शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइसको मनोनयन सार्वजनिक

आइतबार, ०१ भदौ २०८२, १६ : ४५
आइतबार, ०१ भदौ २०८२

सारांश

  • भदौ २९ गते हुने बजाज पल्सर स्पोर्ट्स अवार्डको 'पिपुल्स च्वाइस अवार्ड'का लागि मनोनयन सार्वजनिक गरियो।
  • क्रिकेट, भलिबल, फुटबल, उसु र टेबल टेनिसका खेलाडीहरू मनोनयनमा परेका छन्।
  • आईएमई खल्ती र नेपाल खेलकुद पत्रकार मञ्चबीच भोटिङ प्रक्रिया सहज बनाउन सहकार्य भएको छ।

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रतिष्ठित ’एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड’ को २२औं संस्करणका लागि सर्वाधिक लोकप्रिय विधा ’पिपल्स च्वाइस’ अवार्डको मनोनयन सार्वजनिक गरेको छ। मञ्चले एक विज्ञप्ति जारी गर्दै यही भदौ २९ गते पर्यटकीय सहर पोखरामा आयोजना हुने अवार्ड कार्यक्रमका लागि पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो।

सार्वजनिक मनोनयनमा क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसुकी विजय सिन्जाली र भलिबलका हिमाल सुनारी परेका छन्। वर्षभरि उत्कृष्ट प्रदर्शन गरेका र चर्चामा रहेका खेलाडीहरूलाई यो विधामा मनोनयन गरिएको मञ्चले जनाएको छ।

यो संस्करणको अवार्डलाई विशेष बनाउँदै मञ्चले पहिलो पटक उपत्यका बाहिर पोखरामा कार्यक्रम आयोजना गर्न लागेको हो। यसका लागि मुख्य प्रायोजक गोल्छा ग्रुप र प्रवद्र्धक पोखरा महानगरपालिकासँग सम्झौता भइसकेको छ।

पिपल्स च्वाइस विधाको विजेता समर्थकको भोटका आधारमा चयन गरिनेछ। यसका लागि आयोजकले नयाँ भोटिङ पार्टनरको रूपमा आईएमई खल्तीलाई अनुबन्धित गरेको छ। विजेता छनोट प्रक्रियामा आईएमई खल्तीमार्फत गरिने भोटिङको मतभार ५० प्रतिशत, फेसबुक भोटिङको २५ प्रतिशत, राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको १२.५ प्रतिशत र मञ्चका सदस्य पत्रकारको १२.५ प्रतिशत मतभार रहनेछ।

यो विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। यसबाहेक वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवा विधाका विजेतालाई पनि मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेताले जनही १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

गत वर्ष यो विधाको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन्।

मनोनयनमा परेका खेलाडी र उनीहरुको प्रदर्शनः

पूजा महतो (क्रिकेट) : आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाललाई च्याम्पियन बनाउँदै विश्वकपमा पुर्‍याएकी कप्तान। छनोटमा अविजित १३० रनसहित शतक बनाउने, सर्वाधिक २७२ रन बनाउने र १० विकेट लिने उत्कृष्ट अलराउन्डर।

रेखा पौडेल (फुटबल) : एएफसी महिला च्याम्पियन्स लिग खेल्ने पहिलो नेपाली खेलाडी। यूएईको क्लबबाट डेब्युमै र साउदीको अल नासरविरुद्ध निर्णायक गोल गर्न सफल। साफ महिला च्याम्पियनसिप २०२४ मा ७ गोलसहित सर्वाधिक गोलकर्ता।

इभाना थापा (टेबलटेनिस) : दक्षिण एसियाली टेबलटेनिसमा चार पदक विजेता। २७औं एसियाली च्याम्पियनसिपमा काजकिस्तानविरुद्ध जित र ओलम्पिक छनोटमा सेमिफाइनलसम्मको यात्रा तय गरेकी प्रतिभा।

विजय सिन्जाली (उसु) : जापानमा सम्पन्न तेस्रो त्बयगि विश्वकप र साउदी अरेबियामा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा कास्य पदक जित्न सफल। १३औं सागका स्वर्ण पदक विजेता।

हिमाल सुनारी (भलिबल) :  नवौं एनभीए लिगमा उपविजेता र तेस्रो टाइगर कपमा च्याम्पियन टोलीका महत्त्वपूर्ण सदस्य। प्रतियोगितामा ’बेस्ट सर्भर’ घोषित, समर्थकमाझ लोकप्रिय खेलाडी।

नेपाली खेलकुदमा वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने उद्देश्यले मञ्चले हरेक वर्ष यो अवार्ड आयोजना गर्दै आएको छ। गत वर्ष पुरुषतर्फ क्रिकेटका रोहित पौडेल र महिलातर्फ करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप