एमाले विधान महाधिवेशन : कुन उपसमितिले कसरी गर्दैछ तयारी ?
सारांश
- एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारेको छ।
- महाधिवेशनमा २१ सय २५ प्रतिनिधि र २६४ जना आयोजक सहभागी हुनेछन्, स्वास्थ्य डेस्क र स्वयंसेवक परिचालन गरिनेछ।
- महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव पेश गर्नेछन्।
काठमाडौँ । पाँच दिनपछि सुरु हुन गइरहेको ३ दिने दोस्रो विधान महाधिवेशनको तयारीलाई नेकपा एमालेले तीव्र पारेको छ । पार्टीले महाधिवेशन सम्पन्न गर्न आठ वटा उपसमितिहरू गठन गरेर तयारीको काम अगाडि बढाएको हो ।
एमालेले महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य !’ भनेर तय गरेको छ । महाधिवेशनको लोगो केही दिनमा सार्वजनिक गर्ने तयारी गरेको एमालेले अन्य व्यवस्थापकीय पक्षको तयारी पनि अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशन व्यवस्थापनका लागि एमालेले विभिन्न नेताहरूलाई जिम्मेवारी दिएको थियो । जसअनुसार महाधिवेशनका प्रतिनिधिको सङ्ख्या यकिन गर्ने जिम्मा संगठन विभागलाई दिएको थियो । यो विभागले प्रतिनिधिहरूको सङ्ख्या यकिन गरिसकेको जनाएको छ ।
विभागका सचिव माधव ढुंगेलले २१ सय २५ प्रतिनिधि यकिन गरिएको जानकारी दिए । यसबाहेक आयोजक कमिटीका २६४ जना सदस्यहरू महाधिवेशनमा सहभागी हुनेछन् ।

यस्तै महाधिवेशन स्थलमा उक्त समयभर स्वास्थ्य डेस्क रहने छ । प्रतिनिधिहरूको स्वास्थ्य चेक गरेर मात्रै महाधिवेशनमा प्रवेश गराइने छ । स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले पाएका छन् । प्रमुख श्रेष्ठका अनुसार महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सक सहितको स्वास्थ्य जाँच डेस्क राखिने छ । जसमा विशेषज्ञ चिकित्सक समेत रहने छन् ।

महाधिवेशनको स्वयंसेवक परिचालनको जिम्मेवारी पाएका जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले स्वयंसेवकहरू तयारी अवस्थामा रहेको बताए । उनका अनुसार महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन हुनेछन् । स्वयंसेवकको जिम्मा युवा संघ, खेलकुद महासंघ लगायतका जनसंगठनले लिएका छन्
यस्तै सचिवालय र खानाको व्यवस्थापनको जिम्मेवारी पाएका कार्यालय सचिव डा. भीष्म अधिकारीले प्रतिनिधिहरूलाई दिनमा एक छाक बिहानको खानाको व्यवस्था महाधिवेशन स्थलमै गरिने जानकारी दिए ।
कार्यालयको बैठकले यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठको जिम्मा दिएको छ । श्रेष्ठ नेतृत्वको उपसमितिले यातायातका साधनको व्यवस्थासहित महाधिवेशन स्थलसम्म पुग्ने गेटहरूको निर्माण थालिसकेको जनाएको छ ।

महाधिवेशन प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले प्रचार प्रसारको काम तीव्र रूपमा भइरहेको बताए । यस्तै स्वागत नृत्य सहित विविध सांस्कृतिक कार्यक्रमको जिम्मेवारी पाएका केन्द्रीय सदस्य हेमराज राईले महाधिवेशनमा प्रस्तुत हुने विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको बताए ।
महाधिवेशनका प्रतिनिधिले आवासको व्यवस्था आफैँ गर्नुपर्ने छ । आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने छ । यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ ।
महाधिवेशनमा २१ सय २५ जना प्रतिनिधि र २६४ जना आयोजकका रूपमा सहभागी हुनेछन् । २०७८ मा चितवनमा भएको १० औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधिहरूलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ ।
महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागत द्वार राख्न थालेको छ । एमाले प्रचार विभाग राजेन्द्र गौतमका अनुसार बागमती प्रदेश, ललितपुर जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरूका तर्फबाट स्वागत द्वार निर्माणको काम धमाधम गरिरहेका छन् ।
बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित न्युज डेस्क स्थापना गर्ने एमालेले जनाएको छ । मिडियालाई महाधिवेशनको रिपोर्टिङका लागि पासको समेत व्यवस्था गरिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिसँग कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैँले गर्नुपर्ने जनाएको छ । सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको प्रबन्ध पार्टीका विभिन्न कमिटीहरूले गर्नेछन् ।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शङ्कर पोखरेलले सांगठानिक तथा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । त्यसबाहेक विभिन्न आयोगहरूले पनि आ–आफ्नो प्रतिवेदन पेस गर्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तीको आक्रमणमा आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण