झापामा सवारी दुर्घटनाबाट एक वर्षमा ९५ को मृत्यु
सारांश
- झापामा आर्थिक वर्ष २०८१/८२ मा १ हजारभन्दा बढी सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ।
- दुर्घटनाको मुख्य कारण मापसे, लापरबाही र ट्राफिक नियम उल्लङ्घन रहेको ट्राफिक प्रहरीले जनाएको छ।
- ट्राफिक नियम उल्लङ्घन गर्ने ५२ हजारभन्दा बढी चालकलाई कारबाही गर्दा सरकारले ३ करोड ९५ लाखभन्दा बढी राजस्व संकलन गरेको छ।
झापा। झापा जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा एक हजारभन्दा बढी सवारी दुर्घटना भएका छन्, जसमा ९५ जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गत साउनदेखि असार मसान्तसम्म १ हजार २ सय ९६ सवारी दुर्घटना हुँदा करिब २ हजार जना घाइते भएका छन्।
सवारी सुरक्षामा चासो बढाइए पनि, गम्भीर घाइतेको सङ्ख्या १ सय ३९ पुगेको छ भने १ हजार ९ सय ३४ जना सामान्य घाइते भएका छन्। दुर्घटनाको मुख्य कारण मापसे, लापरबाही र ट्राफिक नियम उल्लङ्घन भएको ट्राफिक प्रहरीको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार यो अवधिमा झापामा ५२ हजार ८ सय ७५ चालकलाई विभिन्न ट्राफिक नियम उल्लङ्घनका कारण कारबाही गरिएको छ। यसबाट सरकारलाई ३ करोड ९५ लाख रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको छ। मादक पदार्थ सेवन (मापसे) मा मात्रै ३ हजार १ सय ७४ चालक कारबाहीमा परेका छन्।
ट्राफिक सचेतना अभियान अन्तर्गत जिल्लाका विद्यालयहरूमा ८ हजार ४ सय ६१ विद्यार्थीलाई ट्राफिक शिक्षा दिइएको छ। साथै, मापसे विरुद्धको प्रशिक्षणमा १ हजार २ सय ५० जनाले भाग लिएका छन्।
ट्राफिक व्यवस्थापन सुधारका लागि प्रविधिमैत्री उपकरणहरू ट्राफिक भायोलेसन रेकर्ड सिस्टम, अनलाइन जरिवाना प्रणाली, गो प्रो क्यामेरा, ब्रेथलाइजर, रिफ्लेक्टर बेल्ट लगायतका सामग्री प्रयोगमा ल्याइएको छ।
प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार ट्राफिक सुरक्षामा सुधार ल्याउन स्थानीय तह, विद्यालय, सञ्चार संस्था र समुदायसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण