शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रख्यात तेलुगु कलाकार ‘फिश वेंकट’ को निधन

शनिबार, ०३ साउन २०८२, १४ : २८
शनिबार, ०३ साउन २०८२

सारांश

  • प्रसिद्ध तेलुगु हास्य कलाकार फिश वेंकटको मृगौलाको समस्याका कारण निधन भयो।
  • ५३ वर्षीय वेंकटको हैदराबादको अस्पतालमा उपचार भइरहेको थियो, मिर्गौला प्रत्यारोपण हुन सकेन।
  • उनले १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए, उनको निधनले तेलुगु फिल्म क्षेत्र स्तब्ध भएको छ।

हैदराबाद । तेलुगु चलचित्र क्षेत्रमा हास्य अभिनयका लागि प्रसिद्ध कलाकार ‘फिश वेंकट’ भनेर चिनिने वेंकट राजको मिर्गौलासम्बन्धी जटिलताका कारण शुक्रबार निधन भएको छ। ५३ वर्षीय वेंकट हैदराबादस्थित एक अस्पतालमा उपचाररत थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले पछिल्ला केही महिनादेखि गम्भीर मिर्गौला सम्बन्धी समस्यासँग सङ्घर्ष गर्दै आएका थिए। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पतालमा भर्ना गरी सघन उपचारमा राखिएको थियो। 

चिकित्सकहरूले तत्काल मिर्गौला प्रत्यारोपणको सिफारिस गरेका थिए, तर डायलासिस र भेन्टिलेटर सहयोग हुँदाहुँदै पनि उनको अवस्था झनै जटिल बन्दै गएको थियो।

फिश वेंकटको नाम तेलुगु सिनेमामा छुट्टै पहिचान बनिसकेको छ। १०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेका उनले आफ्नो विशेष हास्य टाइमिङ र प्रस्तुतिले दर्शकमाझ लोकप्रियता हासिल गरेका थिए। वेंकटलाई पहिलो पटक चलचित्र ‘सम्मक्का सरक्का’ मार्फत दिवङ्गत निर्देशक दासरी नारायण रावले चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए।

उनले खुशी, बन्नी, अधुर्स, गब्बर सिंह, डीजे टिल्लु, स्लम डग हस्ब्यान्ड, कफी विथ अ किलर लगायतका चलचित्रहरूमा स्मरणीय भूमिका निर्वाह गरेका थिए।

पछिल्लो समय वेंकटको छोरी श्रावन्तीले ५० लाख रुपैयाँ लाग्ने किड्नी प्रत्यारोपणको लागि सार्वजनिक आर्थिक सहयोगको अपिल गरेकी थिइन्। केही मिडियामा अभिनेता प्रभासले सहयोग गरेका भन्ने भ्रामक समाचार आएपनि, वेंकट परिवारले उक्त दाबी फर्जी भएको स्पष्ट पारेको थियो । परिवारले सुमन टिभीलाई दिएको प्रतिक्रियामा भनेको थियो, ‘हामीले सोच्यौँ कि प्रभास अन्नाको सहायकले फोन गरेका हुन्, तर पछि थाहा भयो त्यो फर्जी थियो।’

यद्यपि, वास्तविक सहयोग पनि प्राप्त भएको थियो। अभिनेता पवन कल्याणले २ लाख रुपैयाँ, विष्वक सेन लगायत केही सहयोगी र तेलङ्गाना राज्यका एक मन्त्रीले आर्थिक सहयोग गरेका थिए। तर, समयमै उपयुक्त मिर्गौला दाता फेला नपरेकाले उनको ज्यान बचाउन सकिएन।

फिश वेंकटका पत्नी र तीन सन्तान छन्। उनको असामयिक निधनले तेलुगु चलचित्र क्षेत्र स्तब्ध भएको छ। हालैका दिनमा कलाकार कोटा श्रीनिवास राव गारु र अभिनेता रवि तेजाका बुबा राजगोपाल राजुको निधन भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप