शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

ब्रान्ड र ब्रान्डिङको अवधारणा के हो ?

‘लोक खाना र परम्परागत वस्तुहरूलाई ब्रान्डिङ गर्न सकेको भए हाम्रो अर्थतन्त्र नै उठ्ने थियो’
शनिबार, १४ भदौ २०८२, १९ : ००
शनिबार, १४ भदौ २०८२

सारांश

  • उत्पादनको ब्रान्डिङ र ब्रान्ड कन्ससको बढ्दो अभ्यास नेपालमा पनि देखिन थालेको छ।
  • ब्रान्डिङको अवधारणा र महत्त्वबारे डा. रमेश पौडेलसँगको कुराकानी प्रस्तुत गरिएको छ।
  • गुणस्तरीयता कायम गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने आवश्यकता औंल्याइएको छ।

पछिल्लो समय हामीकहाँ पनि आफ्नो उत्पादनको ब्रान्डिङ गर्ने, ब्रान्डेड सामान प्रयोग गर्ने, ‘ब्रान्ड कन्सस’ हुने जस्ता अभ्यास बढेको देखिन्छ ।

‘ब्रान्ड’ वा ‘ब्रान्डिङ’को ‘कन्सेप्ट’ (अवधारणा) र ‘कन्टेक्स्ट’ (सन्दर्भ), ‘ब्रान्ड भ्यालु’ आदिबारे हामीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेश पौडलसँग संवाद गरेका छौँ । 

  • सामानको ब्रान्ड बनाउने र ब्रान्डिङ गर्ने कन्सेप्ट (अवधारणा) र कन्टेक्स्ट (सन्दर्भ) बारे थोरै चर्चा गरौँ सुरुमा... ।

इतिहास हेर्दा १५औँ शताब्दीबाट, खासगरी उत्तरी युरोप (स्कानडेभियन देशहरू) मा वस्तुको ‘ब्रान्ड’ र ‘ब्रान्डिङ’को कन्सेप्टमा कम्पनीहरू गए र १९औँ शताब्दीबाट यसको व्यापकता बढ्दै गयो । औद्योगिक क्रान्तिपछि उत्पादनमा प्रतिस्पर्धा बढेसँगै ब्रान्डको व्यापकता पनि बढ्दै गयो । आफ्नो ब्रान्डलाई कम्पनीहरूले कुनै खालको एउटा लोगो, आइकन अथवा कुनै पनि शब्दहरूको सङ्केतलाई (रजिस्टर्ड ट्रेडमार्कका रूपमा प्रयोग गर्दै) ‘ब्रान्ड’का रूपमा विकास गर्न थाले । आफ्ना सबै उत्पादनमा नामसँगै त्यो ट्रेडमार्कलाई कुनै लोगो वा सङ्केतका रूपमा राख्न थाले । उदाहरणका लागि : टोयोटाका गाडीहरू हेर्नुभयो भने प्राडोमा पनि त्यही, कोरोलामा पनि त्यही लोगो हुन्छ, यसका सबै गाडीहरूमा यो लोगो छ नै । अहिले गाडी लगायत महङ्गा वस्तुले यो अभ्यास व्यापक रूपमा गरेका छन् र यो क्रम फस्टाउँदो छ । कपडा, खाद्य पदार्थ लगायत सबै वस्तु र अहिले त कतिपय सेवाहरूमा समेत ब्रान्डको अवधारणामा जाने क्रम बढ्दो छ । 

बजारको प्रकृति फराकिलो बनेसँगै फलानो कम्पनीले उत्पादन गरेको भनेर चिनियो भने त्यो वस्तुको बजार लामो समयसम्म जाने भयो, त्यसैले वस्तुमा नाम र लोगोको कुरा आयो, जसलाई हामी ब्रान्ड भन्छौँ, त्यो मूलतः कम्पनीको नाम र लोगोसँग सम्बन्धित हुन्छ, त्यसैले नै कम्पनीको वस्तुलाई उपभोक्ताले चिन्छन् । अनि आफ्नो ब्रान्डलाई प्रचार गर्ने कुरा ब्रान्डिङ भयो । 

खासगरी युरोपमा वस्तुको बजारका लागि प्रतिस्पर्धा बढी भए । आफ्ना उत्पादनलाई अरूको भन्दा गुणस्तरीय र राम्रो कसरी बनाउने भनी प्रतिस्पर्धा चल्थ्यो । ब्रान्डिङ गर्ने सन्दर्भमा वस्तु निर्माणको प्रक्रिया राम्रो हुनुपर्छ, ताकि वस्तु गुणस्तरीय र विश्वसनीय होस् । धमिलो पानीमा माछा मार्नेहरूका लागि त यो बनेकै होइन । अनौपचारिक अर्थतन्त्रमा आधारित व्यापारका लागि पनि यो होइन ।

त्यस्तै, चोरी मार्केटमा पनि ब्रान्डको मतलब छैन । आज बनायो, दुई–चार वर्ष बेच्यो, भोलि कहाँ पुग्छ, त्यसको गुडविल (ख्याति) पनि हुँदैन, ब्रान्ड पनि हुँदैन । सामान्यतः ब्रान्ड स्थापित हुनु भनेको ‘क्वालिटी कन्सिस्टेन्सी’ (गुणस्तरको निरन्तरता) को कुरा हो । ब्रान्डेड सामान किन्ने व्यक्ति वा उपभोक्ताले भोलि गुनासो गर्ने ठाउँ हुन्छ । कतिपय सन्दर्भमा वस्तु बिक्रीपछि पनि विभिन्न सेवाको आवश्यक हुन्छ, जस्तै ५० हजारमा रेफ्रिजेरेटर किनियो, ब्रान्ड छैन भने ६ महिनापछि बिग्रियो भने कहाँ सम्पर्क गरेर बनाउने ? बिना ब्रान्डको सामान किन्दा गुणस्तरीय परेन भने भोलि कसलाई भन्ने ? अहिले त ब्रान्ड नै उत्पादक र उपभोक्तालाई नजिक्याउने र चिनाउने माध्यम बनेका छन् । हामीले प्रयोग गर्ने लगभग सबै चिजको उत्पादक चिन्दैनौ, केवल ब्रान्ड चिन्छाँै ।

  • नेपालमा आफ्नो उत्पादनको ब्रान्ड बनाउने वा ब्रान्डिङ गर्ने अभ्यास कस्तो देख्नुहुन्छ ?

तुलनात्मक ढंगले हेर्दा युरोपभन्दा अहिले पनि हामी २०० वर्ष पछाडि छौँ जस्तो लाग्छ । इन्डस्ट्रियल रिभोलुसन भइसकेपछि युरोपतिर आफ्नो वस्तुलाई ब्रान्डिङ गर्ने अभ्यास व्यापक भयो । उत्पादन वा वस्तुलाई ब्रान्डिङ गर्न विज्ञापन लगायत हर्कत गरिन्छ । नेपालमा पनि सञ्चारका माध्यम भएपछि विज्ञापन गर्ने गरेका छौँ तर छिटपुटबाहेक ब्रान्डिङ अवधारणामा जान समस्या देखिएका छन् । अहिले पनि टेलिभिजन लगायत मिडियामा हेर्ने हो भने विदेशी वस्तुकै बढी विज्ञापन देखिन्छ । ब्रान्डिङमा प्रक्रियागत र गुणस्तरको निरन्तरता जस्ता कुराले समस्या ल्याएका छन् तर ब्रान्डिङको अवधारणा बढ्दो छ, उपभोक्ताहरूमा पनि यस तर्फको सजगता बढेको देखिन्छ । उत्पादकले आफ्नो ब्रान्डलाई स्थापित गराउने कुरामा अलि बढी प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ ।  

हामीले युनिभर्सिटी एजुकेसनमा ब्रान्ड र ब्रान्डिङ विषयलाई नै प्रमुख विषय बनाएर अध्यापन गराउन सकेका छैनौँ । बजारशास्त्र (मार्केटिङ) भित्रको एउटा सानो च्याप्टरका रूपमा ब्रान्ड र ब्रान्डिङलाई लिइएको मैले पाएको छु । यो बृहत् विषयलाई बृहत रूपमै पढाइ हुनुपर्ने हो ।

हामीजस्तो अर्धविकसित, अल्पविकसित वा विकासशील कतिपय देशमा यो अवधारणा सुरु नै भएको छैन भन्दा पनि हुन्छ, व्यावहारिक रूपमा । सन् १९६० को दशकबाट हामीकहाँ ब्रान्डको अभ्यास सुरुवात भएको मान्न सकिन्छ । खासगरी चुरोट, चाउचाउ, टेलरिङ, कपडा लगायतमा ब्रान्डिङको अभ्यास मात्र भए । त्यसतर्फ हामीले थप काम गर्नुपर्नेछ । पछिल्लो समय केही कपडा, चिया, केही मसला र खाद्यान्नका आइटम पनि आफ्नै ब्रान्डबाट अन्तर्राष्ट्रिय बजारमा गएको देखिएको छ ।

यसमा ‘क्वालिटी कन्सिस्टेन्सी’ को कुरा आउँछ । गुणस्तरीय सामान मात्रै बजारमा पठाउन सकियो भने त्यो सामानको ब्रान्डिङ हुने हो । 

हामीकहाँ परम्परागत उत्पादन प्रशस्त छन् तर तिनलाई ब्रान्डिङ गर्ने अभ्यास त्यति भएन । त्यसले हाम्रो अर्थतन्त्रले अन्तर्राष्ट्रिय बजारबाट जुन खालको प्रतिस्पर्धात्मक लाभ लिनुपर्ने हो, त्यस्तो हुन सकेको छैन, बरु नेपाली बजारमा पनि त्यस्ता वस्तुलाई विस्थापित गर्ने हो कि भन्ने डर मान्नुपर्ने अवस्था छ । यसलाई सुधार्नुपर्नेछ ।

  • ‘ब्रान्ड भ्यालु’ भनेर जेलाई भनिन्छ, यसमा मूल्य (कति पर्ने) र मान्यता (ब्रान्डमाथिको ग्राहकको विश्वास) को पनि कुरा आउला; वास्तवमा ब्रान्ड भ्यालु भनेको के हो ?

ब्रान्ड भ्यालु भनेको मूलतः एउटा उपभोक्ताले कुनै एउटा वस्तु वा उत्पादनप्रति देखाएको विश्वास हो । त्यो विश्वास त्यसै आउँदैन । वस्तुको निरन्तरको गुणस्तरले विश्वास ल्याउने हो, अन्ततः त्यो विश्वास नै ब्रान्ड भ्यालु बन्ने हो । त्यो विश्वासका आधारले उत्पादकको गुडविल बढ्छ । गुडविल बढ्नु भनेको अन्ततः वस्तुको मूल्य पनि बढ्नु हो । किनभने गुणस्तरीय वस्तु उत्पादन गर्न लागत बढी लाग्छ नै, त्यसैले सामानको मूल्य पनि बढ्ने नै भयो । मूल्य बढी भए पनि ब्रान्डको गुडविलले गर्दा मानिसले सामान किनेका हुन्छन् । 

पुस्तककै कुरा गरौँ, न्युयोर्कमा छापिएको बुक र दिल्लीमा छापिएको वा काठमाडौँमा छापिएको बुकको मूल्य त एउटै पर्दैन । यसमा सिटीको ब्रान्डले पनि काम गर्छ । त्यसैले मूल्यमा फरक पर्छ । प्रकाशन गर्ने प्रक्रिया, प्रकाशित ज्ञानको विश्वासनियता, छपाई र कागजको गुणस्तर, प्याकेजीङ्ग र कलरको सँयोजन जस्ता कुरा पनि यसका लागि निर्णायक बन्दछन् ।  

  • पछिल्लो समय हामीकहाँ ‘ब्रान्ड कन्सस’ (ब्रान्ड सचेत) भन्ने गरेको सुनिन्छ । खासगरी आफैँ कमाउने युवाहरू, उच्च वर्गहरू र कलाकारहरूले ‘ब्रान्ड’ र ‘ब्रान्डिङ’को चर्चा गरेको सुनिन्छ, वा अभ्यास गरेको देखिन्छ । वास्तवमा मान्छे ब्रान्ड कन्सस किन हुन्छ ? यसमा कस्तो मनोविज्ञानले काम गरेको हुन्छ ?

ब्रान्ड कन्ससलाई दुवै पक्षबाट हेर्नुपर्छ— उपभोक्ताको पक्षबाट र उत्पादक वा कम्पनीको पक्षबाट ।  

जस्तो : गुणस्तरीय लुगाका लागि उपभोक्ता ‘ब्रान्ड कन्सस’ हुन सक्छन् । चलेको कुनै ब्रान्डको लुगा किन्दा रङ गएन, उध्रिएन वा फाटेन, बटन वा जिपर बिग्रेन भने कुनै व्यक्ति ब्रान्ड कन्सस हुन पुग्छ, महँगैमा तर राम्रै किनौँ भन्ने हुन्छ । ब्रान्डेड सामान किनेपछि ठगिनुपर्दैन भन्ने पनि हुन्छ, भलै मूल्य थोरै महङ्गो परोस्, त्यसले एक खालको सन्तुष्टि दिन्छ, पिस अफ माइन्ड नै भनौँ न । 

ramesh poudel (1)

यस्तै उत्पादन गर्ने कम्पनीहरू पनि आफूलाई ब्रान्ड बनाउन वा आफ्ना उत्पादनलाई ब्रान्डिङ गर्न कन्सस हुन सक्छन् । यसमा मनोविज्ञान यही हो कि उपभोक्ताले गुणस्तरीय सामान उपभोग गर्न चाहन्छ, उत्पादकले पनि उपभोक्ताको विश्वास जित्दै आफ्नो सामानलाई ब्रान्डिङ गर्न चाहन्छ, जसबाट आफ्नो बजार बिस्तार र दीर्घकालसम्म कायम हुन सकोस् । 

सन् १९९० देखि खासगरी बहुदल आएदेखि हामी बाहिरी दुनियाँसँग बढी घुलमिल हुन थाल्यौँ । अध्ययन, रोजगारी लगायत अवसर खोज्दै मानिस विभिन्न देश जान थाले; विदेशमा नन–ब्रान्डेड सामान नबिक्ने, ब्रान्डेड मात्रै बिक्ने गरेको देख्न थाल्यौँ; ब्रान्ड र ब्रान्डिङको महत्त्व र फाइदा बुझ्न थालियो, त्यसपछि नै ब्रान्ड वा ब्रान्डिङको अवधारणामाथि हामीकहाँ चर्चा हुन थालेको हो । 

हामीले बाहिरी दुनियाँ देख्यौँ, त्यसबाट बढी नै प्रभावित भयौँ तर आफ््ना उत्पादनलाई ब्रान्डिङ गर्नमा त्यति ध्यान दिएनौँ । त्यसका लागि राज्य र सरकारी संयन्त्र पनि संवेदनशील बन्नुपर्थ्यो, त्यसो गरेको भए हामीले हाम्रा थुप्रै स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सक्थ्यौँ । अर्थात् सरकार वा राज्यको नीति पनि त्यस्तो खालको भएन । जसले गर्दा बाहिरका ब्रान्डेड वस्तु नेपालमा छ्यापछ्याप्ती भेटिन थाले तर हाम्रा वस्तु अन्तर्राष्ट्रिय बजारमा जान र बजारमा अस्तित्व जमाउन अलि गाह्रो भइरहेको छ । 

हामीले पाल्पाको करुवालाई ब्रान्डिङ गरौँ र बौद्धिक सम्पत्तिका रूपमा दर्ता गरौँ, अर्कोले त्यो करुवा बनाउन नसकोस्, तर उपभोग गर्न सकोस्, वा उत्पादन नै गरे पनि पाल्पाली करुवाको एउटा पहिचान र भ्यालु रहिरहोस् । त्यस्तै भोजपुरको खुकुरीलाई पनि हामीले त्यसै हिसाबले ब्रान्डिङ गरौँ ।
  • केही वर्षअघि मलाई एउटी साथीले युरोपबाट एक जोर लुगा पठाइदिएकी थिइन् । त्यो लुगा बङ्गलादेशमा बनेको रहेछ । मैले झट्ट भनेँ— तिमीले युरोपबाट पनि बङ्गलादेशको लुगा पठाइदियौ । उनले भनिन्— ‘रङ गयो, वा कुनै समस्या आयो भने भन, त्यसको ग्यारेन्टी छ ।’ त्यो लुगामा कुनै लोगो वा नाम थिएन । मैले सोध्न खोजेको यसरी देश वा ठाउँबाट पनि ब्रान्ड बन्न सक्छ ? 

हो, यसरी पनि ब्रान्डजस्तै हुन सक्छ । कुनै देशको उत्पादनले अर्को देशका उपभोक्ताको विश्वास जित्न सक्नुपर्‍यो । उत्पादन लागत महँगो हुनु भएन तर सामान गुणस्तरीय हुनुपर्‍यो । टेक्नोलोजी अपडेट गरेर ठुलो स्केलमा सामान उत्पादन गर्नुपर्‍यो । सस्तो, राम्रो र विश्वसनीय भयो भने उपभोक्ताले सामान किन्न सक्छन् । उत्पादकले पनि सुरुसुरुमा लोगोबिनै बजारमा आफ्ना उत्पादन लैजान सक्छन् । यद्यपि सामानमा लोगो राखेर ब्रान्डिङ गर्दा राम्रो हुन्छ । किनभने जवाफदेही को हुने वा गुडविलको हकदार कुन कम्पनी हुने भन्ने प्रश्न रहन्छ । 

  • नेपालमा हुने उत्पादनलाई ब्रान्डिङ गरेर विश्वबजार लिन सक्ने सम्भावना के–कति छन् ? विशेषतः हाम्रो लोकखाना, चिया, हस्तकला, परम्परागत वा जातीय उत्पादनको हकमा... ।

सम्भावना छ । मैले अघि नै भनेँ, सर्वप्रथम त ‘क्वालिटी कन्सिस्टेन्सी’कै कुरा आउँछ । त्यसपछि प्रविधिको प्रयोग गरी बढी मात्रामा उत्पादन गरेर मूल्य पनि उचित हुनुपर्‍यो । हाम्रो क्वालिटी युरोपियन स्ट्यान्डर्डमा भयो र युरोपियनहरूले आफ्नो स्थानीय बजारमा पाइनेभन्दा १० प्रतिशत सस्तोमा हाम्रो सामान पाए भने किनिहाल्छन् । 

गुणस्तरमा ध्यान दिएर सामानको ब्रान्डिङ गर्‍यौँ भने विश्व बजार लिन समस्या छैन । लोक खाना र परम्परागत वस्तुहरूलाई हामीले ब्रान्डिङ गर्न सकेको भए हाम्रो अर्थतन्त्र नै उठ्ने थियो । कोदोको रक्सी, दाङमा बन्ने मौवाको रक्सी, कीर्तिपुरको छ्याङलाई पनि हामीले ब्रान्डिङ गर्न सक्थ्यौँ । यद्यपि पछिल्लो समय यस्ता अभ्यास भइरहेका छन् । 

खद्दरको कपडा थियो हाम्रो, आखिर कटन भनेको के हो र ? त्यो खद्दर कटन नै थियो । यस्तै दाङको ढकिया, नेपालभरि नै उत्पादन गर्न सकिने टपरी आदि छन् । आजभन्दा ३० वर्षअगाडि टपरी, बाँस वा काठका सामान बनाएर देश–विदेशमा बेच्न सकेको भए प्लास्टिकका सामानले यति धेरै बजार लिने थिएन । अर्कोतिर हाम्रा उत्पादन वातावरणमैत्री पनि हुने थिए । 

लुगा, जुत्ता आदिको ब्रान्डिङ गर्न कच्चा पदार्थ कहाँबाट लिने भन्ने पनि हुन्छ । कच्चा पदार्थ पनि आफ्नो भयो भने अझ विश्वसनीय हुन्छ । 

हामीले नेपालको यति हजार उचाइमा उत्पादन भएको अर्गानिक वस्तु भनेर पनि विभिन्न खाद्य सामग्रीलाई ब्रान्डिङ गर्न सक्छौँ । यसका लागि राज्यले नीति लिनुपर्‍यो । 

अहिले नवप्रवर्तन भनेर आफ्ना विभिन्न उत्पादनको ब्रान्डिङका लागि युवाहरू आइरहेका छन् । उनीहरूलाई राज्यले हेर्नुपर्‍यो र सघाउनुपर्‍यो । 

सामानको ब्रान्डिङ गर्दा तत्कालै घाटा होला, केही बढी लागत पनि अवश्य लाग्ला, तर समय लगाएरै ब्रान्डिङ गरियो अर्थात् उपभोक्ताको विश्वास जितियो भने त्यसले दीर्घकालीन रूपमा नाफा दिन्छ । 

  • हामीकहाँ उत्पादनको ब्रान्ड र ब्रान्डिङका सम्बन्धमा पढाइ के कस्तो छ ? वा, छ कि छैन ? 

नेपालमा हामीले युनिभर्सिटी एजुकेसनमा ब्रान्ड र ब्रान्डिङ विषयलाई नै प्रमुख विषय बनाएर अध्यापन गराउन सकेका छैनौँ । बजारशास्त्र (मार्केटिङ) भित्रको एउटा सानो च्याप्टरका रूपमा ब्रान्ड र ब्रान्डिङलाई लिइएको मैले पाएको छु । यो बृहत् विषयलाई बृहत रूपमै पढाइ हुनुपर्ने हो । यी विषयलाई स्कुल अफ बिजनेस एन्ड इकोनोमिक्सका रूपमा काम गर्ने संस्थाहरूले पढाउनुपर्ने हो । 

एउटा ‘नलेज एकेडेमी’ भन्नेले ‘ब्रान्डिङ’ सम्बन्धी तालिम दिँदो रहेछ, विशेषतः मार्केटिङको अवधारणाबाट, त्यो काम हेर्ने अवसर त मलाई जुरेको छैन तर सुरुवात हुनु पनि राम्रो हो । सामान्यतः ब्रान्ड र ब्रान्डिङको कुरा मार्केटिङ, म्यानेजमेन्ट विषयभित्र समेटिन्छ । उद्योग र उत्पादनको कुरा भएकाले यो अन्ततः अर्थशास्त्रभित्र पर्ने नै भयो । 

बौद्धिक सम्पत्तिको कुरा एकातिर छ, अर्कोतिर ब्रान्ड र ब्रान्डिङका नाममा धनी र विकसित देशको ज्ञानलाई अविकसित देशले नक्कल गर्न पाएका छैनन् । आखिर मानव सभ्यता त आफ्नो मौलिक अभ्यास र नक्कलबाटै विकास भएको हो । हिजो ढिकी–जाँतो बनाउन एउटाले जान्यो अर्कोले सिक्यो !  

यो कुरा पनि ठिक हो तर अहिलेको विश्वमा प्रतिस्पर्धा गर्नैपर्छ, त्यो पनि आफ्नो मौलिक उत्पादनबाट । 

हामीले पूर्वीय सभ्यताका धेरै चिज जाँतोदेखि लिएर जडीबुटीका औषधि आदिलाई ब्रान्डिङ गर्न सक्नुपर्थ्यो । 

जस्तो : हामीले पाल्पाको करुवालाई ब्रान्डिङ गरौँ र बौद्धिक सम्पत्तिका रूपमा दर्ता गरौँ, अर्कोले त्यो करुवा बनाउन नसकोस्, तर उपभोग गर्न सकोस्, वा उत्पादन नै गरे पनि पाल्पाली करुवाको एउटा पहिचान र भ्यालु रहिरहोस् । त्यस्तै भोजपुरको खुकुरीलाई पनि हामीले त्यसै हिसाबले ब्रान्डिङ गरौँ, त्यसले गर्दा अरू देशहरूले त्यो खुकुरी चोर्न नसकोस् । हामी ढिलो–चाँडो यो प्रक्रियामा जानैपर्छ । 

सुन्तलाकै कुरा, हामीले हाम्रो सुन्तलालाई यो कारणले अर्गानिक, मिठो, राम्रो भनेर प्रमाणित र स्थापित गर्नुपर्‍यो । अमेरिकामा पाइने सुन्तला र थाइल्यान्डमा पाइने सुन्तलाको बोक्रो त उस्तै–उस्तै देखिन्छ । हामीले हाम्रो विशेषता भन्नुपर्‍यो— कति उचाइमा फलेको, कति अर्गानिक, कस्तो कस्तो गुण भएको आदि भनेर । 

यस्तै जापानमा वा अमेरिकामा उत्पादन हुने बेसारभन्दा हाम्रो बेसार कति फरक छ भनी देखाउनुपर्‍यो । यसरी नै ब्रान्डिङ र बौद्धिक सम्पत्तिको प्रक्रियामा सामेल हुँदै प्रतिस्पर्धी बन्ने हो । 

यस्तै हामीले हिजो ढुङ्गाले घर छाउँथ्यौँ । जस्तापाताभन्दा ढुङ्गा नै राम्रो हो छानाका लागि । ढुङ्गाको छानाले जाडोमा न्यानो र गर्मीमा शीतल हुन्छ तर हामीले त्यसलाई टिनले विस्थापित गर्‍यौँ । भारतले ढुङ्गाभन्दा गरुङ्गो मार्बल बनाएर ठुलो परिणाममा अन्तर्राष्ट्रिय बजारमा पठाएको छ, हामीले पनि हाम्रा घर छाउने ढुङ्गालाई विदेशमा निर्यात गर्न सक्नुपर्थ्यो । वा आफैँले प्रयोग गर्न बिर्सनुहुँदैनथ्यो । समय सुहाउँदो बनाउन त्यसको प्रविधिलाई स्तरोन्नति गरेर गुणस्तर र ठुलो संख्यामा उत्पादन गर्न सकिने बनाउन सकिन्थ्यो, त्यसो गरेको भए अन्तर्राष्ट्रिय बजारमा त्यसको माग पनि निकै बढ्न सक्थ्यो । त्यसो हुँदा पो नेपालमै रोजगार बढ्ने, राष्ट्रिय उत्पादन बढ्ने र देश धनी बन्ने हुन्थ्यो । विदेशी वस्तु उत्पादन या आयात गरेर उपभोग गर्ने पद्धतिले क्षणिक रूपमा जीवनस्तर त सजिलो भइरहेको छ तर यसरी देश र हामी धनी हुँदैनौँ, त्यसका लागि त हामीले हाम्रो वस्तुलाई उन्नत बनाएर उपभोग र निर्यात गर्नुपर्छ । त्यसका लागि ब्रान्डिङको अवधारणा लागु गर्न सक्दा हामीलाई सहज हुन सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप