पुष्पलाल भन्थे— सीके प्रसाईभन्दा बौद्धिक र बीपीवादी नेता कांग्रेसमा मैले भेटिनँ
सारांश
- सीके प्रसाईं बीपी कोइरालाका विश्वासपात्र थिए, तर गिरिजाप्रसाद कोइरालाले उनलाई मन पराएनन्।
- प्रसाईंले राजनीतिमा प्रवेश गरेपछि तरुण दलको केन्द्रीय सदस्य बने, र पञ्चायती व्यवस्थाको विरोध गरे।
- उनले नेपाल र नेपालीको लागि धेरै काम गरे, तर उनलाई जीवनभर धेरैले डाहा गरे र अपमान गरे।
सीके प्रसाई हेर्दैमा खाइलाग्दा थिए, उनीछेउ पुग्दा बोलिरहुँजस्ता थिए र एकछिन बोलेपछि उनीसँगै बसिरहुँजस्ता थिए । उनी बीपी कोइरालाका हृदयमा बसेका नेपाली कांग्रेस पार्टीका एक आधिकारिक चिन्तक थिए । हो, गिरिजाप्रसाद कोइरालाले यिनलाई एक आँखाले देख्न सक्तैनथे, तर गणेशमान सिंह भन्थे— सिङ्गै सीकेलाई आँखामा राख्ता पनि उनी नबिझाउने नेता थिए । पुष्पलाल भन्थे— सीकेभन्दा बौद्धिक, बीपीवादी र निष्ठाको राजनीति गर्ने नेपाली कांग्रेसमा मैले अरू नेता भेटिन । प्रा. ईश्वर बराल भन्थे— सीकेका लागि नेपाल सानो मुलुक भयो । उनको चेतना चानचुने छैन । साथै प्रा. राजनारायण प्रधान भन्थे— सीके प्रसाई नेपालका चाउ एनलाई हुन् । वास्तवमा जसले जेजसरी चिन्ने गर्थे, सीके प्रसाई त्यस्तै विचित्रका सग्ला पात्र थिए । अनि उनी एक काल्पनिक चित्रजस्तै थिए । उनको छेउ जो पुग्थे तिनले चाहँदा आफ्नो ज्ञानको घडा भर्न सक्थे । वास्तवमै उनी ज्ञानका सागर थिए, सिद्धान्तका सगर थिए र नैतिकताका हिमालय थिए । अनि सबैभन्दा ठुलो कुरा उनी इमानदार देशभक्त थिए ।
लप्टन देवीप्रसाद प्रसाई तथा देवकुमारी प्रसाईका सुपुत्रका रूपमा १९८८ फागुन ७ गते छत्रवानकेशरीको जन्म सर्लाहीमा भएको थियो । तर दुई वर्ष नपुग्दै उनले आफ्नी आमा गुमाएका थिए । अनि उनका मावलीचाहिँ अधिकारी थिए ।
सीके प्रसाईलाई भरतबाबु भनेर पनि चिनिन्थ्यो । उनको प्रारम्भिक शिक्षा आफ्ना दाजु खड्गवानकेशरी अर्थात् खनुपरुदे ‘रामबाबु’को संरक्षणमा काठमाडौँमा भएको थियो । अनि उनले माध्यमिक शिक्षा खार्साङ्गमा अध्ययन गरे । उनले उच्चशिक्षा बनारसमा पढेका थिए । त्यही क्रममा उनले २०१२ सालमा बनारस हिन्दु विश्वविद्यालयबाट चतुर्थ स्थानमा एमकमको शैक्षिक उपाधि प्राप्त गरे । त्यसपछि उनी भारतको बरोधा गए । त्यहाँबाट उनले डिप्लोमाको बैकिङ तालिम लिएका थिए । साथै उनले एफआरसीको विद्याचाहिँ लन्डनमा पढेका थिए ।
सीके प्रसाईले ढिलो बिहे गरे । अनि आफ्नो उमेर छत्तिस वर्ष कटाएपछि मात्र उनले आफूभन्दा चार महिना जेठी कन्यासित बिहे गरे । २०२४ सालमा उनको बिहे कप्तान गञ्जबहादुर कार्कीकी छोरी गिरिराजकुमारीसँग भयो । गिरिराजकुमारीले चाहिँ इलाहाबाद विश्वविद्यालयबाट दुई विषयमा एमए पास गरेकी थिइन् । अनि बिहेपछि मात्र सीके प्रसाईको घरबार सम्हालिएको थियो । नत्र घरव्यवहारमा यी साधु स्वभावका थिए । कतिसम्म भने कुनै बेला यिनको दुई सय बिघा खेतबाट दुई हजार मन धान बेचिन्थ्यो । तर पनि दसैँपछि यिनलाई घर धान्न फिटीफिटी हुन्थ्यो । यिनको लापरबाहीका कारण यिनका कारबारीले यिनलाई थाङ्नामा सुताउँथे । अनि सबै थोक थाहा पाएर नै पनि उनी आँखा चिम्लिने गर्थे ।
२०५० साल फागुन ८ गते बेलुका ५ बजेको कुरा हो, सीके प्रसाईसित मन्त्री महेश्वरप्रसाद सिंहको टेलिफोन संवाद भएको थियो । त्यसै बेला सिंहले भनेका थिए— ‘विधिवत् रूपमा नै काङ्ग्रेस फुट्ने भयो ।’ त्यसपछि सीकेको मुटुको चाल बन्द भयो । त्यसै बखत उनी स्वर्गीय भए । विश्व परिवेश बुझेका र नेपाली राजनीतिका प्रखर चिन्तक सीके प्रसाईको स्वर्गारोहण नेपाली काङग्रेसभित्रै मात्र पक्षाघात भएको होइन नेपाल राष्ट्रका लागि नै ठुलो क्षति थियो ।

सीके प्रसाईले २०१४ सालमा झापाको अनारमनीको विर्ताबजारमा आधुनिक शैलीको घर बनाए । त्यस घरमा उनले पुस्तकालय खोलेका थिए; हात्ती, घोडा, हरिण र चराचुरुङ्गी पालेका थिए र एउटा रसियन जिप पनि राखेका थिए ।
सीके प्रसाई २०१६ सालदेखि राजनीतिमा पसे । अनि सुरुका दिनमै उनी नेपाली कांग्रेसको नेपाल तरुण दलको केन्द्रीय सदस्य भएका थिए ।
सीके प्रसाई पढाइलेखाइका पनि सोखिन थिए । त्यस समय उनी भारतको नक्सालबारी र गलगलियाबाट नियमित रूपमा हप्ताको दुईपल्ट नयाँनयाँ किताब र पत्रिका झिकाएर पढ्थे । त्यस कामका लागि उनले एक जना कारिन्दा र एउटा घोडा राखेका थिए ।
सीके प्रसाईको परिकल्पना, योजना र पहलमा उनकै घरको सिमानामा २०१४ सालमा स्कुल खोलिएको थियो । उनले राजारानीका नाउँमै स्कुलको नामकरण गरिदिएका थिए । भनौँ उनैले त्यस स्कुलको नाउँ ‘महेन्द्ररत्न विद्यालय’ राखेका थिए । साथै त्यहाँ उनले एउटा स्कुल भवन पनि बनाइदिएका थिए । त्यस बेला त्यस स्कुलको ठुलै महिमा थियो । अनि अहिले पनि त्यो हाईस्कुल झापाकै दाहिने आँखो भएको छ । धन र सम्पत्तिले शिखर छोएका, बुद्धिजीवी र गैरराजनीतिज्ञ सीके प्रसाईले स्कुल खोलेपछि उनी पूर्वाञ्चलमा झन् सारो हाइहाई भएका थिए । अनि त्यतिन्जेलसम्म पनि उनी केवल समाजसेवा र प्राज्ञिक क्षेत्रमा मात्र समर्पित थिए । वास्तवमै २०१५ सालको आखिरी दिनसम्म उनले राजनीतिको सियोसम्म समाएका थिएनन् । अथवा भनौँ जीवनको २७ वर्ष पुगुन्जेलसम्म सीके प्रसाई राजनीतिको ठाडो सरोकारमा गाँसिएका थिएनन् ।
सीके प्रसाई २०१६ सालदेखि राजनीतिमा पसे । अनि सुरुका दिनमै उनी नेपाली कांग्रेसको नेपाल तरुण दलको केन्द्रीय सदस्य भएका थिए । २०१७ पुस १ गते आएपछि उनी राजा महेन्द्रको कदमको विरोध गर्दै भारतको नक्सालबारी लागे । त्यसपछि उनका हातमा नेपाल सरकारबाट एउटा कडा पुर्जी गयो, ‘तपाईंले यो पत्र बुझेको ३५ दिनभित्र नेपाल आउनुहोला । म्यादभित्रै आउनुभएन भने तपाईंको सारा धनसम्पत्ति सरकारले नै जिम्मा लिनेछ ।’ पत्र पढेर पनि उनी स्वदेश फर्केनन् । त्यसपछिका दिनमा सरकारले उनको धनसम्पत्ति सर्वस्वहरण गरेको थियो । उनी भने २०२६ सालमा मात्र स्वदेश फिरेका थिए । अनि उनलाई २०२७ सालदेखि २०३३ सालसम्म जेलका साथै काठमाडौँमा नजरबन्द गरिएको थियो ।
पञ्चायती व्यवस्थामा पनि सीके प्रसाईले आफ्नो घरमा कोइरालाको फोटो टाँसेका थिए । त्यति बेला आफ्ना घरमा बीपीको फोटो सजाउने सिद्धान्तकार बिरलै थिए । २०४६ सालमा बहुदल आएपछि मात्रै अधिकतम कांग्रेसले आ–आफ्ना घरमा बीपी कोइरालाको फोटो टाँस्न थालेका थिए ।
२०१८ पुस १ गते सुवर्णशमशेरको नेतृत्वमा नेपालमा सशस्त्र क्रान्तिको प्रारम्भ भएको थियो । अनि २०१९ सालमा भारत र चीनको पनि युद्ध सुरु भएको थियो । त्यही कारणले भारतले कांग्रेसलाई सङ्घर्ष रोक्न आह्वान गरेको थियो । त्यस घडी सीके प्रसाई नक्सलबारी नै बसेका थिए । त्यसै बेला उनलाई त्यहीँ छेउको उत्तर बङ्ग विश्वविद्यालयको प्राध्यापक बन्न त्यहाँका प्राज्ञ र स्थानीय बुद्धिजीवीको अनुरोध आयो । त्यसपछि उनी त्यस विश्वविद्यालयको एमकम स्तरीय विद्यार्थीका लागि प्राध्यापनमा लागे । त्यहाँ उनले लगालग पाँच वर्षजति पढाएका थिए ।
सीके प्रसाईको बोलीचाली नरम थियो । उनी दिल खोलेर बोल्थे, ठट्टा गर्थे र दुःखसुखका कुरा पनि गर्थे । उनी निकै भावुक थिए । त्यसैले कहिलेकाहीँ दुःखको कुरा निक्लँदा उनी भावनामा डुबेर रुने पनि गर्थे । साथै उनी रिसाउँदा पनि खपिनसक्नुहुन्थ्यो । रिस थामिएपछि उनी भन्थे, ‘वेद पढेर त कोही रिसाउँदैन नि !’ उनको सबैभन्दा ठुलो खुबी के थियो भने उनको पेटले पाप बोक्तैनथ्यो ।
सीके प्रसाई खानपिनमा मासुका सोखिन थिए । उनी मासु नभएका दिन भान्सामा जान आनाकानी गर्थे । विवाहपछिको कुरा गर्ने हो भने उनी सादा ठाउँमा सुत्थे, सादा घरमा बस्थे र सादा लुगा लगाउँथे । अनि यी सबै कुरालाई छाता ओढाएर उनी भन्थे, ‘ज्ञानुले भारतको बरोधाको गान्धी स्कुलमा पढिन् । यो सबै उनैको प्रभावले भएको हो ।’
सीके प्रसाईले ढिलो बिहे गरे । अनि आफ्नो उमेर ३६ वर्ष कटाएपछि मात्र उनले आफूभन्दा चार महिना जेठी कन्यासित बिहे गरे । २०२४ सालमा उनको बिहे कप्तान गञ्जबहादुर कार्कीकी छोरी गिरिराजकुमारीसँग भयो । गिरिराजकुमारीले इलाहाबाद विश्वविद्यालयबाट दुई विषयमा एमए पास गरेकी थिइन् । अनि बिहेपछि मात्र सीके प्रसाईको घरबार सम्हालिएको थियो । नत्र घर–व्यवहारमा यी साधु स्वभावका थिए । कतिसम्म भने कुनै बेला यिनको दुई सय बिघा खेतबाट दुई हजार मन धान बेचिन्थ्यो । तर पनि दसैँपछि यिनलाई घर धान्न फिटिफिटी हुन्थ्यो । यिनको लापरबाहीका कारण यिनका कारबारीले यिनलाई थाङ्नामा सुताउँथे । अनि सबै थोक थाहा पाएर पनि उनी आँखा चिम्लिने गर्थे ।
सीके प्रसाईलाई नेपाल र नेपालीप्रति औधी माया थियो । नेपालमा बहुदल आउनुपूर्व अथवा २०४६ सालअघि प्रजातन्त्र जान्ने, सुन्ने र बुझ्ने अभिप्रायले उनी देशका प्रायः सम्पूर्ण भूभाग घुमेका थिए ।
सीके प्रसाई र गिरिराजकुमारी भएर तीन सन्तान जन्माए । जेठी छोरी रमिता २०२४ मङ्सिर १२ गते र कान्छी छोरी नम्रता २०२७ चैत १ गते जन्मेका थिए । सीके प्रसाईलाई छोराको पनि तीव्र चाहना थियो । ईश्वरको अनुकम्पाले उनको भावनाको पनि कदर भयो । तसर्थ २०२८ फागुन १४ गते विवेककेशरीको पनि जन्म भयो ।
सीके प्रसाईलाई घर चलाउन गाह्रोगाह्रै थियो । अनि उनकी पत्नी गिरिराजकुमारी भन्थिन्— ‘म आउनुअघि तपाईं जुन बाटोमा हिँडिरहनुभएको थियो, त्यही बाटामा हिँडिरहनुहोस् । हाम्रो फिक्री गर्दै नगर्नुहोस् । मान्छेले बनाएको ओखलीमा त अन्न पर्छ भने हामी त भगवान्ले कुँदेका ओखली हौँ । जसमा एक पेट खस्रो–मसिनो अन्न अवश्य पर्छ, पर्छ ।’
सीके प्रसाईलाई उपत्यकामा नजरबन्द गराइएको बेला उनले ‘राष्ट्रपुकार’ साप्ताहिकमा ‘श्रीनिष्पक्ष’ नाउँबाट लेख छपाए । उनले सो साप्ताहिकमा नियमित तेह्र वर्षसम्म लेख लेखेका थिए । उनका लेखहरू सम्पादक होमनाथ दाहालका हातमा पुर्याउने जिम्मा उनका भाइ नरेन्द्रराज प्रसाईको पनि हुन्थ्यो । बेलाबेला सीन (सीके, नरेन्द्र) दाजुभाइ सँगसँगै पनि ‘राष्ट्रपुकार’को कार्यालय धोबीधारा पुग्थे । पुरुषोत्तम दाहालका अनुसार भन्ने हो भने पछिपछि पनि उनले त्यसै पत्रिकामा २०४६ सालसम्म घरीघरी लेख लेखेका थिए । राजनीति र समाजवादबारे उनले केही पुस्तक पनि लेखे । लेखन उनको रुचिको विषय थियो । खास गरेर उनी पत्रलेखनमा खुबै चाख दिन्थे । उनका प्रकाशित कृति हुन्— ‘आजको सरल राजनीति’, ‘व्यावहारिक राजनीतिको प्रारम्भिक रूपरेखा’ र ‘मन जे मान्यो सत्य हुन्’ । प्रा. हेरोल्ड लास्कीद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो: समाजवादको आधारशिला’ नामक चर्चित कृति उनैले नेपाली भाषामा अनुवाद गरेका थिए । उनी नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाका नै विद्वान् थिए । साथै उनले ‘विद्यामणि’ (सामयिक) र ‘तरुण’ (पाक्षिक) को पनि सम्पादन गरेका थिए ।
सीके प्रसाईलाई नेपाल र नेपालीप्रति औधी माया थियो । नेपालमा बहुदल आउनुपूर्व अथवा २०४६ सालअघि प्रजातन्त्र जान्ने, सुन्ने र बुझ्ने अभिप्रायले उनी देशका प्रायः सम्पूर्ण भूभाग घुमेका थिए । अनि उनले तीबारे पनि आफ्नो सग्लो मत राख्तै जान थालेका थिए ।
बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई घरीघरी झापा गई बस्थे । त्यहाँ पुगेपछि उनीहरू प्रायः सीके प्रसाई या उनका दाजु रामबाबुका घरमा मात्रै बास बस्थे ।
सीके प्रसाईका मन पर्ने व्यक्तित्वमा बडाकाजी मरीचिमान, सुबेदार बमप्रसाद, इतिहास शिरोमणि बाबुराम आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, शङ्करदेव पन्त, पारिजात, चन्द्रमान मास्के, सुब्बा हितमान शेरचन, कार्ल मार्क्स र होची मिन्ह थिए ।
सीके प्रसाई जुनसुकै राजनीतिक विचारका धनीलाई पनि गुराँसको माला पहिराइदिन्थे तर उनका आदर्श पुरुष विश्वेश्वरप्रसाद कोइराला थिए । उनी बारम्बार बीपी कोइरालाको बयान गर्थे । पञ्चायती व्यवस्थामा पनि उनले आफ्नो घरमा कोइरालाको फोटो टाँसेका थिए । त्यति बेला आफ्ना घरमा बीपीको फोटो सजाउने सिद्धान्तकार बिरलै थिए । २०४६ सालमा बहुदल आएपछि मात्रै अधिकतम कांग्रेसले आ–आफ्ना घरमा बीपी कोइरालाको फोटो टाँस्न थालेका थिए । साथै उनी गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई पनि अति नै श्रद्धा गर्थे ।
बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई घरीघरी झापा गई बस्थे । त्यहाँ पुगेपछि उनीहरू प्रायः सीके प्रसाई या उनका दाजु रामबाबुका घरमा मात्रै बास बस्थे । बीपी कोइराला सीके प्रसाईका घरमा गएका बेला कोइराला कुर्सीमा बस्थे र सीकेचाहिँ कुर्सीको ठिकअगाडि पलेटी कसेर भुइँमा बस्थे । सीके प्रसाईले बीपीलाई देशकै एउटा बलियो खम्बा मान्थे । उनी कोइरालाका साह्रै आज्ञाकारी थिए ।
२०३६ सालको राष्ट्रिय जनमत सङ्ग्रहताका पनि बीपी कोइराला झापा गएका थिए । झापामा कोइरालाको स्टेसन खनुपरुदे ‘रामबाबु’ र सीके प्रसाई ‘भरतबाबु’को घर नै थियो । त्यस बेला कोइराला सीके प्रसाईका घरमा बसेका थिए । त्यति खेरको एउटा सानो बेहोरा एक दिन सीके प्रसाईले नरेन्द्रराज प्रसाईलाई सुनाएका थिए— ‘बीपी कोइराला सधैँझैँ भोलिपल्ट पनि बिहानै पाँच बजे ओछ्यानबाट उठे । अनि कोइरालाले सीके प्रसाईकी धर्मपत्नी गिरिराजकुमारीलाई आफ्नोछेउमा बोलाए । त्यतिखेर कोइरालाले आफ्नो सुटकेस खोल्न उनलाई अनुरोध गरे । गिरिराजकुमारीले बीपी कोइरालाको सुटकेस खोलिन् । त्यसपछि कोइराला बोले— ‘त्यो बट्टा निकाल त ज्ञानु !’ अनि त्यो बट्टालाई हातमा लिँदै कोइराला फेरि बोले— ‘यो के हो थाहा छ ज्ञानु ? यो दारी काट्ने मेसिन हो । यो मेसिन राजा वीरेन्द्रले हालै विदेशबाट मलाई उपहार ल्याइबक्सेको रहेछ । यो मेसिन सरकारबाट यहाँलाई बक्सेको हो भनेर रानी ऐश्वर्यले मुसुमुसु हाँस्तै मलाई बक्सेको थियो ।’ गिरिराजकुमारीलाई राजारानीको त्यो प्रसङ्ग बताएका बेला बीपी कोइरालाका अनुहारमा देखिएको खुसीको रौनक नै बिर्सिनसक्नुको थियो ।
बीपी कोइरालाको सीके प्रसाई परिवारउपर बिछट्टै प्रेम, विश्वास र आदर थियो । देहान्तको केही महिनाअघि मात्र कोइरालाले सीकेका छोरा विवेककेसरी प्रसाईका शिरमा हात राखेर ‘बाबुजस्तो भएस्’ भनेका थिए । त्यस दिन सीकेदम्पतीका नै आँखा रसाएका थिए ।
सीके प्रसाईका लागि बीपी कोइरालाले बोलेको कुरा कानुन हुन्थ्यो । त्यही धारमा प्रसाईले धेरै लेख पनि लेखे । प्रसाईको बोल्ने क्षमता र कलमको निब बराबरी थियो । उनी चिन्तनका कुबेर थिए भने कांग्रेस पार्टीका चाहिँ बौद्धिक जगत्गुरु अथवा भनौँ शङ्कराचार्य नै थिए । अनि उनी सिद्धान्तका लखपति थिए ।
युरिक एसिडका कारण दुइटै खुट्टा र दुइटै हात नचलेर सीके प्रसाई थला परे । उनी आफू अस्वस्थ भएपछि उनले भनेका थिए, ‘मदन भण्डारीको दुर्घटना भएकै दिनदेखि मेरा हातखुट्टा चल्न बन्द भए ।’
थुप्रै कांग्रेस पञ्चायतमा छिरे । तर सीके प्रसाई आफ्नो सिद्धान्त जोगाउन अटल रहे, भूमिगत भए, प्रवास लागे र जेल गए । उनले आफूले पालेको हात्ती, घोडा, मोटर, घरजग्गा र रुपियाँपैसाका साथै विराट् पुस्तकालय पनि सरकारलाई हरण गराए । २०१७ सालमा आफ्नो सर्वस्व हुँदा पनि उनले आफ्नो सिद्धान्तलाई शिरमै राखिरहे । तर उनी सरकारसामु कहिले खुम्चेनन् ।
युरिक एसिडका कारण दुइटै खुट्टा र दुइटै हात नचलेर सीके प्रसाई थला परे । उनी आफू अस्वस्थ भएपछि उनले भनेका थिए, ‘मदन भण्डारीको दुर्घटना भएकै दिनदेखि मेरा हातखुट्टा चल्न बन्द भए ।’ मदन भण्डारीको विषयमा सीके प्रसाईले थुप्रैलाई थुप्रै पाठ पनि पढाए । वास्तवमा सीके प्रसाई राष्ट्रवादी दृष्टिकोणको गीत गाउने सक्षम गायक पनि थिए । उनलाई अधिक मन परेका कम्युनिस्ट नेताचाहिँ पुष्पलाल थिए । साथै वामपन्थी बुद्धिजीवीमध्ये उनी मोदनाथ प्रश्रितलाई मन पराउँथे ।

सीके प्रसाई एउटा आदर्शका प्रतीक थिए । उनी अति संवेदनशील पनि थिए । उनी सानो कुरामा पनि चित्त दुखाएर बस्थे । एक दिन उनले भाइ नरेन्द्रराज प्रसाईसित गुनासो गरेका थिए, ‘समाजलाई मैले सदा ठगेँजस्तो मात्र लाग्छ । मैले समाजबाट लिएँ मात्र, कानाकौडी तिर्न सकिनँ ।’ तर सीके प्रसाईले नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि धेरै दिएका थिए । त्यसैले २०१८ सालमा जफत भएको उनको जग्गाजमिन २०४६ सालमा बहुदल भित्रिएपछि सरकारले उनैलाई ससम्मान फिर्ता गरेको थियो ।
सीके प्रसाई २०४६ सालदेखि क्रमशः थला परेर हिँड्न सक्तैनथे । त्यसैले उनलाई भेट्न उनको डेरा ललितपुरको कुमारीपाटीमा मान्छेहरू पुग्थे । खास गरेर कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको समयमा एकै दिन पनि सीके प्रसाईलाई एक्लो भेट्न सकिँदैनथ्यो । किनभने त्यस घडी प्रधानमन्त्री भट्टराई र गणेशमान सिंह एउटै मोटर चढेर हरेक शनिबार प्रायः दिउँसो २ बजे उनको डेरा पुग्ने गर्थे । दुवैजना सँगसँगै हिँडेका बेला उनीहरू सरकारी मोटर चढ्दैनथे, निजी नम्बर भएको मात्र मोटर चढ्थे । त्यस बेला उनको डेरामा मान्छेको मेला लाग्थ्यो । तर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि ती सबै चाकरीदार एकैचोटि उनीबाट अलप भएका थिए । अनि चाकरीबाजको भिड निख्रेपछि सीके प्रसाईका डेरामा सिद्धान्तकार मात्र भेला हुने गर्थे । त्यसै समयमा सीके प्रसाईले भनेका थिए, ‘नेपालीको प्रवृत्ति नै नाटकीय छ । यो नेपाल कसरी सप्रेला र !’
सीके प्रसाई र गिरिजाप्रसाद कोइरालाको सम्बन्ध साह्रै राम्रो थियो । २०३६ सालपछि कोइरालासँग उनको मनमुटाव सुरु भएको थियो । त्यस बेला कोइरालाले झापामा गएर सीके प्रसाईलाई भनेका थिए— ‘पञ्चहरूलाई पनि कांग्रेसको सदस्य बनाउँदै लानुपर्छ ।’ तर प्रसाईले कोइरालाको कुरामा प्रतिकार गरेर झापा जिल्लाको कांग्रेस सभापतिको पदबाट नै राजीनामा दिएका थिए ।
निधनको सूचना पाउनेबित्तिकै कोइरालाले सीके प्रसाईकी अर्धाङ्गिनी गिरिराजकुमारीलाई टेलिफोन गरेर भनेका थिए— ‘म नआई सीकेको लास नउठाउनु ।’
सीके प्रसाईले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई तपस्वी नेता मान्थे । एकपटक सीके प्रसाईले गिरिजाप्रसाद कोइरालाको भण्डाफोर गरेर आफ्ना नेता भट्टराईलाई २०४१ वैशाख २६ गते एउटा नितान्त गोप्य चिठी लेखेका थिए, तर भट्टराईले भने त्यो चिठी सरासर लगेर गिरिजाप्रसाद कोइरालालाई नै पढ्न दिएका थिए र ‘यो कुरा कतै बाहिर नजाओस् है गिरिजाबाबु’ भनेका थिए । त्यसपछि कोइरालाचाहिँ सीके प्रसाईसँग आगो भए र उनले जीवनभर सीकेलाई खेदी मात्र रहे ।
२०५० फागुन ८ गते फागुन ८ गते बेलुका ५ बजेको कुरा हो, सीके प्रसाईसित मन्त्री महेश्वरप्रसाद सिंहको टेलिफोन संवाद भएको थियो । त्यसै बेला सिंहले भनेका थिए— ‘विधिवत् रूपमा नै काङ्ग्रेस फुट्ने भयो ।’ त्यसपछि सीकेको मुटुको चाल बन्द भयो । विश्व परिवेश बुझेका र नेपाली राजनीतिका प्रखर चिन्तक सीके प्रसाईको स्वर्गारोहण नेपाली काङ्ग्रेसभित्रै मात्र पक्षाघात भएको होइन नेपाल राष्ट्रका लागि नै ठुलो क्षति थियो ।
सीके प्रसाईको स्वर्गारोहण भएका बेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । निधनको सूचना पाउनेबित्तिकै कोइरालाले सीके प्रसाईकी अर्धाङ्गिनी गिरिराजकुमारीलाई टेलिफोन गरेर भनेका थिए— ‘म नआई सीकेको लास नउठाउनु ।’ प्रधानमन्त्री कोइराला खनुपरुदे रामबाबुलाई लिएर भोलिपल्टै झापा पुगेका थिए । उनले सीके प्रसाईको मुख हेरेपछि मात्र उनको भौतिक चोला उठाइएको थियो । त्यस घडी पूर्वप्रधानमन्त्री भट्टराई भने स्वास्थ्यका कारण झापा जान सकेका थिएनन् ।
सीके प्रसाईको अभावमा नेपाली कांग्रेसले गिरिराजकुमारी प्रसाईलाई माथिल्लो सदनको माननीय सांसद पद प्रदान गरेको थियो । तर उनले त्यस पदलाई स्विकारिनन् । उनले भनेकी थिइन्— ‘म पदमा बसेर सेवा गर्दिनँ, बाहिरै बसेर राष्ट्रको सेवा गर्छु ।’ उनी पनि सादा जीवन र उच्च विचारकी कुबेर थिइन् । १९८८ कात्तिक १७ ललितपुरको कुमारीपाटीमा जन्मेकी उनी २०७७ चैत १० गते झापामा स्वर्गीय भइन् ।
सीके प्रसाईको निधनमा नेपाली कांग्रेसले ठुलो र निकै ठुलो नै शोक मनायो । कांग्रेसले मात्र होइन विभिन्न बौद्धिक व्यक्तित्वहरूले पनि उनको निधनमा गहिरो दुःख माने । तर उनलाई बाँचुन्जेल उनकै नेता र कार्यकर्ताले डाा, ईष्र्या र छल मात्र गरिरहे । धेरैले उनको मन दुखाए, अपमान गरे र पीडा दिए । अन्ततः भरतराज पन्तको कविता बोलेझैँ निष्कर्ष निस्क्यो—
‘फूलमाला सजाएर सिँगारे पनि के भयो,
लाठी मुङ्ग्री बजारेर बिगारे पनि के भयो ।
पञ्चामृत चढाएर फुर्क्याए पनि के भयो !
कुनै कुकुर आएर तुर्क्याए पनि के भयो ?’
०००
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण