शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हिमालयन क्वीन्स ग्याम्बिटमा ७ वर्षदेखि ६७ वर्षसम्मका खेलाडीको प्रतिस्पर्धा, प्रिसियस च्याम्पियन

आइतबार, ०१ भदौ २०८२, २० : ०३
आइतबार, ०१ भदौ २०८२

काठमाडौँ । हिमालयन चेस एकेडेमीद्वारा आयोजित हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय ४१ खेलाडीको चुनौती पन्छाउँदै आइतबार प्रिसियस अधिकारी च्याम्पियन भएकी छन् । उनले शतप्रतिशत जितसहित ७ अङ्क जोड्दै उपाधि जितेकी हुन् ।

सेन्ट जेभियर्स कलेज, माइतीघरमा सञ्चालित एक दिने प्रतियोगितामा खुलातर्फ निहाना श्रेष्ठ पनि अपराजित रहिन् । तर, दोस्रो चरणमा बराबरी नतिजाले उनलाई उपाधि होडबाट टाढा बनायो । उनी ६.५ अङ्कमा सीमित भएपछि उपविजेतामै रोकिइन् ।

सात वर्षदेखि ६७ वर्षसम्मका महिला खेलाडी सहभागी प्रतियोगितामा महेन्द्र माविकी रेशिका श्रेष्ठ ६ अङ्कसहित तेस्रोमा रहिन् । स्वस्तिका चौधरी, धनमन्तरी थापा, मेघना अधिकारी, संस्कृति गजुरेल र सुहानी सिंह शीर्ष आठमा रहे ।

अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछ, जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रूपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आयोजना गरिएको हो । 

स्वीस प्रणालीको आधारमा चार राउन्ड र्यापिड र तीन राउन्ड ब्लिट्ज खेलाइएको प्रतियोगितामा १ सय ४२ खेलाडीले प्रतिस्पर्धा गरे, जुन नेपाली चेसमा महिला खेलाडीको कीर्तिमान सहभागिता हो । गत वर्ष आयोजित हिमालयन तीज टोर्नीमा ३७ खेलाडी सहभागी थिए, जसलाई हिमलायन क्वीन्स ग्याम्बिटले उछिनेको हो ।

विद्यालयतर्फ मनकामना सेकेन्डरी पहिलो, मार्भलस बोर्डिङ दोस्रो र महेन्द्र मावि तेस्रोमा रहे । यू १० तर्फ अनिशा तामाङ पहिलो, अनन्य रौनियार दोस्रो र ऋतिका सेढाईं तेस्रो भए । यू १३ तर्फ विपासना शाक्य पहिलो, नायुमा मगर दोस्रो र रिजला राजभण्डारी तेस्रो भए । यू १६ तर्फ सोनालिका शाह पहिलो, याशवी महर्जन दोस्रो र आरोही श्रेष्ठ तेस्रो स्थानमा रहे ।

त्यस्तै, भेट्रान ५० वर्षमाथि रुक्मणि जिमी च्याम्पियन भइन् भने राधा राई उपविजेता भइन् । शुभानी पण्डितले बेस्ट एचसीए, आकृति नगरकोटीले बेस्ट जेभियरियन, रोशिका श्रेष्ठले बेस्ट स्पोर्टसम्यानसिप, स्मारिका डुम्रेले राइजिङ प्लेयर, सूक्ष्मायंका जैशीले बेस्ट इम्प्रुभ्मेन्ट अवार्ड हात पारे ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, काठमाडौँ महानगरपालिका ४ का वडाध्यक्ष दिनेश महर्जन, नेपाल बुद्धिचाल महासङ्घका वरिष्ठ उपाध्यक्ष दिपेन राई, कोसी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष सुरेन्द्रकुमार राई, सेन्ट जेभियर कलेजका भाइस प्रिन्सिपल गेहेन्द्रबहादुर चन्द र फिडे कसिन फर वुमेन्स चेसकी सदस्य मोनालिशा खम्बू (हिमालयन चेस एकेडेमीकी संस्थापक) ले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासङ्घ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्वीन्स ग्याम्बिटमा १ सय महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडेले सोसल इयरको अवसरमा यो वर्ष चेसमा महिलाको सहभागितालाई प्रोत्साहन गरेको छ । बौद्धिक खेलमा महिला शसक्तिकरणको लागि आयोजित हिमालयन क्वीन्स ग्याम्बिटमा ओपन, स्कुलसहित विभिन्न उमेर समूह गरी आठ स्पर्धासमावेश गरिएको छ, जसमा अनरेटेड १ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।’

यसअघि पेरिस पारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्यपदक दिलाएकी पलेशा गोवर्द्धन, फिल्म निर्देशक दिपेन्द्र लामा, सेन्ट जेभियर्स कलेजका प्रिन्सिपल अगस्टिन थोमसले चेस क्लक र गोटी चाल्दै उद्घाटन गरेका थिए ।

काठमाडौँ– ११ स्थित थापाथलीमा सञ्चालित हिमालयन चेस एकेडेमीले आयोजना गरेको यो नवौं प्रतियोगिता हो ।

२०८० साल चैत १ गते उद्घाटन गरिएको एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकड्र्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु गरी आठ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो ।

चेसलाई प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ । अनलाइन कक्षा, स्कुल र समुदायमा कार्यशाला तथा प्रशिक्षण नियमित गरिरहेको छ । 

उसले कमनवेल्थ चेस च्याम्पियन इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौँमा विशेष प्रशिक्षण पनि दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप