घडी र कचौराबाट सुरु भएको रानाथारु गाउँको ‘जुगेडा कप’
धनगढी । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा मात्र बसोबास गर्ने रानाथारु समुदाय पछिल्लो समयमा खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो छुट्टै पहिचान बनाउन लागिपरेको छ ।
असोज ४ गतेदेखि धनगढी उपमहानगरपालिका–१०, जुगेडामा सञ्चालन भइरहेको निसर्ग इन्डो–नेपाल जुगेडा कप भलिबल प्रतियोगिताले रानाथारु समुदायको पहिचान देश तथा विदेशमा दिलाउन सहयोग गर्दै आएको छ ।
यस पटक यस प्रतियोगितामा १६ वटा टिमको सहभागिता छ । रानाथारु समुदायका लागि आफ्नो संस्कृति, खानपान र पहिचान विश्वसामु चिनाउन जुगेडा कप एक आधार बनेको समुदायका अगुवा बताउँछन् ।
यो प्रतियोगिता २०५६ सालमा स्थानीय अग्रजहरूले सामुदायिक भावना र मनोरञ्जनका लागि सुरु गरेका थिए । त्यतिबेला यो प्रतियोगिताको सुरुवात सामान्य थियो । संयुक्त राना जनचेतना परिवारका अध्यक्ष रवि रानाले भने, ‘सुरुमा हाम्रा अग्रजहरूले प्रतियोगिता गराउँदा पुरस्कारमा घडी र कचौराजस्ता सामान दिनुहुन्थ्यो ।’
रानाका अनुसार त्यो बेला पुरस्कारभन्दा पनि समुदायको जमघट र आपसी सद्भाव महत्त्वपूर्ण हुन्थ्यो । करिब १५–१६ वर्ष उत्साहपूर्वक चलेपछि केही समय रोकिएको यो प्रतियोगितालाई २०७२ सालमा ‘संयुक्त राना जनचेतना परिवार’ नामक संस्था दर्ता गरेर पुनः निरन्तरता दिइयो ।
पुनः सञ्चालनपछि प्रतियोगिताले व्यावसायिक र बृहत् रूप लिएको छ । सुरुमा १० हजार रुपैयाँबाट थालिएको पहिलो पुरस्कार अहिले १ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।
पुरस्कार राशिमा भएको वृद्धिले मात्र नभई प्रतियोगितामा नेपालका चर्चित क्लब तथा भारतका राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिताले पनि यसको स्तर र लोकप्रियतालाई नयाँ उचाइमा पुर्याएको छ ।
अध्यक्ष रविका अनुसार ‘जुगेडा कप’ले रानाथारु समुदायका युवाहरूलाई खेलकुदमा लाग्न र आफ्नो प्रतिभा प्रदर्शन गर्न बलियो आधार दिएको छ । यही प्रतियोगिताको मैदानबाट उदाएका अशोक रानाजस्ता खेलाडीले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएका छन् ।
यसका साथै यो प्रतियोगिता गाउँका अन्य युवाका लागि खेलमा लाग्न प्रेरणा बन्ने गरेको छ । प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्ने र उनीहरूलाई राष्ट्रिय मञ्चसम्म पुग्नका लागि एक महत्त्वपूर्ण काम गरेको रानाले बताए ।
प्रतियोगिता आयोजना हुने स्थल रानाथारु समुदायको प्रदर्शनी स्थलजस्तै छ । यहाँ समुदायको संस्कृति झल्काउने भेषभूषा, परम्परागत खानपान पहिचान झल्काउने स्टल पनि राखिएका छन् । यसले बाहिरबाट आउने खेलाडी र दर्शकहरूलाई रानाथारु समुदायको मौलिक संस्कृतिबारे नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ ।
नेपाल–भारत सीमा नजिकै आयोजना हुने भएकाले ‘जुगेडा कप’मा सुरुदेखि नै भारतीय खेलाडीको सहभागिता रहँदै आएको छ । पहिले भारतका स्थानीय टोलीहरू मात्र सहभागी हुने गरे पनि अहिले राष्ट्रिय स्तरका खेलाडीहरूले समेत खेल्न थालेपछि प्रतियोगिता ‘इन्डो–नेपाल जुगेडा कप’को रूपमा स्थापित भएको छ । यसले दुई देशबिचको स्थानीय स्तरको सम्बन्धलाई अझ प्रगाढ बनाएको स्थानीय अगुवा बताउँछन् ।
अध्यक्ष रानाका अनुसार प्रतियोगिता आयोजना गर्न चुनौती पनि छन् । स्थानीय व्यापारी, वडा कार्यालय र प्रदेश खेलकुद परिषदबाट सहयोग प्राप्त भए पनि व्यवस्थित खेल मैदान र अन्य पूर्वाधार निर्माणका लागि सरकारी स्तरबाट सहयोग हुन जरुरी छ । खेल प्रतियोगिता आयोजना पूर्वाधार राम्रो भइदिए सहज हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण