शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

राज्य व्यवस्था समिति सभापति छान्न कांग्रेसका शीर्ष नेताहरू बैठकमा

मङ्गलबार, १० भदौ २०८२, ११ : २४
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • शेरबहादुर देउवाले राज्य व्यवस्था एवं सुशासन समितिको सभापतिको लागि शीर्ष नेताहरूको बैठक बोलाए।
  • बैठकले समितिको सभापतिको उम्मेदवार तय गर्नेछ, जसमा दीलेन्द्रप्रसाद बडू, हृदयराम थानी, अम्बिका बस्नेत र सरिता प्रसाईँको नाम चर्चामा छ।
  • कांग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएपछि यो पद खाली भएको थियो।

काठमाडौँ । दलीय भागबन्डामा पार्टीको भागमा परेको राज्य व्यवस्था एवं सुशासन समितिको सभापति छान्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

 बिहान ११ बजे देउवा निवास बुढानीलकण्ठमा बोलाइएको बैठक केही बेरमा सुरु हुने कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्रीसमेत रहेका पार्टी नेता रमेश लेखक र प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोलाइएको पौडेलले रातोपाटीलाई जानकारी दिए । 

संघीय संसद् सचिवालयले समिति सभापतिका लागि मंगलबार दिउँसो एक बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची तय गरेको छ । कांग्रेस बैठकले त्यो बेलासम्म उम्मेदवार तय गर्ने उपसभापति पूर्णबहादुर खड्काले बताए । ‘अहिले शीर्ष नेताहरूको बैठक सभापतिले बोलाउनु भएको छ । त्यही बैठकले समिति सभापतिको उम्मेदवार तय गर्छ,’ उपसभापति खड्काले रातोपाटीसँग भने । 

देउवाले समिति सभापतिको उम्मेदवार सोमबार बिहान १० बजे बैठक आह्वान गरेका थिए । त्यो बैठक स्थगित गरेर दिउँसो दुई बजेलाई सारेका थिए । त्यो बैठकले उम्मेदवार तय गर्न सकेको थिएन । 

समिति सभापतिका लागि कांग्रेस सांसदहरू दीलेन्द्रप्रसाद बडू, हृदयराम थानी, अम्बिका बस्नेत र सरिता प्रसाईँको पनि नाम चर्चामा छ । 

२७ सदस्यीय समितिमा कांग्रेसबाट उपसभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा, बडू,, प्रसाई, थानी, ईश्वरीदेवी न्यौपाने, रामहरि खतिवडा र बस्नेत गरी नौ जना सदस्य छन् । 

यसअघि राज्य व्यवस्था समिति सभापतिमा कांग्रेसकै सांसद रामहरि खतिवडा थिए । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि सभापति पदबाट खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप