सार्वजनिक मञ्चमै छताछुल्ल माओवादी अन्तर्विरोध
सारांश
- माओवादी केन्द्रको स्थायी समिति बैठकको पूर्वसन्ध्यामा पार्टीभित्रको आन्तरिक विवाद सार्वजनिक भएको छ।
- अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको अन्तर्विरोधका कारण नेता कार्यकर्ताबीच आरोप प्रत्यारोप चलिरहेको छ।
- पार्टीभित्रको अन्तरसंघर्ष र वर्गसंघर्षलाई समाधान गर्ने विधि नहुँदा समस्या आएको उपमहासचिव हरिबोल गजुरेलले बताए।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र) को स्थायी समिति बैठकको पूर्वासन्ध्यामा आन्तरिक विवाद सार्वजनिक रूपमै छताछुल्ल भएको छ ।
आगामी केन्द्रीय समिति बैठकको तयारी, पार्टीभित्र झाँगिदै गएको अन्तर्विरोध लगायत विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउन १६ गते स्थायी समिति बैठक बोलाएका छन् ।
अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा बिचको अन्तर्विरोध सतहमै पोखिएपछि नेता तथा कार्यकर्तामा अहिले एकअर्काबिच आरोप–प्रत्यारोप चलिरहेको छ । अब बस्ने स्थायी समिति बैठकमा उपमहासचिव शर्माले गत वर्ष पार्टी निर्माण र नेतृत्व हस्तान्तरणको विधि लगायत १४ बुँदे प्रस्ताव कार्यान्वयन नभएको विषयमा नेतृत्वको ध्यानाकर्षण गराउने तयारीमा छन् । आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने अघिल्लो केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयन नभएकोमा नेतृत्वप्रति उनी असन्तुष्ट छन् ।
नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माले फरक–फरक दिन पारेर एउटै मञ्चबाट एक–अर्कालाई घोचपेच गरेपछि आन्तरिक विवाद सार्वजनिक रूपमै छताछुल्ल भयो ।
साउन ६ गते प्रज्ञा भवन कमलादीमा ‘स्कुल अफ मार्क्सिजम’ले आयोजना गरेको पुष्पलाल स्मृति दिवसको अवसरमा शर्माले एमालेका भूतपूर्व अध्यक्ष मनमोहन अधिकारीबाहेक अन्य नेताहरूले असुली धन्दा गरेकै कुरा ठहर निष्कर्ष निकालेका थिए ।

‘मैले पार्टीमा भनेँ–हाम्रो सम्पत्ति छानबिन गरौँ पहिला । पार्टीका नेताहरूको सम्पत्ति छानबिन गरौँ । छानविन पार्टीले गर्ने होइन, स्वतन्त्र व्यक्तिहरू ल्याएर गरौँ । मैले गरेको छु भने पनि देखियोस्, अरूले गरेको पनि देखियोस् । जनतामा पारदर्शिता, सुशासन पहिले हामीले भित्रबाट सुरु गर्नुपर्छ । नारा सुशासन दिने मनमोहन अधिकारी बाहेक अरू बाँकी देशका नेताहरूले असुली धन्दा गरेकै कुरा ठहर छ । असुली धन्दा भएकै छ’, शर्माले भनेका थिए ।
यति मात्र होइन, उनले नयाँ समाजवादी क्रान्ति र कम्युनिस्ट पार्टीहरूबिच ध्रुवीकरण वर्तमान नेतृत्वबाट सम्भव नहुने भन्दै नयाँ पुस्ताले नेतृत्व गर्ने गरी ध्रुवीकरण सुरु भएको स्पष्ट सन्देश दिएका थिए । शर्माको अभिव्यक्तिलाई लिएर माओवादीका संस्थापन पक्षले सामाजिक सञ्जालमार्फत तीखो आलोचना गरिरहेका छन् ।
यसै गरी पार्टीलाई जानकारी नै नदिई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको विषयमा स्थायी समिति बैठकमै छलफल हुने नेताहरूले बताएका छन् । भिजिट भिसा, सङ्घीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयक लगायत राष्ट्रिय एजेण्डामा नेतृत्वको फितलो प्रस्तुति सम्बन्धमा समेत नेताहरू असन्तुष्ट रहेका छन् । आन्तरिक तथा राष्ट्रिय एजेन्डामा मूल नेतृत्व एकपछि अर्को गर्दै रक्षात्मक स्थितिमा पुगेको वेला माओवादी भित्रको अन्तर्विरोध थप चर्किने देखिएको छ ।

साउन ७ गते समाजवादी मोर्चा र पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको स्मृति दिवसमा सोही मञ्चबाट अध्यक्ष प्रचण्डले शर्मालाई तीखो प्रहार गरे । पार्टीभित्र भिन्न मतप्रति दमन गर्नुभन्दा उदार देखाउनु आफ्नो गल्ती भएको उनले जिकिर गरे । विगतमा मोहन वैद्य किरण, बाबुराम भट्टराई, रामबहादुर थापा बादल लगायतलाई पनि आफूले कारबाही गरेको प्रचण्डको भनाइ थियो । अहिले उपमहासचिव शर्मालाई पनि पार्टीभित्र सिँगौरी खेल्न प्रशस्त अवसर दिँदा समेत जनवाद नभएको आरोपको उनले ठाडै खण्डन गरे ।
शर्मालाई लक्षित गरी प्रचण्डले भनेका थिए–‘भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन । भिन्न मतप्रति अलि उदार हुने मेरो कमजोरी हो । मेरो पार्टीमा अलि आलोचना हुने विषय पनि त्यही हो । मैले कमरेड किरण, कमरेड बाबुराम, कमरेड बादल अरू थुप्रै थुप्रै कसैलाई पनि कारबाही गरिन । कसैलाई पनि मैले पार्टीबाट निकालेको छैन । तर कतिपय साथीलाई ननिकालेर के गर्ने बस्ने ठाउँ नै नदिएपछि भन्ने गर्छन् । त्यो पनि सत्य होइन । मैले पनि पर्याप्त छलफलको वातावरण दिने गरेको छु । अहिले पनि केही साथीहरूले सिँगौरी खेल्न पाएजस्तो गर्नुभएको छ । उहाँहरूलाई प्रशस्त सिँगौरी खेल्न दिएको छु । परामर्श भन्दै डेढ महिना देशभर लिएरै हिँडे मैले । योभन्दा बढी गर्ने के हो जनवाद ?
_SADD8Jlyjj.jpg)
यद्यपि पार्टीभित्रको अन्तरसंघर्ष र वर्गसंघर्षलाई उपयुक्त ढंगले समाधान गर्ने विधि नहुँदा समस्या आएको अर्का उपमहासचिव हरिबोल गजुरेलले जिकिर गरेका छन् । शर्माले नेतृत्वप्रति प्रहार गरेपछि त्यसको प्रतिउत्तर आएको हुनसक्ने उनले बताए । वर्गसंघर्ष र अन्तरसंघर्ष भए पनि अहिले नेतृत्वमा प्रचण्डको विकल्प नभएको गजुरेलले स्पष्ट पारे ।
‘वर्ग संघर्ष र अन्तरसंघर्ष जोडियो । यसलाई कसरी हल गर्ने भन्ने विषयमा वैचारिक र सैद्धान्तिक संश्लेषण हुन सकेको छैन । अहिले पार्टीभित्र र बाहिर प्रचण्डको विकल्प खोज्न कोही तयार छैनन् । जनार्दनजीले विप्लव र घनश्यामसँग कुन तहको छलफल गरेको हामीलाई थाहा छैन । तर वर्गसंघर्ष र अन्तरसंघर्षलाई हल गर्ने विधिबारे स्थायी समिति बैठकमा छलफल हुन्छ,’ रातोपाटीसँग उनले भने ।
नेतृत्व लिने सवालमा नयाँ र पुरानो भन्ने नहुने भन्दै उनले सिंगो पार्टी पंक्तिले नेता मान्नुपर्ने गजुरेलको तर्क छ । माओत्सेतुङले भनेको जस्तो माओवादीभित्र दुई लाइन संघर्ष नै नभएको जिकिर गरे ।
‘आफूले आफैलाई नेता घोषणा गरेर हुँदैन । पार्टीभित्रकाले पनि मान्नुपर्यो । पार्टी बाहिरकाले पनि पत्याउनुपर्यो । तब न नेता भइन्छ । भोलिको दिनमा नेतृत्वको विकास भयो भन्ने अलग्गै कुरा हो । अहिले प्रचण्ड बराबरको नेता हाम्रो पार्टीमा अरू छैन,’ उनले भने ।
सचिव राम कार्कीले पार्टीभित्र उकुसमुकुसको अवस्था रहेको स्वीकारे । माओवादीभित्र मात्रै नभई सबै पार्टीमा निरंकुशता हाबी भएको उनको भनाइ थियो ।
_ALCRso0S2f.jpg)
‘पार्टीभित्र वैचारिक छलफल, बहसले मात्रै गति दिन्छ । माओत्सेतुङले भनेकै छन्–‘पार्टीलाई पतनबाट जोगाउने भनेकै दुई लाइन संघर्ष हो । यहाँ दुई लाइन संघर्षको कुरा गर्यो कि मुख बिच्काउने, लाइन पनि कुन हो भनेर भक्तहरूले तोक्ने भए,’ उनले भने, ‘कसैले कुरा उठायो भने यो दुई लाइन भएन भन्न सक्छन् । नेताप्रति प्रश्नै उठाउन नमिल्ने भयो । निर्णय जुन मनमौजी ढंगले गरिराखेका छन् । पार्टीभित्रै विकल्पको खोजीको सुरुवात भएको छ ।’
गणतन्त्रको स्थापनासँगै नेताहरूले लोकतान्त्रिक संस्कृति देखाउन नसकेको उनले आरोप लगाए । नेताहरूले जे मन लाग्यो त्यही गर्न थालेमा कार्कीले निराशा व्यक्त गरे ।
उनले पार्टीको कुनै समितिमा निर्णय नभई, नेताहरूले आफू खुसी बाहिर अभिव्यक्ति दिने कुरानै ठिक नभएको स्पष्ट पारे । सार्वजनिक मञ्चमा नेताको अभिव्यक्ति केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार भनेर मिडियाले समेत प्रश्न नगरेकोमा कार्कीले गुनासो पोखे । कांग्रेस कम्युनिस्ट कुनै पनि पार्टीमा थिति नबसेको र नेताहरूले जे मन लाग्छ, त्यही बोल्ने गरेकाले समस्या आएको उनले जिकिर गरे ।
यता राजनीतिक विश्लेषक झलक सुवेदीले रिस वा आवेगले शक्ति निर्माण नहुने भएकाले सामान्य मान्छेका आर्थिक, सामाजिक, सांस्कृतिक एजेन्डा समात्न सुझाव दिएका छन् । पुष्पलाल स्मृति दिवसको अवसर पारेर उनले भनेका थिए–‘रिस वा आवेगले शक्ति आर्जन हुँदैन । एजेन्डा चाहिन्छ । कमन मान्छेका आर्थिक, सामाजिक, सांस्कृतिक एजेन्डा समात्न नसक्ने हो भने आत्मरति र भुलभुलैयाबाहेक केही प्राप्त गर्न सकिँदैन ।’

शर्माले पार्टी निर्माणमा देखिएको समस्या, समाधान र नेतृत्वको विषयमा आफ्नो लाइन प्रस्ट रहेकोमा अडान यथावतै रहेको बताएका छन् । आफूले नेतृत्वलाई अपमानित गर्ने, पार्टीभित्र विग्रह ल्याउने, फुट वा विभाजन गर्ने उद्देश्यबाट पार्टीमा प्रस्ताव पेस नगरेको उनले दाबी गरे ।
‘पार्टीभित्र विचारविहीनताको अवस्था छ । जनयुद्धकालसम्म एउटा विचारले काम गर्यो । अब अगाडि बढ्न नयाँ विचारको संश्लेषण आवश्यक छ । हाम्रो वर्ग समुदायको एजेन्डा पुरानो नेतृत्वले बोक्न सक्दैन । त्यसका लागि नेपाली विशेषताको समाजवादमा कसरी पुग्न सकिन्छ भनेर संश्लेषण हुन जरुरी छ,’ उनले भने, ‘सुशासन, सामाजिक न्याय र त्यस अनुसार राज्य संयन्त्र निर्माण गर्नेमा नेतृत्व स्पष्ट नहुँदा अहिले कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिएको छ । मैले नयाँ ढंगबाट कम्युनिस्ट पार्टीको पुनर्गठनको कुरा गरेको हो । पुराना नेतृत्व रूपान्तरण भएर अगाडि बढ्न सक्ने देखिँदैन । त्यसका लागि नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण