जसपा नेपालद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
विराटनगर । अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
शनिबार सुनसरीको धरानमा बसेको सो पार्टीको कोशी प्रदेश समितिको बैठकले उक्त निर्णय गरेको प्रदेशका मुख्य सचिव विनोद नेम्वाङले बताए ।
‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ । विकसित नयाँ राजनीतिक घटनाक्रमलाई हेरेर यस्तो निर्णय गरेका हौं,’ नेम्वाङले भने । जसपा नेपालको कोशी प्रदेशसभामा एक सांसद (निर्मला लिम्बू) छिन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ सांसदको समर्थन छ । ९३ सदस्यीय प्रदेशसभामा ६९ सांसदको समर्थन पाएको सरकारका लागि जसपाले समर्थन फिर्ता लिए पनि समस्या पर्ने देखिँदैन ।
जसपाकी सांसद लिम्बूले पनि आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण