शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

देउवाले कांग्रेसका ५ नेतालाई भने- सभापतिमा कसैलाई वचन दिएको छैन

मङ्गलबार, ०६ साउन २०८२, १४ : ४६
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनमा कसैलाई पनि सभापतिको उम्मेदवार बनाउने बचन नदिएको बताए।
  • पूर्व उपसभापति र महामन्त्रीहरूसँगको भेटमा नेताहरूले 'ग्रिन सिग्नल' पाएको हल्लाको सत्यता सोधेका थिए।
  • देउवाले बेला आएपछि सबैसँग सल्लाह गरेर अघि बढ्ने र नेतृत्वको विषय टुंग्याउने बताए।

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीको १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउन कसैलाई पनि वचन नदिएको बताएका छन् । 

आफूलाई भेट्न मंगलबार बिहान बूढानीलकण्ठस्थित निवासमा पुगेका पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतलाई देउवाले आफूले कसैलाई पनि सभापतिको उम्मेदवार बनाउने वचन नदिएको बताएका हुन् । 

भेटमा नेताहरूले केही नेताले १५ औँ महाधिवेशनमा सभापतिमा सभापतिको ‘ग्रिन सिंङ्नल’ पाएको भनेर प्रचार गर्दै हिंडेको भन्दै सत्यता के हो भनेर सोधेका थिए । त्यसपछि देउवाले आफूले कसैलाई पनि वचन नदिएको बताएको भेटमा सहभागी पूर्वउपसभापति श्रेष्ठले जानकारी दिए । 

‘हामीले केही नेताहरूले १५ औँ महाधिवेशनमा सभापतिले मलाई ‘ग्रिन सिङ्नल’ दिनुभएको छ भन्दै प्रचारप्रसार गरेको सुनेका छौँ, सत्यता के हो भनेर सोध्यौँ,’ श्रेष्ठले रातोपाटीसँग भने, ‘उहाँले आफूले कसैलाई सभापतिको उम्मेदवार बनाउँछु भनेर वचन नदिएको बताउनुभयो ।’

देउवाले कसैलाई वचन नदिएको बताएपछि श्रेष्ठले आफूले १४ औँ महाधिवेशनमा नै सभापतिको तयारी गरेको तर एक पटकलाई सहयोग गर्न भनेको सम्झाउँदै यो पटक आफ्नो पालो आउँछ कि आउँदैन भनेर सोधेका थिए । जवाफमा देउवाले बेला आएपछि सबैसँग सल्लाह गरेर अघि बढ्ने बताएका थिए ।

त्यसबेला देउवा पत्नी डा. आरजु राणा देउवासहितका केही नेता साक्षी रहेको पनि श्रेष्ठले बताएका थिए । भेटमा सहभागी अन्य नेताहरूले केही नेताले सभापतिको उम्मेदवारको रुपमा प्रचार गर्दै देश दौडाहा सुरु गरिसकेको भन्दै सभापति देउवाले पनि सल्लाह गरेर नेतृत्वको विषय टुंग्याउनुपर्ने बताएका थिए । त्यो विषयमा देउवाले टाउको हल्लाए मात्रै, केही जवाफ दिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप