मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
उद्यम–व्यवसाय

भारतबाट आयात रोक्न बुटवलका युवाले सुरु गरे जनै उद्योग

शनिबार, २४ साउन २०८२, १४ : २७
शनिबार, २४ साउन २०८२

सारांश

  • बुटवलका युवाहरूले भारतबाट आउने जनै आयात रोक्न उद्योग स्थापना गरेका छन्।
  • उद्योगले वार्षिक १५ लाख जनै र ५ टनभन्दा बढी रक्षाबन्धन उत्पादन गर्छ, जसमा १२५ जनाले काम गर्छन्।
  • उद्योगले नेपाल र विदेशमा जनै निर्यात गर्ने लक्ष्य राखेको छ, वार्षिक ५ करोड जनै खपत हुने अनुमान छ।

बुटवल । बुटवलका युवाहरूले भारतबाट आयात रोक्ने उद्देश्यका साथ जनै उद्योग स्थापना गरेका छन् । नेपालमा वार्षिक करोडौँको जनै खपत हुने तर स्वदेशी उत्पादन निकै कम रहेको अवस्थामा बुटवलका ज्योतिष जनार्दन न्यौपानेसहितका युवाहरूले सो उद्योग स्थापना गरेका हुन् । 

उनीहरूको सो उद्योगले विदेशी आयात कम गर्न योगदान दिने लक्ष्य राखिएको छ ।  सो उद्योगले हाल वार्षिक १५ लाख जनै र ५ टनभन्दा बढी रक्षाबन्धन उत्पादन गर्न थालेको छ । १५ वर्षसम्म साउदीमा बसेका युवा लोकप्रसाद काफ्ले यस उद्योगमा जोडिएका छन् ।

janai-udhog (2)

२५ लाख लगानीबाट सुरु गरिएको उद्योगमा  ज्योतिष न्यौपाने, काफ्ले र सुन्दर भण्डारीको लगानी रहेको छ।  ज्योतिष न्यौपानेकाअनुसार उद्योगमा जनै बनाउनेको सङ्ख्या १२५ जना रहेको छ । उद्योगमा जनै बनाउनका लागि आवश्यक तालिम पनि दिइन्छ । तालिमपछि घरमै बसेर फुर्सदमा जनै बाट्नेहरू समेत जोडिएको उनले बताए । 

ज्योतिष न्यौपानेले भने– ‘कपिलवस्तु, सैना मैना, तिलोत्तमा लगायतका बासिन्दाहरूले जनै बनाउने गर्नुभएको छ, उहाँहरुले घरमै काम गरेर मासिक २५ हजार रुपैयाँसम्म कमाउनुहुन्छ ।’ 

janai-udhog (4)

उद्योगमा शास्त्रीय विधि र परम्पराअनुसार पूर्ण सरा र शिखा भएका जनै उत्पादन हुने गरेको न्यौपानेले बताए । उक्त उद्योगबाट ५४ सरा सहितका जनै उत्पादन गरेर नेपाल तथा विदेशमा समेत निर्यात गर्न थालिएको छ । विदेशबाट ल्याइने प्रायः जनै शास्त्रीय विधि र परम्पराअनुसार पूर्ण सरा र शिखा भएका नहुने गरेकोले त्यस्ता जनै उत्पादन गर्न थालिएको उनको दाबी छ । 

janai-udhog (3)

पूजा सामाग्रीको कारोबारमा संलग्न रहँदै आएका ज्योतिष न्यौपानेका अनुसार नेपालमा वर्षेनी करिब ५ करोड जनै खपत हुने अनुमान छ ।  उत्पादन भएका जनै नेपालमा मात्रै नभएर विदेशमा रहेका नेपाली माझ पनि पुर्‍याउने लक्ष्य रहेको उनले बताए । जनैको बजारीकरण मेची–महाकाली सम्म पुग्ने उद्योगमा सहकार्य गरेका अर्का युवा सुन्दर भण्डारीले जानकारी दिए । 

janai-udhog (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप