‘हाम्रो पात्रो वि.सं. २०७३ मा नेपालमै दर्ता भएको हो’
काठमाडौँ । ‘हाम्रो पात्रो’ नेपालमै दर्ता नभएको र भर्खर मात्र सूचीकृत भएको भन्ने हल्ला गलत भएको संस्थाले स्पष्ट पारेको छ।
संस्थापक शंकर उप्रेतीले २०१० मा सुरु गरेको ‘हाम्रो पात्रो’ सन् २०१६ (वि.सं. २०७३) मा नै नेपालमा Smart Ideas Pvt. Ltd. को उत्पादनको रूपमा दर्ता भएको कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। हाल यस कम्पनीमा १०० भन्दा बढी कर्मचारी कार्यरत छन् भने करसमेत नियमित बुझाउँदै आएको विज्ञप्तिमा उल्लेख छ।
सरकारले हालै सामाजिक सञ्जालको सूची सार्वजनिक गर्दा ‘हाम्रो पात्रो’ पनि त्यसमध्ये समावेश भएपछि प्रयोगकर्तामाझ विभिन्न भ्रम र अफवाह फैलिएको कम्पनीको भनाइ। तर कम्पनीले यसलाई ‘नयाँ दर्ता गरिएको’ भनेर बुझ्नु गलत हुने स्पष्ट पारेको छ। विज्ञप्ति अनुसार, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्देशनअनुसार मात्र सूचीमा नाम समावेश भएको हो।
यद्यपि, कानुनी व्याख्या अनुसार ‘हाम्रो पात्रो’ सामाजिक सञ्जालमा नपर्ने संस्थाले दाबी गरेको छ।
हाम्रो पात्रोको ध्यानाकर्षण !!
हालै सरकारको सूचीकरण सम्बन्धी निर्णयमा “हाम्रो पात्रो” को नाम समावेश भएको समाचार धेरैका लागि आश्चर्यजनक बन्यो । हाम्रो पात्रोलाई उक्त सूचीमा देख्दा प्रयोगकर्ताहरू अचम्ममा पर्नुभयो भने विभिन्न थरिका हल्ला र अफवाहहरू सामाजिक सञ्जालमा देखिन थाले । यी फैलिएका अफवाह र भ्रमले हाम्रो ध्यान आकर्षित गरेको छ। हामीले सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक प्रश्नहरूलाई उत्तर दिने प्रयास गर्दैछौं ।
कहिले शुरु भयो हाम्रो पात्रो ?
विदेशमा बस्ने नेपालीहरूले आफू आउँदा ल्याएको पात्रो (क्यालेन्डर) वर्षदिनमा पुरानो हुने र नेपालको चाडपर्व र विशेष दिनहरूको बारेमा विदेशमा बस्ने नेपालीहरूलाई थाहा नहुने भएकाले शंकर उप्रेतीले २०१० मा हाम्रो पात्रोको शुरुवात गरेका हुन् । विस्तारै यो एपले दिन प्रतिदिन लोकप्रियता पाउन थालेपछि संस्थापक शंकर उप्रेतीले यसलाई औपचारिकता दिएका हुन् ।
के हाम्रो पात्रो नेपालमा दर्ता छैन ?
हाम्रो पात्रो सन् २०१६ (वि.सं. २०७३) देखि नेपालमा दर्ता भएको हो । यो Smart Ideas Pvt. Ltd. नाम गरेको आइटी कम्पनीको उत्पादनको रूपमा नेपालमा दर्ता भएको छ र लगभग १० वर्षदेखि नेपाल सरकारको कानुन बमोजिम एउटा जिम्मेवार संस्थाले पूरा गर्नुपर्ने सम्पूर्ण कार्यहरू पूरा गर्दै आइरहेको छ । अहिले यस कम्पनीमा १०० भन्दा धेरै कर्मचारीहरू कार्यरत छन् र हाम्रो पात्रोले नेपालमा कर तिर्दै आइरहेको छ ।
अनि अहिले दर्ता गरिएको भन्ने कुरा के हो?
सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको सुचीमा हाम्रो पात्रोलाई पनि उल्लेख गरेपछि मन्त्रालयको निर्देशन अनुसार अहिले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा हाम्रो पात्रो सुचीकृत गरिएको मात्र हो । तर, हाम्रो पात्रोले भर्खरमात्र नेपालमा दर्ता गरायो भनेर अफवाह फैलीरहेको छ ।
के हाम्रो पात्रो सामाजिक सञ्जाल हो ?
नेपाल सरकारको कानुन अनुसार "सामाजिक सञ्जाल" भन्नाले कुनै व्यक्ति, समूह वा संस्थालाई एक अर्कासिँग अन्तरक्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने समूह, ब्लग, एप हो। त्यस व्याख्या अनुसार, हाम्रो पात्रो अहिलेसम्म सामाजिक सञ्जालको श्रेणीमा पर्दैन।
यसै बीच सरकारको सामाजिक सञ्जालको सूचीमा नाम सार्वजनिक भएपछि विभिन्न सामाजिक सञ्जालमार्फत हाम्रा प्रयोगकर्ताहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्दै हामीमाथि देखाउनुभएको माया तथा विश्वास देख्दा हामी खुशी भयौं। यो माया र चासोले हामीलाई थप हौसला दिएको छ । त्यसका लागि सबैलाई धन्यवाद ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण