शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चेस प्रतियोगिताको उपाधि राधिका पौडेललाई

आइतबार, ०१ भदौ २०८२, १९ : ४२
आइतबार, ०१ भदौ २०८२

काठमाडौँ । काठमाडौँ सामाखुसी स्थित नेपाल प्रहरी स्कुल प्राङ्गणमा सम्पन्न दोस्रो एनपिएस विद्यालय स्तरीय चेस प्रतियोगिताको उपाधि रिलायन्स इन्टरनेसनल स्कुलले जित्न सफल भएको छ ।

छात्रा सिनियर विद्यार्थी समूह तर्फ रिलायन्स स्कुलकी राधिका पौडेलले ६ चरणको खेलमा सबै प्रतिद्वन्दी माथि जित प्राप्त गर्दै उपाधि जितेकी हुन् । 

यसै समूहमा आयोजक नेपाल प्रहरी स्कुलकी मन्दिरा गिरि ५ अङ्क प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो भइन् भने एभरेष्ट सेकेन्डरी स्कुलकी हर्षिका श्रेष्ठ समान अंकमा तेस्रो बनिन् ।

यस्तै सिनियर छात्र विद्यार्थी तर्फ मोर्डन इन्डियन स्कुलका आशिष गुप्ताले ७ चरणको खेलबाट कुल ६. ५ अङ्क प्राप्त गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भएका छन् । 

यसै समूहमा माउण्टग्लोरी इन्टरनेसनल स्कुलका आयुष भण्डारीले ६ अङ्क प्रोग्रेसिभ प्वाइन्टका आधारमा द्वितीय र बागमती कलेजका आर्जन खड्का ६ अङ्क नै जोडेर तेस्रो स्थानमा चित्त बुझाएका छन् ।

१५ मिनेट १० सेकेण्ड इन्क्रिजमेन्ट रापिड दुई दिने बुद्धिचाल प्रतियोगितामा जुनियर ब्वाइज विद्यार्थी तर्फ डाफोडिल पब्लिक स्कुलका डेवन्सराज श्रेष्ठले ६.५ अङ्क जोडेर प्रथम स्थान हासिल गरेका छन् ।

यसै समूहमा मार्भेलस इङ्लिस सेकेन्डरी स्कुलका बृजनन्दन दास ६ अङ्क सङ्कलन गर्दै द्वितीय र समान ६ अङ्क प्रोग्रेसिभमा तृतीय स्थान ओगट्दै माउण्ट ग्लोरि इन्टरनेसनल स्कुलका निश्चल रिमाललो प्रतियोगिता अन्त्य गरेका छन् ।

सँगसँगै छात्रा जुनियर विद्यार्थी तर्फ मार्भलस इङ्लिस बोर्डिङ स्कुलकी कृष्टि रिजालले कडा प्रतिस्पर्धामा समान ५ अङ्क प्रोग्रेसिभ प्वाइन्टका आधारमा पहिलो स्थान हात पारेकी छिन् । 

उनीसँगै समान ५ अङ्क प्रोग्रेसिभ प्वाइन्टका आधारमा लालीगुराँस सेकेन्डरी स्कुल गोदावरीकी कामना थापा मगर र निटेन मेमोरियल स्कुलकी परीक्षा बोलाखे तृतीय बन्न सफल भएका छन् । 

यसै समूहमा प्रतिस्पर्धात्मक समान ४.५ अङ्क बनाएर बौद्ध चिल्ड्रेन हेभेन स्कुलका ल्होमु तामाङ, फ्युचर स्टार एकेडेमी लुभुमा ग्लोसी श्रेष्ठ र सेन्ट जेभियर्सका इज्जा लामा क्रमशः चौथो देखि छैठौ स्थान प्राप्त गरेका छन् ।

कठिन समूह रहेको स्पर्धामा समान ४ अङ्क जोडेकी सरस्वती एकेडेमी स्कुलका श्रीया डंगोल, त्रियोग हाइस्कुलका श्रीयाश्री तुलाधर र त्रिपद्म हाई स्कुलका तृसारा लामा सातौं देखि नवौँ तथा सेन्ट मेरिज सेकेण्डरी स्कुलकी आर्या कुसवाह ३.५ अङ्क जोडेर दसौँ स्थान प्राप्त गरेकी छिन् ।

यसैबिच नेपाल प्रहरी विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार एनपिएल चेसको पुरस्कार वितरण तथा समापन कार्यक्रम काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाको सभापतित्वमा सम्पन्न भएको छ ।

विजयी विद्यार्थी खेलाडीहरूलाई प्रमुख अतिथि काठमाडौँका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ तथा नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत गरेका छन् ।

यस दोस्रो संस्करण एनपिएल चेस प्रतियोगितामा ८७ विद्यालयका १८७ विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो भने आगामी वर्ष तेस्रो संस्करणको प्रतियोगिता निरन्तर हुने उद्घोष गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप