बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विशेष महाधिवेशन गर्न 'असफल' भएपछि

शेखर फकाउँदै गगन र विश्वप्रकाश

मङ्गलबार, २१ असोज २०८२, १८ : ०१
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको लागि हस्ताक्षर अभियान चलाइरहेका छन्।
  • विशेष महाधिवेशनको लागि आवश्यक संख्या नपुग्ने देखिएपछि दुवै महामन्त्रीले पार्टीभित्रका नेताहरूसँग छलफल गरेका छन्।
  • डा. शेखर कोइरालाले नियमित महाधिवेशनको लागि जोड दिनुपर्ने र पार्टीमा नयाँ नेतृत्व आउनुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन गर्न दबाब दिन हस्ताक्षर अभियान चलाइरहेका छन् । 

नेता गुरुराज घिमिरेको नेतृत्वमा भइरहेको हस्ताक्षर अभियान विशेष महाधिवेशन आह्वानका लागि प्रयाप्त नहुने देखिएको छ । महामन्त्री शर्माले मंगलबार मात्रै सामाजिक सञ्जाल फेसबुकमा भिडियो अपिल जारी गर्दै हस्ताक्षर गर्न सुझाएको बताएका छन् । शर्माले भिडियो अपिलमा भनेका छन्, ‘मैले आफैले टेलिफोन गरेर कसैलाई विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नुस् भनेको छैन । तर, मलाई हस्ताक्षर गरौँ कि नगरौँ भनेर टेलिफोन गरी सोध्नेलाई गर्नुस् भनेको छु ।’ 

अपिलमा शर्माले ‘लगनपछिको पोते’को काम नहुने भन्दै असोज २४ गतेभित्रै गर्न आग्रह गरेका छन् । ‘केहीले २६ गते बस्ने केन्द्रीय समिति बैठकपछि हस्ताक्षर गर्ने कि भनेर सोध्नुभएको छ । हस्ताक्षर नै गर्ने हो भने किन कुर्नुहुन्छ ? भनिन्छ नि लगनपछिको पोतेको के काम ? जसले हस्ताक्षर संकलन गर्दै हुनुहुन्छ उहाँहरूलाई भनिदिनुस् सरी म हस्ताक्षर गर्दिनँ तर हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गतेभित्र गर्नुस्,’ शर्माले भनेका छन् । 
शर्माले अपिलमा व्यक्त गरेका यी धारणाबाट पनि प्रस्ट हुन्छ हस्ताक्षर संकलनमा उनको पनि संलग्नता छ । यसबाट स्पष्ट बुझ्न सक्ने विषय के हो भने महामन्त्रीद्वय शर्मा र थापा सभापति देउवाले असोज २६ गतेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक अगावै पार्टी केन्द्रीय कार्यालयमा ४० प्रतिशत हस्ताक्षर बुझाउन चाहन्छन् । 

२०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेकाले त्यसको ४० प्रतिशत १ हजार ८ सय ९७ जना हुन्छन् । त्यति संख्यामा महाधिवेशन प्रतिनिधि त्यो समयसम्म नहुने निश्चित भएपछि शर्माको ‘आफू बच्ने’ गरी हस्ताक्षर अभियानलाई बल पुग्ने किसिमले अपिल आएको हो । 

तर, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा निवेदन दिने बेलामा नै विशेष कारण खुलाउनुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ । विधानको दफा १७ को उपदफा २ मा त्यो व्यवस्था गरिएको छ ।
यस्तो छ व्यवस्था 

Congress Mahadebision
देउवाले मात्रै गल्ती गर्‍यो भन्ने केही नदेखिएपछि अहिले भने महामन्त्रीहरू कसरी अगाडि बढ्ने भन्नेमा अलमलमा छन् । जेनजी आन्दोलन देउवाको कारण मात्रै नभएको र पदाधिकारी सबै यसमा दोषी रहेको भन्ने विषय पार्टीमा उठेपछि कसरी अगाडि बढ्ने भन्नेबारे महामन्त्रीद्वय थापा र शर्माले पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरे । 

थापाले सोमबार बिहान र शर्माले मंगलबार बिहान डा. कोइरालालाई भेटेका हुन् । भेटबारे औपचारिक रूपमा दुवै पक्षले बताउन चाहन्नन् । 

नाम उल्लेख नगर्ने सर्तमा निकटस्थ स्रोतले दिएको जानकारी अनुसार महामन्त्री थापाले डा. कोइरालासँगको भेटमा विधानअनुसार विशेष महाधिवेशन गर्न गाह्रो देखिएको भन्दै नियमित महाधिवेशनका लागि दबाब दिन आग्रह गरेका थिए । 

‘विशेष महाधिवेशन विधानअनुसार गर्न नसकिने भयो, ४० प्रतिशत हस्ताक्षरसहित विशेष महाधिवेशनका लागि निवेदन दिँदा कारण खुलाउनपर्ने व्यवस्था छ । के कारण लेख्ने ? त्यसमा सबै पर्ने देखियो । निवेदन दिएको ३ महिनाभित्र भनेको छ, त्यो भनेको नियमित महाधिवेशनभन्दा पर जाने भयो,’ महामन्त्री थापाले भेटमा उल्लेख गरेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो, ‘नियमित महाधिवेशनका लागि जोड दिनुपर्‍यो नेतृत्व तपाईंले गर्नुपर्‍यो ।’ 

१४ औँ महाधिवेशनमा डा. कोइराला प्यानलबाट उम्मेदवार बनी महामन्त्री जिते पनि थापा र कोइरालाबिच सम्बन्ध राम्रो छैन । त्यसैले डा.कोइरालाले महाधिवेशनबारे आफू पुरानै अडानमा कायम रहेको र असोज २६ गते बोलाइएको केन्द्रीय समिति बैठकमा त्यो धारणा राख्ने बताएका थिए । 

आफ्नो प्रस्तावमा डा. कोइरालाले सकारात्मक/नकारात्मक कुनै जवाफ नदिएपछि थापा फर्किएका थिए । त्यसको अर्को दिन मंगलबार अर्का महामन्त्री शर्माले पनि कोइरालालाई भेटे । शर्मालाई पनि कोइरालाले आफू पुरानो अडानमा कायमै रहेको र त्यो विषय केन्द्रीय समिति बैठकमा राख्ने बताए । 

डा. कोइरालाले २०८१ साउनमा बसेको केन्द्रीय समिति बैठकमै २०८२ मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए । 

कोइरालाले थापा र शर्मालाई भनेका थिए, ‘मैले दुई अगाडिदेखि मंसिरभित्र १५ औँ महाधिवेशन गर्नुपर्छ भनेको छु । अहिले हामी त्यही विन्दुमा आइपुगेका छौँ । अब नियमित महाधिवेशन गरौँ । केन्द्रीय समितिले नियमित महाधिवेशनको मिति टुंगो लगाओस् भन्ने मेरो धारणा छ, त्योबाहेक अरू विषयमा म जान सक्तिनँ ।’

अबको निर्वाचनसम्म नियमित महाधिवेशन गरेर पार्टीमा नयाँ नेतृत्व आउनुपर्ने पक्षमा आफू रहेको कोइरालाले बताइरहेका छन् । ‘निर्वाचनसम्म पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ । नियमित महाधिवेशनमार्फत नयाँ नतृत्व चुनिनुपर्छ,’ कोइरालाले भन्दै आएका छन् । 

यता सभापति शेरबहादुर देउवानिकट प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देउवा वैधानिक रूपमा नेतृत्वबाट बाहिरिन चाहेको बताएका छन् । ‘सभापतिज्यूले नेताहरूलाई आफू पुनः सभापति नहुने बताइसक्नुभएको छ । सबैलाई मिलेर नेतृत्व चयन गर्ने वातावरण निर्माण गर्न उहाँले टेलिफोनमार्फत आग्रह गरिरहनुभएको छ,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘२६ गते आह्वान भएको केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको मिति तोक्छ । त्यो महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुन्छ ।’

त्यसबाहेक देउवाले छिट्टै महाधिवेशन हुने भएमा र आफूलाई सहज भएमा आफ्नै नेतृत्वमा महाधिवेशन गराउने र असहज भएमा कार्यवाहक दिएर महाधिवेशनमा जाने विकल्प पनि देउवाले खुला राखेको विश्वकर्माले बताए । त्यसका लागि २६ गतेसम्म कुर्नुपर्ने उनको भनाइ छ । ‘उहाँको स्वास्थ्य अवस्था कमजोर छ । २६ गतेको केन्द्रीय समिति बैठक सञ्चालन गर्ने त्यसमा सहज भए र छिटै नियमित महाधिवेशन हुने भएमा आफ्नै नेतृत्वमा महाधिवेशन गर्नुहुन्छ,’ विश्वकर्माले भने, ‘ त्यो बैठकमा स्वास्थ्यका कारण असहज भएमा कार्यवाहक दिएर अगाडि बढ्ने भन्ने विकल्प पनि खुला राख्नुभएको छ ।’

देउवाले यी विषय अनौपचारिक रूपमा नेताहरूसँग कुराकानी गर्दै बताएका हुन् । भदौ २४ गते भएको जेनजी आन्दोलनमा आफ्नै निवासमा आन्दोलनकारीबाट कुटिएका देउवा दुई साता बढी अस्पतालमा भर्ना भएर उपचार गराएका थिए । त्यसपछि उनको घाउ निको हुने क्रममा रहे पनि बोल्न र धेरै समय बस्न उनलाई अझै असहज छ । 

अहिलेसम्म देउवाले अस्पतालबाट डिस्चार्ज भएपछि नेताहरूलाई भौतिक रूपमा भेटेका छैनन् । भौतिक रूपमा नेताहरूलाई नभेटेको प्रचार विभाग प्रमुख विश्वकर्माले स्विकारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप