जापानी इन्सेफ्लाइटिस : उच्च जोखिममा बालबालिका
सारांश
- मनसुनसँगै लामखुट्टेको टोकाइबाट सर्ने जापानी इन्सेफलाइटिसको जोखिम बढेको छ, जसबाट बालबालिका उच्च जोखिममा छन्।
- सन् २०२५ मा नेपालमा जापानी इन्सेफ्लाइटिसबाट ३ जनाको मृत्यु भएको छ, र यो रोग तराई र ग्रामीण क्षेत्रमा बढी देखिएको छ।
- यो रोग 'क्युलेक्स' प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने र यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ।
काठमाडौँ । मनसुनसँगै लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न रोगहरूको जोखिम बढेको छ । यस्तोमा अहिले जापानी इन्सेफलाइटिस (जेई) संक्रमणको उच्च जोखिममा बालबालिका परेका छन् ।
बालबालिकासँगै कृषि पेसामा आबद्ध मानिस, धानखेत, सुँगुर तथा हाँस पालन क्षेत्र नजिक बसोबास गर्नेहरू पनि यस रोगको जोखिम परिरहेका चिकित्सकहरू सुनाउँछन् ।
एक वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिका यो रोगको उच्च जोखिममा छन् ।
सन् २०२५ मै नेपालमा जापानी इन्सेफ्लाइटिसबाट युवा र ज्येष्ठ नागरिक गरी ३ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार ६८१ जनालाई परीक्षण गर्दा ३४ जना संक्रमित भएका थिए ।
मस्तिष्कमा गम्भीर असर पुर्याउने यो रोगको खतरा विशेषगरी नेपालको तराई र ग्रामीण क्षेत्रमा देखिएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर अभियान गौतम बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत वर्ष ९५५ जना शङ्कास्पद बिरामीको परीक्षण गर्दा ८६ जनामा जापानी इन्सेफलाइटिस पुष्टि भएको थियो, जसमध्ये २५ जनाको मृत्यु भएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालकी अधिकृत सोनिया भगत यो रोग ‘क्युलेक्स’ प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक प्रकारको भाइरल भएको बताउँछिन् । ‘यो रोग मानिसबाट मानिसमा भने सर्दैन । विशेषगरी धानखेती हुने, सुँगुर तथा हाँसपालन गरिने ठाउँहरूमा बढी देखिने गर्छ,’ उनले भनिन् ।
जापानी इन्सेफ्लाइटिस भाइरसका कारणले हुने एक प्रकारको गम्भीर मस्तिष्क सङ्क्रमण भएको प्रमुख गौतमले बताए । उनका अनुसार विशेषगरी धानखेत, दलदले जमिन र पानी जम्ने ठाउँहरूमा पाइने ‘क्युलेक्स’ जातको लामखुट्टेले यो रोग फैलाउँछ । यो लामखुट्टेले संक्रमित सुँगुर, बंगुर वा जंगली चराहरूलाई टोकेपछि मानिसलाई टोक्दा भाइरस सर्ने गर्दछ ।

गौतमले भने, ‘यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन । तर, समयमै उपचार नपाएमा यसले गम्भीर रूप लिन सक्छ र बिरामीको ज्यान समेत जान सक्छ ।’
एक तंथ्याकअनुसार गम्भीर अवस्थामा पुगेका बिरामीमध्ये ३० प्रतिशतसम्मको मृत्यु हुन सक्छ ।
विश्वमा जापानी इन्सेफ्लाइटिसका केसहरू दक्षिण एसियाली क्षेत्रमा बढी देखिन्छन् । नेपालको छिमेकी राष्ट्रहरूमा पनि यसको प्रभाव बढी छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा पहिलो पटक सन् १९७८ मा जापानी इन्सेफलाइटिस देखिएको थियो । सन् १९९८ देखि २००८ सम्म नेपालमा ११ हजार ५९१ बिरामी भएका थिए । सन् २०१४–१५ मा २२ सयमा यस्तो सङ्क्रमण भएको थियो ।
यस्तै नेपालमा सन् २००५–२००६ बाट यसको खोप कार्यक्रम सुरु भएको हो । सुरुमा ३१ जिल्लामा यो कार्यक्रम लागु गरिएको थियो, जसमध्ये तराई र भित्री तराईका जिल्लाहरूमा बढी केन्द्रित गरिएका थिए ।
राष्ट्रिय खोपका रूपमा १२ महिनाको बच्चालाई जापानी इन्सेफ्लाइटिसको खोप दिइने गरिन्छ । यद्यपि ५ वर्षसम्म पनि लगाइदिन मिल्ने विज्ञहरू बताउँछन् ।
यो गम्भीर रोग भएकाले यसले मृत्यु वा दीर्घकालीन अपाङ्गतासमेत गराउन सक्ने चिकित्सकहरू बताउँछन् । लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य जानुपर्ने डा. भगतको भनाइ छ ।
उनका अनुसार इन्सेफ्लाइटिसले मस्तिष्कको कुनै पनि प्रणालीलाई असर गर्न सक्छ । यसको सङ्क्रमण हुँदा आँखा नदेख्ने, कान नसुन्ने, स्वाद हराउने वा हातखुट्टा नचल्ने हुन सक्छ ।
यो रोग बच्चादेखि वृद्धसम्म सबैलाई लाग्न सक्ने डा. गौतमले बताए । भने, ‘बच्चाहरूमा बढी देखिन्छ, किनभने उनीहरूको इम्युनिटी कम हुन्छ ।’
डब्ल्यूएचओका अनुसार २५० जनामा यो सङ्क्रमण हुँदा एक जनामा घातक समस्या देखिन्छ । र घातक समस्या देखिएका तीन जनामध्ये एकको मृत्यु पनि हुने गर्छ । यस रोगका लक्षणहरू व्यक्तिअनुसार फरक–फरक हुन सक्छन् ।
धेरैजसो सङ्क्रमितमा कुनै लक्षण नदेखिने पनि सक्छ । केके देखिन्छन् त लक्षण ?
–अचानक उच्च ज्वरो आउनु
–धेरै टाउको दुख्नु
–वान्ता हुनु
–मानसिक स्थितिमा परिवर्तन आउनु (जस्तैः अर्धचेत वा अचेत हुनु)
–कम्पन आउनु
–पछिल्लो अवस्था
कसरी बच्ने
लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने
घरबाहिर निस्कँदा लामो बाहुला भएको कपडा लगाउने
घरवरिपरि पानी जम्न नदिने र सफा राख्ने
लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा बजेटमाथिको छलफल अन्योल, लगातार सर्दै प्रदेश सभा बैठक
-
६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति
-
वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
-
होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटमपछि सुकुम्बासीको चेतावनी, ‘विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्छौँ’
-
जापानको उत्तरी तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण