विदेशमा अध्ययनमा मेरो सफलता र देशकै सेवा गर्ने सपना
विज्ञान विषयमा स्नातक गरेपछि निजामती सेवामा प्रवेश गरेको थिएँ । जागिर गर्दै प्राइभेट परीक्षा दिएर त्रिभुवन विश्वविद्यालयबाट ‘आयोजना तथा कार्यालय व्यवस्थापन’मा बिकम समेत गरेँ । निजामती सेवामा हाल प्रचलनमा रहेको समावेशीकरणमा आधारित बढुवा प्रक्रिया तथा संघीयतापछि अवैज्ञानिक कर्मचारी व्यवस्थापनका कारण धेरैमा नैराश्यता छाएको छ, जसका कारण धेरैले सेवाबाट स्वेच्छिक अवकाश लिँदै गरेको अवस्था छ । राजनीतिक परिवर्तनले मूलतः जनताको इच्छा, आकांक्षामा वृद्धि ल्याउने गर्छ । यस परिवेशबाट मैले पनि निजामती सेवामा रहेर काम गर्न त्यति सहज नठानेर ११ वर्ष जागिर अवधि बाँकी रहँदै स्वेच्छिक अवकाश लिएँ ।
निजामती सेवाले जनताको इच्छा, आकांक्षा पूर्ति गर्न सक्ने किसिमको सेवाप्रवाह गर्न सक्नुपर्छ । अनि मात्र राजनीतिक परिवर्तनको सार्थकता रहने र राजनीतिक स्थायित्व कायम हुने गर्छ । नेपालको निजामती सेवालाई पनि आवश्यकता अनुसार समाहित गर्दै लैजान आवश्यक देखिन्छ । राज्य र जनताबिचको सम्बन्ध अभिव्यक्त हुने प्रमुख माध्यम सार्वजनिक सेवा नै हो । त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व हो । राज्यको यसै विशिष्ट दायित्वको आधारमा राज्य र जनताको सम्बन्ध स्थापित भएको हुन्छ । यसर्थ सार्वजनिक सेवाप्रवाह राज्य र जनताबिच भेट हुने संगमस्थल हो । यसै सम्बन्धका कारणले राज्यको पहिलो दायित्व सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि गर्ने रहेको हुन्छ । सेवा प्रवाहको प्रभावकारिताको स्तरले सरकारको लोकप्रियताको स्तर निर्धारण गर्ने गर्छ । सार्वजनिक सेवा प्रवाहमा दक्षता र प्रभावकारिताको स्तरले सुशासनको सही अवस्थाको चित्रण गरेको हुन्छ । निजामती सेवा सरकारी नीति कार्यान्वयन र सेवा प्रवाहको महत्त्वपूर्ण, समन्वयकारी र एक मात्र सरकारी संयन्त्र भएकाले प्रभावकारी जनशक्ति व्यवस्थापनबाटै सक्षम तथा प्रभावकारी निजामती सेवाको अपेक्षा गर्न सकिन्छ । यस पृष्ठभूमिमा निजामती सेवाको प्रभावकारी व्यवस्थापनमार्फत निजामती सेवालाई बढी उत्पादनशील, उत्तरदायी र सिर्जनात्मक बनाई परिवर्तित परिवेशले ल्याएको अवसर र चुनौती अनुरूप यसलाई चल्न सक्ने बनाउनु अति नै आवश्यक देखिन्छ ।
मैले गरेको सोधकार्य उत्कृष्ट भएकाले विश्वविद्यालय अवार्ड पनि पाउन सफल भएँ । प्रोफेसरले त्यहीँ बसेर पीएचडी त्यहीँ अध्ययन अनुसन्धानमा लाग्न सल्लाह दिँदादिँदै पनि आफूले जानेको कुरा आफ्नो मातृभूमि नेपालमै प्रयोग गर्ने दृढ इच्छा भएकाले नेपाल फर्केको हुँ ।
नेपाल सरकारको सेवामा रहँदै गर्दा निजी प्रयासमा सन् २००० मा विश्वभरिका व्यक्तिको प्रतिस्पर्धाबाट छनोट भई नेदरल्यान्डको रोटरड्याम सहरमा पोस्ट ग्राजुयट अध्ययनका लागि जाने मौका प्राप्त भयो ।
मेलम्ची नगरपालिका–६, तालामाराङ गाउँमा जन्मेर विद्यालय शिक्षा गाउँबाटै प्राप्त गरेको तथा विभिन्न सामाजिक, आर्थिक तथा पारिवारिक उल्झनहरूका बिचमा सहरमा उच्च शिक्षा अध्ययन गरेको मजस्तो मान्छेले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गरी नाम निकाल्न सफल भएको थिएँ, त्यस सफलताले मलाई आत्मविश्वास बढाएको थियो । पश्चिम युरोपको मुटुमा रहेको नेदरल्यान्ड देश र यस आसपासमा रहेका बेल्जियम, फ्रान्स, जर्मनी तथा लक्जेम्बरजस्ता विश्वका नामुद सम्पन्नशाली देशहरूको भ्रमणले मेरो मानसपटलमा छुट्टै खालको सुनामी ल्याइदियो ।
अध्ययन सकेर फर्केपछि त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेँ, नेपालमा ग्रामीण विकासको अध्ययन गर्ने प्रथम ब्याचमै मैले प्रथम श्रेणीमा उत्तीर्ण गर्न सफल भएको थिएँ ।
यसैबिच मैले नेपाल सरकारबाट सहमति लिएर सन् २००४ मा जर्मनस्थित उत्कृष्ट विश्वविद्यालयमा अध्ययनका लागि फाराम भरेको थिएँ । जर्मनीमा रहेको काल्र्सुर विश्वविद्यालय (हाल काल्र्सुर इन्स्टिच्युट अफ टेक्नोलोजी) मा सिभिल तथा वातावरण इन्जिनियरिङ संकाय अन्तर्गतको प्रादेशिक विज्ञानमा एमएससी (एमफिलसरह) अध्ययनार्थ मैले छात्रवृत्ति पाएँ, छात्रवृत्तिसँगै सपरिवार जर्मनीमा बस्नका लागि पनि मलाई छनोट गरिएको थियो ।
म सन् २००५ को सुरुवातीसँगै जर्मनी प्रस्थान गरेँ । हाम्रो घर–घरमा अहिले हेरिने टेलिभिजनको आविष्कारक हर्मन हर्टज पनि कुनै बेला यसै विश्वविद्यालयका प्रोफेसर थिए । वास्तवमा जर्मनीमा यस्ता धेरैे वैज्ञानिकहरू छन् जसले विश्वलाई केही दिएर यस धर्तीमा नाम उच्च राख्दै बिदा भएका छन् । यसमध्येका अग्रणीमा अल्बर्ट आइन्स्टाइन पनि पर्छन् । यस विश्वविद्यालयमा अध्ययनका लागि जाँदा ममा बेग्लै अनुभूति भएको थियो । विश्वका विभिन्न देशबाट छनोट भएर आएका व्यक्तिसँग जमघटमा भएको मेरो अनुभव र अनुभूतिको मैले व्याख्या गर्न सक्तिनँ ।
यसरी सन् २००७ को अन्त्यतिर मेरा ब्याचका सबै विद्यार्थीलाई पछाडि पार्दै समयभित्रै उत्कृष्ट अङ्कका साथ अध्ययन पूरा गरी म नेपाल फर्कें । अर्कोतिर मैले गरेको सोधकार्य उत्कृष्ट भएकाले विश्वविद्यालय अवार्ड पनि पाउन सफल भएँ । प्रोफेसरले त्यहीँ बसेर पीएचडी त्यहीँ अध्ययन अनुसन्धानमा लाग्न सल्लाह दिँदादिँदै पनि आफूले जानेको कुरा आफ्नो मातृभूमि नेपालमै प्रयोग गर्ने दृढ इच्छा भएकाले नेपाल फर्केको हुँ ।
नेपाल फर्केपछि आफ्नो कार्यक्षेत्रमै तल्लीन भएर काममा लागियो । विभिन्न गैरसरकारी संस्थासँगको आबद्धतालाई समेत कायम राख्दै नेपाल सरकारको सेवामा तल्लीन रहेँ । यसै बिचमा सन् २०११ मा फेरि नेदरल्यान्ड सरकारको छात्रवृत्तिमा एक महिनाको ‘डिसेन्ट्रलाइज्ड वाटर सप्लाई एन्ड सेनिटेसन’ अध्ययन तालिमका लागि नेदरल्यान्डस्थित युनेस्को आईएचई डेल्फ्टमा जाने मौका मिल्यो, त्यहाँ विभिन्न प्रोफेसरहरूसँगको अन्तर्क्रियाले मलाई विद्यावारिधि गर्ने सोचको विकास भयो । यसबिचमा फिनल्यान्ड सरकारको सहयोगमा पश्चिम नेपालका जिल्लाहरूमा सञ्चालित खानेपानी, सरसफाइ र स्वास्थ्यसम्बन्धी कार्यक्रममा ठुलो प्रतिस्पर्धाबाट खानेपानी सरसफाइ र स्वास्थ्य सल्लाहकारमा छनोट भएँ ।
पछि पर्वत जिल्लाको सल्लाहकारका रूपमा सन् २००९ देखि २०१२ को जुलाईसम्म काम गरेँ । काम गर्दा धेरैजसो गाउँमा खानेपानीको मूलमा समस्या देखेँ— कतै मूल सुकेको, कतै घटेको, कतै हराएको आदि । त्यहाँ रहेर काम गर्दा जिल्लाका सबै गाविसमा खुला दिसामुक्त अभियान सञ्चालन गरियो । यसपश्चात् मैले विद्यावारिधिका लागि आफ्नो अवधारणापत्र तयार गरेँ, जुन आफूले केही अनुभव हासिल गरेकोे खानेपानी र सरसफाइ क्षेत्र र जलवायु परिवर्तनको असरसँग सम्बन्धित थियो । जसका लागि केही फाउन्डेसन कोर्सहरू गर्न आवश्यक थियो । तसर्थ सन् २०१२ को सेप्टेम्बरमा पुनः जर्मनी सरकारको छात्रवृत्तिमा एक महिनाको ‘वाटर रिसोर्स म्यानेजमेन्ट एन्ड क्लाइमेट चेन्ज अडेप्टेसन’ विषय अध्ययन तालिमका लागि जर्मनस्थित टेक्निकल युनिभर्सिटी अफ ड्रेस्डेन गएँ ।
विद्यावारिधि अध्ययन तथा खोज अनुसन्धानमा निरन्तरताको सिलसिलामा फेरि सन् २०१६ को अक्टोबरमा जर्मनी सरकारको छात्रवृत्तिमा एक महिना ‘क्लाइमेट चेन्ज मिटिगेसन एन्ड अडेप्टेसन’ विषयको अध्ययनका लागि विश्वविख्यात हम्होल्ड्ट विश्वविद्यालय बर्लिन जर्मनी जाने अवसर प्राप्त गरेँ, जहाँ विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरेका थिए । तत्पश्चात् पुनः सन् २०१८ मा तीन महिनाका लागि विद्यावारिधि शोधकार्य सम्पन्न गर्न जर्मनी सरकारकै छात्रवृत्तिमा जर्मनीस्थित टेक्निकल विश्वविद्यालय डेटमोल्ड गएँ । यी सबै प्रयासबाट खानेपानी र सरसफाइमा क्षेत्रमा जलवायु परिवर्तनको असर विषयमा विद्यावारिधि गरेँ जुन मजस्तो ग्रामीण परिवेशबाट आएको व्यक्तिका लागि ठुलो उपलब्धि ठानेको छु । अध्ययन सम्पन्न भएपश्चात् आफ्नो विज्ञता अनुरुपको क्षेत्रमा कुनै न कुनै माध्यमबाट सेवा गरिहेको छु ।
नेपाल सरकारको सेवामा रहँदा पनि धेरैजसो बाइल्याटरल आयोजनामा काम गर्ने अवसर मिल्यो । विभिन्न समयमा घरबिदा, असाधारण बिदा, काज र अन्त्यमा सरकारी सेवाबाट स्वेच्छिक अवकाश लिएर ग्रामीण खानेपानी कोष विकास समिति, साउन्ड नेपाल, युएन ह्याबिटाट, फिन्ल्यान्ड सरकारको सहयोगमा सञ्चालित ग्रामीण खानेपानी तथा ससरफाइ परियोजना पश्चिम नेपाल, अक्स्फाम, युएनडीपीको नेतृत्वमा सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास परियोजना, युएसएआईडी, ड्याड जर्मन संस्थासँगको परियोजना आदिमा काम गरियो । साथै विभिन्न समयमा भएका सेमिनारमा कार्यपत्र प्रस्तुतिका लागि भारत, थाइल्यान्ड, इन्डोनेसिया, जर्मनी, नेदरल्यान्ड, फिनल्यान्ड, स्विडेन तथा संयुक्त राज्य अमेरिकाको भ्रमण समेत गर्ने अवसर पाएको थिएँ ।
पेरिसको आइफल टावर माथिबाट विश्वको सुन्दर सहर पेरिसलाई नियाल्दा मैले आफ्नो स्कुले जीवन सम्झेको थिएँ । हेडसरले कक्षा १० मा भूगोल भन्नुभएको थियो— पेरिसदेखि लन्डनसम्म आन्ध्र महासागरमुनि टनेलबाट रेल सेवा सञ्चालन गरिएको छ । त्यस्तै, सन् २०१९ को मध्यतिर युएसएआईडी परियोजनासँग कार्य गर्दै गर्दा परियोजना सञ्चालन भएका नौ देशका कन्ट्री टिम लिडरहरूको कार्ययोजना र समीक्षा गोष्ठीमा अमेरिकाका राजधानी वासिङटन डीसीको १२ तलाको बिल्डिङको हलबाट नेपालको खानेपानी सरसफाइ स्वच्छता सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै गर्दाको क्षण अहिले पनि मेरो मानसपटलमा ताजै छ ।
अहिले अवस्था र परिवेश फेरिएको छ, गाउँघरमा बत्ती बलेको छ, हातहातमा मोबाइल छ, बाटो बनेर गाडीको सुविधा छ । यो परिवेशमा अध्ययन गर्नु तथा हामीले अध्ययन गर्दाको परिवेशभन्दा धेरै फरक भइसकेको छ । अहिले आफूले रोजेका विषय पढ्न मनग्गे विद्यालय तथा कलेज पनि खुलेका छन् । तथापि चुनौती पनि थपिएका छन् । प्रविधिको गलत प्रयोगले दुर्घटना सिवाय केही निम्त्याउँदैन । यसर्थ प्रविधिको पनि राम्रो काममा मात्र प्रयोग गर्नुपर्ने हुन्छ । साथै आजको अत्यन्त प्रतिस्पर्धी समाजमा सबैखाले प्रतिस्पर्धामा खरो उत्रन सफल हुनुपर्छ । नैतिकताको संकट भइरहेको यस अवस्थामा नैतिकवान् तथा चरित्रवान् युवाशक्ति उत्पादन गर्न विद्यार्थी, शिक्षक तथा अभिभावक सबैको उत्तिकै भूमिका हुन्छ । ‘आचार्य देवो भव’ भन्ने हाम्रो नीतिशास्त्रको कुरा दोहोर्याउँदा एउटा दुर्गम गाउँको मलाई यहाँसम्म पुग्ने मार्गप्रशस्त गरिदिने मेरा अभिभावक तथा सम्पूर्ण गुरुहरूलाई पुनः श्रद्धापूर्वक शिर निहुर्याउँदै पश्चिम युरोपको आत्मसंस्मरण यात्राको यहीँ बिट मार्न चाहन्छु ।
(डा. नेपाल बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष हुन् । जलस्रोत र जलवायु परिवर्तनमा विद्यावारिधि (पीएचडी) गरेका नेपालले निजामती सेवाबाट स्वेच्छिक अवकाश लिई विभिन्न द्विपक्षीय तथा पहुपक्षीय गैरसरकारी संस्थाहरूमा परामर्शदाताका रूपमा कार्य गरिसकेका छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण