बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनका विषयमा २९ राजनीतिक दलहरूसँग आयाेगकाे छलफल

बिहीबार, ३० असोज २०८२, १९ : ००
बिहीबार, ३० असोज २०८२

सारांश

  • निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल गरेको छ।
  • दलहरूले शान्ति सुरक्षा, आचारसंहिताको पालना, निर्वाचनलाई कम खर्चिलो बनाउन सुझाव दिएका छन्।
  • आयोगले निर्वाचनमा सबै राजनीतिक दलहरूलाई सक्रिय सहभागी हुन आग्रह गर्दै तोकिएको समयमै निर्वाचन हुने विश्वास दिलाएको छ।

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूसँग छलफल गरेको छ । 

बिहीबार सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दलहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबिच छलफल भएको हो । 

दलहरूले घोषित मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन नेपाल सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गरी राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी र मतदान गर्ने नागरिकहरूलाई निर्भयतापूर्वक निर्वाचनमा सहभागी हुने वातावरण बनाउनुपर्ने सुझाव आयोगलाई दिएका छन् । 

त्यस्तै आचारसंहिताको पूर्णरूपमा पालना गराउनुपर्ने, निर्वाचनलाई कम खर्चिलो बनाउनुपर्ने एवम् विद्यमान विषम परिस्थितिमा हुन लागेको निर्वाचन भएकोले सम्बद्ध पक्षसँग निरन्तर छलफल हुनुपर्ने सुझाव समेत राजनीतिक दलहरूले दिएका छन् । 

छलफलमा निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले आवधिक निर्वाचनभन्दा फरक समय र परिस्थितिमा हुन गइरहेको आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सबै राजनीतिक दलहरूलाई सक्रियतापूर्वक सहभागी हुन अनुरोध गरे । 

आयोगको तर्फबाट सरकारसँग पटक–पटक छलफल भएको उनले बताए । सरकारको तर्फबाट पूर्ण प्रतिबद्धता प्राप्त भएको, शान्ति सुरक्षा लगायत निर्वाचनमय वातावरण बनाई कसैले कसैलाई पनि निर्वाचनमा निषेधको राजनीति नगर्न आयोगको तर्फबाट सबै पक्षलाई आग्रह गरिसकिएको बताउँदै भण्डारीले तोकिएको समयमा निर्वाचन हुने विश्वास दिलाए ।

554199988_749464318127914_889111060338664850_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप