आर्थिक वर्षमा १५ केजी ५ सय ग्राम सेतो हेरोइन र करिब १९ केजी कोकिन ब्युरोको टोलीले बरामद गरेको छ ।
भारत लगायतका मुलुकमा पठाउने गरी लागूऔषध कारोबारीहरूले हवाई मार्ग प्रयोग गरेर काठमाडौँलाई ट्रान्जिट प्वाइन्ट बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । लागूऔषध ओसारपसार गर्ने विदेशीहरू विरुद्ध पछिल्लो १ वर्षमा ४१ वटा मुद्दा चलाइएको एसएसपी कोइरालाले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण