सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

लिङ्देनको प्रस्ताव : जेनजीको सहमतिमा अन्तरिम सरकार र अन्तरिम संविधान

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था
बुधबार, २५ भदौ २०८२, २२ : ४१
बुधबार, २५ भदौ २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्तमान संसदको विघटन र संविधान खारेज गर्नुपर्नेमा जोड दिएका छन्। उनले 'जेनजी' आन्दोलनको आडमा भएको अराजकता र भविष्यमा देशलाई थप द्वन्द्व तथा वैदेशिक हस्तक्षेपबाट जोगाउन तत्काल केही कदम चाल्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्।

लिङ्देनले बुधबार आफ्नो फेसबुक पोस्टमार्फत अहिलेको अवस्थाका लागि जिम्मेवार नेतृत्वको गैरजिम्मेवार क्रियाकलापलाई दोष दिँदै अब 'जेनजी' को सहमतिमा अन्तरिम सरकार गठन गर्नुपर्ने र अन्तरिम संविधान ल्याउनुपर्ने माग गरेका छन्।

यसका साथै, उनले आन्दोलनका क्रममा दमनकारी भूमिका खेल्नेहरूमाथि तत्काल कारबाही गर्न र २०४६ सालपछिका सबै उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने बताएका छन्।

उनले नेपालको भविष्यका लागि केही महत्त्वपूर्ण व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्थाको वकालत गरेका छन्। उनले राष्ट्रपतिको ठाउँमा अभिभावकीय संस्थाका रूपमा राजा राख्नुपर्ने, पूर्ण समानुपातिक संसद हुनुपर्ने र सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।

यसैगरी, प्रदेशहरू खारेज गरी केन्द्र र बलियो स्थानीय तह भएको राज्य संरचना बनाउनुपर्ने, गैरदलीय स्थानीय तहको व्यवस्था गर्नुपर्ने र न्यायालयमा पुनर्नियुक्तिको व्यवस्था गर्नुपर्ने माग पनि उनले राखेका छन्।

विद्यार्थी र कर्मचारी लगायतका युनियनहरूको खारेजी, सबै भ्रष्टाचारकाण्डको स्वतन्त्र छानबिन, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र र संवैधानिक अंगहरूमा दलीय सिफारिसमा नभई स्वतन्त्र र पारदर्शी नियुक्तिको व्यवस्था गर्नुपर्ने लिङ्देनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप