शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
परम्परा

खोकनाका नेवार समुदायले मनाए सिकाली जात्रा (तस्बिरहरू)

शनिबार, ११ असोज २०८२, ११ : ४०
शनिबार, ११ असोज २०८२

सारांश

  • ललितपुरको खोकनाका नेवार समुदायले सिकाली जात्राको समापनसँगै दसैँ समापन गरे।
  • यो जात्रा स्वस्थानी व्रतकथामा आधारित छ, जसमा विभिन्न देवीदेवताको पूजा गरिन्छ र नृत्य प्रस्तुत गरिन्छ।
  • खोकनावासीले घटस्थापनादेखि पञ्चमीसम्म भव्य रूपमा यो जात्रा मनाउने गर्छन्, जसको एउटा रोचक किंवदन्ती छ।

ललितपुर। ललितपुरस्थित खोकनाका नेवार समुदायले सिकाली जात्राको समापनसँगै दसैँ समापन गरेका छन्। सामान्यतया घटस्थापनादेखि पूर्णिमासम्म दसैँ मान्ने भए पनि खोकनावासी भने घटस्थापनादेखि सप्तमीसम्म सिकाली जात्रा मनाई दसैँ समापन गर्छन्। 

नेपाल संवत् ३३६ देखि प्रचलित स्वस्थानी व्रतकथामा आधारित जात्रामा उपत्यकाका अन्य देवीनृत्यको तुलनामा बढी नाटकीयता झल्किन्छ। बाह्रवर्षमा एकपटक उपत्यकाका विभिन्न स्थानमा पनि यो नाच प्रदर्शन गरिन्छ।

sikali jatra (2)

सिकाली जात्रालाई नै दशैंका रूपमा मान्दै आएका रैथाने खोकनावासीले रुद्रायणी देवी (सिकाली) सहित देवगणका अन्य देवीदेवताको पूजाआजा गरी यो जात्रा मनाउने गर्छन् । यो जात्रामा प्रमुख रूपमा स्वस्थानी व्रतकथामा आधारित देवीनृत्य गरिन्छ।

sikali jatra (3)

जात्राका अवसरमा स्थानीय क्लबका ४६ युवा विभिन्न देवीदेवताको भेषभुषामा सजिएर पालैपालो नृत्य गर्दछन्। स्वस्थानी व्रतकथामा आधारित उक्त देवीनृत्यमा दक्ष प्रजापतिले आह्वान गरेको अश्वमेघ यज्ञमा सहभागी हुन देवीदेवता आकाशमार्गबाट उडेर आएका हुन्छन्।

sikali jatra (4)

देवीनृत्यमा मूलरुपमा रुद्रायणी (सिकाली), भैरव र बालकुमारीको पूजा गरिन्छ। अन्य देवता गणेश, ब्रह्मा, वैष्णवी, महादेव, कलःज्वं (करुणामय), इन्द्रायणी, बज्रबाराही, महालक्ष्मी, नृत्येश्वर, कारकाई अजिमा (चामुण्डा), सिंघिनी र व्याघिनी देवगणको पनि पूजा गरिन्छ। साथै उक्त नृत्यमा नागकन्या, शक्तिकुमार, कुमार, महिसासुर दैत्य, लाखे, टिङ्कल, स्याल, कुकुर र हनुमान लगायतका पात्र पनि सहभागी हुन्छन् ।

sikali jatra (5)

खोकनाका स्थानीयले घटस्थापनादेखि सुरु हुने भएपनि पञ्चमीका दिनदेखि यो जात्रा भव्य रूपमा मनाउने गरिन्छ। किम्बदन्ती अनुसार गाउँमा रहेको रुद्रायणी देवीको मूर्ति चोरले चोरेर बस्ती बाहिर पुर्‍याउँदा एक्कासि भाले बासेपछि लौ बिहान भएछ, अब गाउँलेले देखे भने विपत्ति आइपर्छ भन्दै नजिकै फालिदिए। 

sikali jatra (6)

फालिएको ठाउँ लसुनबारी रहेछ। बिहानपख गाउँलेहरू मूर्ति हरायो भनी खोजी गर्दै जाँदा लसुनबारीमा भेटे। त्यसपछि गाउँलेहरूले बाजागाजा, नृत्यसहित मूर्तिलाई त्यहीँ स्थापना गरे। मूर्ति स्थापनापछि उक्त गाउँमा निकै उन्नति हुन थाल्यो। यो सबै देवीको कृपाले भएको भन्दै प्रत्येक वर्ष दसैँको शुभारम्भ हुने दिन घटस्थापनादेखि सिकाली जात्रा मनाउन थालिएको विश्वास रहिआएको छ। 

sikali jatra (7)

भाले कुखुराका कारण देवीको मूर्ति हराउनबाट जोगिएका कारण भालेलाई देवीको भक्त मानी रुद्रायणी गुठीयार तथा थकालीहरू कुखुराको मासु खाने गर्दैनन्।

sikali jatra (8)sikali jatra (9)sikali jatra (10)sikali jatra (11)sikali jatra (13)sikali jatra (14)sikali jatra (15)sikali jatra (16)sikali jatra (17)sikali jatra (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप