विशेष महाधिवेशनको एजेन्डाबाट पछि हटे गगन थापा
सारांश
- नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनको अडानबाट पछि हटेका छन्।
- थापाले पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालालाई भेटेर नियमित महाधिवेशनका लागि आग्रह गरे।
- थापाले आगामी मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशन गर्नुपर्ने आफ्नै अडानबाट पछि हटेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको सहमतिमा थापाको रणनीतिअनुसार युवाहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन गरिरहेका थिए ।
युवा नेता गुरु घिमिरेसमेतको नेतृत्वमा हस्ताक्षर सङ्कलन भइरहे पनि महामन्त्री थापा अन्ततः आफ्नै एजेन्डाबाट पछि हटेका हुन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव एजेन्डाका रूपमा राखेका छन् । १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमिति नेतृत्वको चार वर्षे कार्यकाल आगामी मंसिरका सकिँदै छ । कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो । पार्टी विधानमा केन्द्रीय कार्यसमितिको बहुमतले एक वर्ष कार्यकाल थप्न सक्ने व्यवस्था छ । कार्यकाल नथपी मंसिरभित्रै नियमित महाधिवेशन गर्ने प्रस्ताव थापाले बैठकमा एजेन्डाका रूपमा राखेका हुन् ।
महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव एजेन्डाका रूपमा बैठकमा राखेको पूर्वमहामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए । बैठकबाट बाहिरिने क्रममा डा. कोइरालाले सञ्चारकर्मीहरूसँग भने, ‘बैठकमा महामन्त्री गगन थापाले नियमित महाधिवेशन गर्ने प्रस्ताव एजेन्डाका रूपमा ल्याउनुभएको छ । त्यसबारे बैठकमा छलफल भइरहेको छ ।’
असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न बसेको पदाधिकारी बैठकमा एजेन्डा मौखिक एजेन्डा प्रस्तुत गर्दै मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
उनले नियमित महाधिवेशन पनि सभापति देउवालाई बाहिर राखेर गर्नुपर्ने उल्लेख गरेका छन् । ‘सभापतिज्यूलाई बाहिर राखेर वर्तमान कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशन गर्ने प्रस्ताव महामन्त्री गगनजीले बैठकमा एजेन्डाका रूपमा राख्नुभएको छ,’ बैठकमा सहभागी एक पदाधिकारीले रातोपाटीसँग भने ।
तोकेर नभने पनि थापाले कार्यवाहक तोकेर नियमित महाधिवेशनमा जाने प्रस्ताव गरेको ती पदाधिकारीले बताए ।
विधानमा भएको व्यवस्थाका कारण विशेष महाधिवेशनमा जान गाह्रो देखिएपछि थापाले कांग्रेसभित्रको इतर समूहका नेता डा. शेखर कोइरालालाई भेटेर नियमित महाधिवेशनका पक्षमा लाग्नलाई आग्रह गरेका थिए ।
महामन्त्रीद्वय थापा र शर्माले डा. कोइरालालाई छुट्टाछुट्टै भेटेर त्यस्तो आग्रह गरेका थिए । थापाले सोमबार बिहान र शर्माले मंगलबार बिहान डा. कोइरालालाई भेटेका थिए ।
निकटस्थ स्रोतका अनुसार महामन्त्री थापाले डा. कोइरालासँगको भेटमा विधानअनुसार विशेष महाधिवेशन गर्न गाह्रो देखिएको भन्दै नियमित महाधिवेशनका लागि दबाब दिन आग्रह गरेका थिए । ‘विशेष महाधिवेशन विधान अनुसार गर्न नसकिने भयो । ४० प्रतिशत हस्ताक्षरसहित विशेष महाधिवेशनका लागि निवेदन दिँदा कारण खुलाउन पर्ने व्यवस्था छ । के कारण लेख्ने ? त्यसमा सबै पर्ने देखियो । निवेदन दिएको ३ महिना भित्र भनेको छ, त्यो भनेको नियमित महाधिवेशन भन्दा पर जाने भयो,’ महामन्त्री थापाले भेटमा उल्लेख गरेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो, ‘नियमित महाधिवेशनका लागि जोड दिनुपर्यो नेतृत्व तपाईंले गर्नुपर्यो ।’
१४औँ महाधिवेशनमा डा. कोइराला प्यानलबाट उम्मेदवार बनी महामन्त्री जिते पनि थापा र कोइरालाबिच सम्बन्ध राम्रो छैन । त्यसैले डा.कोइरालाले महाधिवेशनबारे आफू पुरानै अडानमा कायम रहेको र असोज २६ गते बोलाइएको केन्द्रीय समिति बैठकमा त्यो धारणा राख्ने बताएका थिए ।
आफ्नो प्रस्तावमा डा. कोइरालाले सकारात्मक/नकारात्मक कुनै जवाफ नदिएपछि थापा फर्किएका थिए । त्यसको अर्को दिन मंगलबार अर्का महामन्त्री शर्माले पनि कोइरालालाई भेटे । शर्मालाई पनि कोइरालाले आफू पुरानो अडानमा कायमै रहेको र त्यो विषय केन्द्रीय समिति बैठकमा राख्ने बताए ।
डा. कोइरालाले एक वर्ष अगाडि २०८१ साउनमा बसेको केन्द्रीय समिति बैठकमै २०८२ मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
कोइरालाले थापा र शर्मालाई भनेका थिए, ‘मैले दुई अगाडि देखि मंसिरभित्र १५औँ महाधिवेशन गर्नुपर्छ भनेको छु । अहिले हामी त्यही विन्दुमा आइपुगेका छौँ । अव नियमित महाधिवेशन गरौँ । केन्द्रीय समितिले नियमित महाधिवेशनको मिति टुङ्गो लगाओस् भन्ने मेरो धारणा छ । त्यो बाहेक अरू विषयमा म जान सक्तिनँ ।’
अबको निर्वाचनसम्म नियमित महाधिवेशन गरेर पार्टीमा नयाँ नेतृत्व आउनुपर्ने पक्षमा आफू रहेको कोइरालाले सार्वजनिक रूपमा बताइरहेका छन् । ‘निर्वाचनसम्म पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ । नियमित महाधिवेशनमार्फत नयाँ नेतृत्व चुनिनुपर्छ,’ कोइरालाको भनाइ छ ।
मंगलबार महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमा भिडियो अपिल जारी गर्दै विशेष महाधिवेशनका हस्ताक्षर गर्न सुझाएको बताएका थिए । शर्माले भिडियो अपिलमा भनेका छन्, ‘मैले आफैले टेलिफोन गरेर कसैलाई विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नुस् भनेको छैन । तर, मलाई हस्ताक्षर गरौँ कि नगरौँ भनेर टेलिफोन गरी सोध्नेलाई गर्नुस् भनेको छु ।’
अपिलमा शर्माले ‘लगनपछिको पोते’को काम नहुने भन्दै असोज २४ गतेभित्रै गर्न आग्रह गरेका छन् । ‘केहीले २६ गते बस्ने केन्द्रीय समिति बैठकपछि हस्ताक्षर गर्ने की भनेर सोध्नुभएको छ । हस्ताक्षर नै गर्ने हो भने किन कुर्नुहुन्छ ? भनिन्छ नि लगनपछिको पोतेको के काम ? जसले हस्ताक्षर सङ्कलन गर्दै हुनुहुन्छ उहाँहरूलाई भनिदिनुस् सरी म हस्ताक्षर गर्दिन तर हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गतेभित्र गर्नुस्,’ शर्माले अपिलमा भनेका छन् ।
यसबाट स्पष्ट बुझ्न सक्ने विषय के हो भने महामन्त्रीद्वय शर्मा र थापा सभापति देउवाले असोज २६ गतेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक अगावै पार्टी केन्द्रीय कार्यालयमा ४० प्रतिशत हस्ताक्षर बुझाउन चाहन्थे । तर, त्यो प्रयास असफल हुने देखिएपछि पछि थापा नियमित महाधिवेशनतिर लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण