शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मार्ग खुलाइएको दशकपछि सडक स्तरोन्नति हुँदै

बिहीबार, १६ असोज २०८२, २० : २८
बिहीबार, १६ असोज २०८२

सारांश

  • म्याग्दीको धवलागिरी गाउँपालिकामा धारापानीदेखि झिनडाडा खण्डको सडक स्तरोन्नति भइरहेको छ।
  • सडक स्तरोन्नतिका लागि १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो र हालसम्म ५८ प्रतिशत काम सकिएको छ।
  • यो सडक म्याग्दीदेखि ढोरपाटन हुँदै पुर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा छोटो हुनेछ।

म्याग्दी । एक दशकअघि मार्ग खुलेको म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाडा खण्डको सडक स्तरोन्नतिले गति लिएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । 

आर्थिक वर्ष २०७०/७१ मा मार्ग खुले पनि अहिले आएर स्तरोन्नति सुरु गरिएको धवलागिरी गाउँपालिका–७ का अध्यक्ष अशोक खत्रीले बताए । हाल धारापानी र ताकम गाउँमा पर्ने सडक पक्की बनाउने गरी काम भइरहेको उनको भनाइ छ । 

धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरी गाउँपालिकाको पाँच वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । चार किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर – बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । 

कार्यालयका प्रमुख बिष्णुप्रसाद पौडेलले दुई वर्षको ठेक्का अवधि भएको योजनाको हालसम्म ५८ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्ष भित्रनै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । 

बर्खा याममा पनि सडक निर्माण भएको थियो । यो सडक हाल चार देखि पाँच मिटर फराकिलो छ । म्याग्दीदेखि ढोरपाटन हुँदै पुर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने बनाइएको छ ।  

म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ–धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा रु एक अर्ब बजेटको आयोजनाको गत असारमा ठेक्का सम्झौता भएको जानकारी दिए । 

ध्वलागिरीको केन्द्र मुनादेखि खोरीया, मरेनी हुँदै ढोरपाटनको जलजला गत असारमा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघिनै सडक निर्माण भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप