शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
सेयर बजार

जेनजी आन्दोलनपछि पुँजी बजारले गुमायो ३ खर्ब १० अर्ब

पछिल्लो साता झनै घट्दै बजार, अबको बाटो कता ?
शुक्रबार, ३१ असोज २०८२, १४ : ४५
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • जेनजी आन्दोलनपछि सेयर बजार परिसूचक घट्दै गएको छ, जसले लगानीकर्तामा अन्योल सिर्जना गरेको छ।
  • बजार घट्नुको कारण जेनजी आन्दोलनको क्षति, युवापुस्ताको अराजकता, र राजनीतिक अस्थिरतालाई मानिएको छ।
  • विश्लेषकहरूले बजार घट्नुको पछाडि बियरिस ट्रेन्ड र विभिन्न नकारात्मक पक्षहरूलाई औंल्याएका छन्, तर अब बजार बढ्ने अपेक्षा गरिएको छ।

काठमाडौँ । जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते सेयर बजार परिसूचक २६७२.२५ अङ्कमा थियो । त्यतिबेला बजारको कुल बजारको कुल सम्पत्ति (पुँजीकरण) ४४ खर्ब ६७ अर्ब रुपैयाँ रहेको थियो । 

यो साताको बिहीबार बजार बन्द हुँदा बजार परिसूचक २४८७.१७ अङ्कमा झरेको छ । यो अनुसार अहिले  अहिले यो रकम ४१ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ । यो जेनजी आन्दोलनपछि मात्रै सेयर बजारले ३ अर्ब १० अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाइसकेको छ । 

त्यसो त, पछिल्लो साता मात्रै बजारले १ अर्ब ५९ अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएको छ । पछिल्लो बिहीबार कारोबार बन्द हुँदा बजार सूचक २५८२.१८ अर्ब रुपैयाँ रहेको थियो । यस अनुसार पुँजीकरण ४३ खर्ब १६ अर्ब रुपैयाँ थियो । अहिलेको पुँजीकरण अनुसार एक सातामा मात्रै बजारले १ खर्ब ५९ अर्ब रुपैयाँ गुमाएको देखिन्छ । 

यतिबेला देशमा नयाँ सरकार बनिसकेको छ, उक्त सरकारले नयाँ निर्वाचनको मिति घोषणा समेत भइसकेको छ । यो आन्दोलनपछि दशैंजस्तो ठुलो चाडपर्व समेत सकिएको छ । तर, पछिल्लो साताको बजारले बियरिस ट्रेन्ड छाडेको छैन ।  यसले लगानीकर्तामा अन्योलको अवस्था सिर्जना भएको देखिन्छ ।

  • किन घट्दैछ सेयर बजार? 

माथि उल्लेखित तीन दिनको अवस्थालाई तुलना गरेर हेर्ने हो भने जेनजी आन्दोलनपछि गत सातासम्म बजारले जति गुमाएको छ, त्योभन्दा धेरै गिरावट यो साता भएको देखिन्छ । अर्थात्, कारण जेसुकै होस्, पछिल्लो समय लगानीकर्ताहरू लगानीकर्ताको विश्वास अझै घट्दै गएको बजार परिसूचकले देखाउँछ । 

तर यसको कारण के हो त ? बजार जानकारहरू बजारमा अहिले बुलिस र बियरिस दुवै ट्रेन्डमा लैजाने कारण सक्रिय रहे पनि वियरिसको प्रभाव बढी भएकोले बजार घट्दै गएको विश्लेषण गर्छन् । 

खासगरी निर्वाचनमा केन्द्रित हुँदा अर्थतन्त्रमा विस्तार, बैंकिङ क्षेत्रमा घट्दै गएको ब्याजदर, लाभांशको समय लगायतका विषयले बजारलाई सकारात्मक दिशामा लैजान भूमिका खेलिरहेको कारण हुन् । तर, पछिल्लो समय यसले उल्लेख्य रुपमा भूमिका खेल्न सकेको नदेखिएको बजार विश्लेषकहरु बताउँछन् । 

अर्कोतिर, बजारलाई तलतिर धकेल्ने कारण भने अहिले सक्रिय देखिएका छन् । खासगरी जेनजी आन्दोलनमा भएको व्यावसायिक संस्थाको क्षति तथा पछिल्लो समय युवापुस्ताको नाममा देखिएको अराजक गतिविधिका कारण व्यावसायिक मनोविज्ञान अझै माथि उठ्न नसक्दा बजार घट्दै गएको देखिन्छ । 

त्यसो त, गैरदलीय सरकार आए पनि जनतामा राजनीतिक स्थिरताको माहोल देखिएको छैन । आन्दोलनको कारणले सरकारबाट अपदस्थ भएका राजनीतिक दलको सक्रियता बढ्दै जाँदा यतिबेला दुईपक्षीय विवाद बढ्दै सङ्केत देखिएको छ । सरकार, राजनीतिक दल र युवापुस्ताको अवस्था हेर्दा कोही पनि चुनावमा केन्द्रित भएको देखिँदैन । त्यसैले अहिले पनि विश्वासको वातावरण बन्न सकेको देखिँदैन । 

पछिल्ला घटनाक्रमपछि सूचीकृत कम्पनीको अवस्था समेत कमजोर देखिन्छ । सबैभन्दा ठुलो हिस्सा भएको बैंकिङ क्षेत्रमा इतिहासकै सबैभन्दा धेरै तरलता थुप्रिएर बसेको अवस्था छ । अहिलेको राजनीतिक परिस्सिथतले ऋणको माग समेत घट्दै जाँदा यसले बैंकहरूको प्रोफिक्टाबिलिटी समेत घट्ने देखिएको छ । 

जेनजी आन्दोलनको प्रभावले होटल तथा पर्यटन क्षेत्र समेत ठप्प भएको छ । त्यसैले यो समूहका कम्पनीहरूमा समेत नकारात्मक असर पर्दै आएको विश्लेषकहरू बताउँछन् । 

उता, हाइड्रो क्षेत्रका कम्पनीहरू बाढी पहिरोको मारमा पीडित भएका छन् । दसैँकै बिचमा आएको बाढी पहिरोका कारण अहिले दर्जनौँ हाइड्रोपावर कम्पनीमा क्षति पुगेको अवस्था देखिन्छ । पछिल्लो समय निःशुल्क सेयरको माग गर्दै आन्दोलन हुन थालेपछि त यसले झनै अन्योलको अवस्था सिर्जना भएको अवस्था देखिन्छ । 

त्यस्तै, आन्दोलनको विध्वंस र बाढी पहिरो दुवैका कारण अहिले बीमा कम्पनीहरूमा उच्च मागदाबी परिरहेको छ । अहिलेसम्म करिब २५ अर्ब रुपैयाँको मागदाबी परिसकेका कारण यो क्षेत्र समेत माथि उठ्न सकेको देखिँदैन । यी सबै कारणले समेत बजारमा नकारात्मक प्रभाव परेको विश्लेषण गरिन्छ । 

अहिले बजारमा पहिलो त्रैमासको प्रभाव समेत परेको छ । बैंक तथा वित्तीय संस्थाको ऋणको ब्याज तथा किस्ता तिर्नको बजारबाट स्रोत जुटाउने पुरानै प्रचलन हो । यो साता यसको समेत केही प्रभाव रहेको विश्लेषण गरिएको छ । 

त्यसबाहेक पछिल्लो महिना धितोपत्र बजारसँग सम्बन्धित दुई संस्थाहरूमा आन्दोलन चलिरहेको छ । नेपाल धितोपत्र बोर्डका विगत २४ दिनदेखि कार्यालय सञ्चालन हुन सकेको छैन भने नेपाल स्टक एक्सचेञ्जका कर्मचारीहरू कालोपट्टि बाँधेर काम गरिरहेको अवस्था देखिन्छ । यसको समेत केही प्रभाव परेको हुनसक्ने देखिन्छ ।

सेयर बजारका विश्लेषण तथा सेयर बजार लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फुल्लेल अहिलेको अवस्थामा बजार घट्नुपर्ने धेरै ठुलो कारण नभए पनि घटिरहेको भन्दै आगामी दिनदेखि बढ्नसक्ने बताउँछन् । तिहार र पहिलो त्रैमासका कारण बजार घटेको हुनसक्ने भन्दै अब यो अवस्था नरहेको उनको भनाइ छ । 

‘केही अगाडीसम्म प्रोफिट बुक गर्न अधेरै सप्लाई भयो कि भन्ने थियो, अहिले बजार तल झरिसकेकोले यो अवस्था पनि छैन । फर्स्ट क्वार्टर र फेस्टिभल पनि लगभग सकिएको छ । त्यसैले अब बजार बढ्छ भन्ने अपेक्षा गरेका छौँ,’ फुल्लेल भन्छन्, ‘अहिले अर्थ मन्त्रालय र नियामक निकाय पनि बजारमैत्री छन् । अर्थ मन्त्रालयले पुँजीबजार सुधारसम्बन्धी कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न निर्देशन दिएको अवस्था छ, राष्ट्र बैंकले त यो कार्यान्वयन पनि गरिसक्यो, त्यसैले अब राम्रो हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।’

  • यस्तो छ प्राविधिक विश्लेषण 

प्राविधिक विश्लेषणलाई हेर्ने हो भने अहिले बजार प्राविधिक सूचकले राम्रो अवस्था देखाएका छैनन् । सबेजसो परिसूचकले बजारमा बियरिस ट्रेन्डको सङ्केत गरेका छन् ।

विगत १० कारोबार दिनमध्ये बजारले एक दिनको कारोबारले मात्रै ‘हरियो क्यान्डल’ बनाएको छ, बाँकी सबैले रातो क्यान्डल बनाएको अवस्था छ, जुन बियसि ट्रेन्डको लियो सङ्केत हो । यद्यपि अघिल्लो साताको भन्दा यो साताको बजारको लोअर स्याडो कमजोर देखिएकोले यसले बजारमा खरिदकर्ता भित्रिन थालेको सङ्केत भने गर्छ ।   

त्यस्तै, दैनिक कारोबार विश्लेषणलाई आधार मान्दा विगत लामो समयदेखि २१ दिने मुभिङ एभरेजललाई ५ दिने मुभिङ एभरेज रेखाभन्दा माथि देखिन्छ । यसले बजार करेक्सन मात्रै नभई बियरिस ट्रेन्डको सङ्केत गर्छ । त्यस्तै बजार घट्दै जाँदा कारोबार रकममा समेत खासै उतारचढाव नहुनुले बियरिसले निरन्तरता पाउने हो कि भन्ने देखाउँछ । 

पछिल्लो समय बजारमा बोलेन्जर ब्यान्ड सूचकले फराकिलो आकार लिँदै गएको छ । यसले समेत बजारमा वियरिस ट्रेन्डको बलियो सङ्केत गर्छ । अर्कोतिर, आरएसआई अहिले ३३.४३ रहेको छ । यसले सामान्य अवस्था देखाए पनि बजारमा बिक्रीको चाप रहेको अवस्था यसले देखाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप