शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुसेला काव्यशालामा नारायण ढकालका कविता र गीत प्रस्तुत

सोमबार, १६ भदौ २०८२, २२ : ४०
सोमबार, १६ भदौ २०८२

सारांश

  • सुसेला काव्यशालामा लेखक नारायण ढकालका कविता र गीत प्रस्तुत गरिएको थियो।
  • कार्यक्रममा ढकालका १० वटा कविता र सुसेला ब्यान्डले चारवटा गीत प्रस्तुत गरे।
  • ढकालले नयाँ राजनीतिक अभियानको खाँचो औंल्याउँदै आफू पनि जुलुसमा सहभागी हुने बताए।

काठमाडौँ । सुसेला काव्यशालाको छैटौँ शृङ्खलामा लेखक नारायण ढकालका कविता र गीत प्रस्तुत गरिएको छ। सुसेला संगीत समूहको आयोजनामा काठमाडौँको शंखमूलस्थित उजामा क्याफेमा शनिबार ढकालका कवितासहित साङ्गीतिक प्रस्तुति गरिएको हो।

कार्यक्रममा ढकालका १० वटा कविताका साथै सुसेला ब्यान्डले चारवटा गीत प्रस्तुत गरेको थियो। ती गीतमध्ये गायक गोकुल जोशीसँग सम्बन्धित, ढकालले करिब चार दशकअघि लेखेको गीत पनि समावेश गरिएको थियो। सुसेलाले हामी कोही होइनौं, ओ बागमती खोली र वी शल ओभरकम जस्ता गीतहरू गाएको थियो।

साहित्य, पत्रकारिता, राजनीति र समाजसेवामा पाँच दशकभन्दा लामो योगदान दिएका ढकालका दुर्भिक्ष, प्रेत संवाद, इरफान अली, वृषभबध, शोकमग्न यात्री, हजार माइलको बाटो, पीत संवाद, अन्तिम पात लगायतका कृतिहरू प्रकाशित छन्।

कार्यक्रममा कविता बाचन गर्दै ढकालले नेपालमा नयाँ राजनीतिक अभियानको खाँचो रहेको उल्लेख गर्दै भने, ‘अब हुने त्यस्तो राजनीतिक अभियानमा नारायण ढकाल पनि जुलुसको सबैभन्दा पछि आइपुग्नेछ।” उनले सुसेलाको अभियान र कार्यक्रमको प्रशंसा पनि गरे।

कवि तथा लेखक खगेन्द्र सङ्ग्रौला, नाटककार शार्दूल भट्टराई, वरिष्ठ अर्थशास्त्री हरि रोका, वरिष्ठ पत्रकार तुल्सीदास महर्जन, बौद्धिक कुमार उपाध्याय, पत्रकार नारायण अमृत, कवि विनोदबिक्रम केसीलगायतको उपस्थिति रहेको थियो।

सुसेलाले २०७९ सालमा कवि विनोदबिक्रम केसीको एकल कविता कन्सर्टबाट काव्यशाला सुरु गरेको हो। संस्थाले अबदेखि हरेक महिनाको पहिलो शनिबार काव्यशाला नियमित गर्ने जनाएको छ। साथै आउँदो कात्तिकदेखि छ महिनासम्म सातै प्रदेशका विभिन्न सहरमा सांस्कृतिक अभियान सञ्चालन गर्ने योजना रहेको सुसेला ब्यान्डका निर्देशक तथा कवि सङ्गीत श्रोताले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप