शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
नेपाल–भारत सीमा कार्यदल

नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न

बुधबार, १४ साउन २०८२, ०४ : ३९
बुधबार, १४ साउन २०८२

सारांश

  • नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक नयाँ दिल्लीमा सम्पन्न भयो।
  • बैठकमा सीमा स्तम्भको निरीक्षण र मर्मतका लागि नयाँ प्रविधि प्रयोग गर्ने सहमति भयो।
  • अर्को बैठक नेपालमा आयोजना गर्ने र सीमा कार्यदलको बैठक पनि नेपालमै गर्ने सहमति भयो।

काठमाडौँ। नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक मंगलबार भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ ।

बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको निरीक्षण र मर्मत सम्भारका कामलाई अझै प्रभावकारी बनाउन सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस मकवानाले गरेका थिए । 

बैठकले अगष्ट २०१९ मा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयनको समीक्षाका साथै सोही वर्षको सेप्टेम्बरमा सोही स्थानमा आयोजित नापी विभागका अधिकारी सम्मिलित बैठकको कार्य प्रगतिको समीक्षा गरिएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

बैठक विभिन्न सहमति पत्रमा हस्ताक्षरसँगै समापन भएको र दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आगामी महिना नेपालमा आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै, सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने मितिमा नेपालमा गर्ने सहमति जनाएका छन् ।

सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन २०१४ मा गठन भएको संयुक्त निकाय हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप