शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
कविता

अर्जुन, चे र मार्क्सको संग्राम

बुधबार, २९ असोज २०८२, २० : १७
बुधबार, २९ असोज २०८२

कुरुक्षेत्रमा युद्ध सुरु भइसक्यो 
अर्जुनले पुनर्जन्म लिएर फर्किएको छ 
अन्तिम पटक गाण्डिव बोकेर
उसको गाण्डिवबाट निस्कने बाणास्त्र कर्णमा होइन 
भ्रष्ट सभ्यताका हड्डीहरूमा सोझिएका छन् ।

गाण्डिव अब चेतनामा रुपान्तरण भएको छ 
अर्जुन दृष्टि बनेर सत्यको  खोजीमा निस्किएको छ  
धृतराष्ट्रको आँखा अझै अन्धो छ 
हस्तिनापुरमा,
त्यहाँ हरेक निर्णय
धर्म र मोहको दोधारमा जन्मिन्छ  
र हरेक मौनता युद्धको अग्रदूत बन्छ 
त्यहाँ लालचले नीति हराउँछ
र सत्ताको लागि सहोदरको रक्त बगाइन्छ । 

हस्तिनापुर अब हस्तिनापुर छैन 
यो सारा धर्ती बनेको छ
जहाँ सिंहासनहरू भ्रष्टाचारका आत्माहरुले ओगटिएका छन्
त्यो क्षणमा,
मध्य अमेरिकाको जङ्गलबाट चे गुएभारा निस्कन्छ
उसको हातमा बन्दुक होइन, अब पुस्तक छ
चे भनिरहेको छ- हिंसाले शासन बदल्छ, चेतनाले सभ्यता
तर चेतना सुत्यो भने 
क्रान्तिको रगतले ब्युँझाउनुपर्छ । 

त्यही बेला मार्क्स मुस्कुराउँछ
उसको अनुहारमा सृष्टिको सौन्दर्य र आँधी दुवै मिसिएका छन्
मार्क्स भन्छ,
श्रम केवल हातको गति होइन
यो ईश्वरको आत्मस्वरूप हो
र यो स्वर दबाउने जो कोही संसारको अपराधी हो 
तीनैजना युद्धभूमिमा उभिएका छन् 
अर्जुनको आत्मा, चेको रगत र मार्क्सको दर्शन
तीन धार तर एउटै नदी
नयाँ युगको उदयतिर बगिरहेको छ । 

त्यहीं म पनि उभिएको छु
न गाण्डिव छ, न बन्दुक, न मुन्धुम
तर एउटा आवाज छ
जो पृथ्वीका पीडित आत्माहरुको प्रतिनिधित्व गर्दै भन्छ,
म मानव हुँ,
र म मौन रहन सक्दिनँ 
म सत्यको आवाज हुँ,
र म शोषणको चक्रव्युह तोड्न चाहान्छु । 

अब न वेद, न म्यानिफेस्टो
अब नयाँ ग्रन्थ जन्मिँदैछ
मानवताको घोषणापत्र
जहाँ धर्म शब्द होइन, कर्म हो 
जहाँ दर्शन विचार होइन, आन्दोलन हो
जहाँ ईश्वर मन्दिरमा होइन
भोकाएको बालकको आँखामा बास गर्छ ।

त्यहीँ बेला अर्जुन गाण्डिव तानेर भन्छ
अब धर्म युद्ध चेतनाको हो 
चे गुएभारा चिच्याउँछ,
अब युद्ध प्रेमको न्यायमा हुनेछ 
मार्क्सले मुस्कुराउँदै भन्छ, 
अब वर्ग अन्त्य छैन
तर असमानता समाप्त हुनेछ 
त्यो क्षण पृथ्वी काँप्छ, आकाश झुक्छ
इतिहास फेरि लेखिन्छ 
र म भोकमरीको मैदानबाट
मुक्तिको राजधानीतिर दौडिँदै पुग्छु 
शान्तिलाई साक्षी राखेर शपथ लिन्छु
मेरो मौनता अब मन्त्र होइन
अनि महाभारत पनि होइन
स्वदेशीय सनातन प्रज्ञाको पुनरागमन हो 
विश्व शान्तिको पुनरागमन हो ।
-झापा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लाजेहाङ साम्ब्यु
लाजेहाङ साम्ब्यु
लेखकबाट थप