बुढीगंगाको मार्बल फ्याक्ट्रीमा कार्यरत सेक्युरिटी गार्ड निरबहादुरको रहस्यमय मृत्यु
सारांश
- मोरङको बुढीगंगा गाउँपालिकामा एक सेक्युरिटी गार्डको शङ्कास्पद मृत्यु भएको छ, परिवारले हत्याको आशंका गरेका छन्।
- प्रहरीले आत्महत्याको प्रारम्भिक जानकारी दिए पनि, परिवारले पोस्टमार्टम प्रक्रियामा आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
- परिवारले घटना रहस्यमय भएको र सत्यतथ्य बाहिर नआएसम्म शव नबुझ्ने अडान लिएका छन्, प्रहरीले थप अनुसन्धान थालेको छ।
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित ‘वाइस नो मार्बल फ्याक्ट्री’मा कार्यरत सेक्युरिटी गार्डको शङ्कास्पद मृत्यु भएको छ । प्रहरीले झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक जानकारी दिए पनि परिवारले प्रक्रिया मिचेर शवको पोस्टमार्टम गरिएको भन्दै हत्याको आशङ्का गरेका छन् ।
इलामको सन्दकपुर घर भई हाल मोरङको बुढीगंगा–५ स्थित ‘वाइस नो मार्बल उद्योग’मा सेक्युरिटी गार्डको रूपमा कार्यरत ४४ वर्षीय निरबहादुर राई बुधबार मृत अवस्थामा फेला परेका थिए ।
इलाका प्रहरी कार्यालय नेमुवाको प्रारम्भिक रिपोर्टमा राईले उद्योग परिसरमा फलामको बलोमा बेल्टको पासो लगाई आत्महत्या गरेको दाबी गरिएको छ ।
तर, घटनाको प्रकृति र त्यसपछिका गतिविधिले मृत्युलाई थप रहस्यमय बनाएको भन्दै मृतकका आफन्तले आपत्ति जनाएका छन् । मृतकका भाइ महेश राईका अनुसार उनीहरूलाई बुधबार राति साढे ९ बजेतिर फ्याक्ट्रीका एक पदाधिकारीले फोन गरेर घटनाबारे जानकारी दिएका थिए ।
‘हामीलाई अस्पताल वा प्रहरीले नभई फ्याक्ट्रीबाट फोन आयो र शव कोशी अस्पतालमा राखिएको छ भनियो,’ उनले भने, ‘त्यहाँ पुग्दा घटनाबारे हामीलाई अँध्यारोमा राखेर मृतककी श्रीमतीसँग मात्र सल्लाह गरी शव उठाइएको रहेछ ।’
परिवारका सदस्य र जनप्रतिनिधिले बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् । आफन्तहरू पोस्टमार्टमको प्रक्रियाका लागि कोशी अस्पताल पुग्दा शवको पोस्टमार्टम भइसकेको पाएपछि घटनाले नयाँ मोड लिएको हो ।
मृतक राईकै वडा सन्दकपुर–१ का वडाध्यक्ष रहरकुमार राईका अनुसार परिवारको रोहबर र प्रहरीको अनुमतिविना नै शवको चिरफार गरिएको थियो । ‘हामीले शव हेर्नुपर्छ भन्दा अस्पतालका कर्मचारीले आनाकानी गरे,’ उनले भने, ‘पछि कर गरेर हेर्दा त हामी पुग्नुअघि नै प्रक्रियाविपरीत पोस्टमार्टम सकिएको रहेछ । यो सरासर षडयन्त्र हो ।’
परिवारले अस्पताल प्रशासन र पोस्टमार्टममा संलग्न डाक्टरले लापर्बाही गरेको र घटना लुकाउन खोजेको आरोप लगाएको छ । ‘हामीले पोस्टमार्टमका लागि कागजपत्र तयार गरेर ल्याएका थियौँ, तर यहाँ हाम्रो अनुमतिविना नै शव चिरफार भयो,’ मृतकका भाइ महेशले भने, ‘हामीले प्रश्न गर्दा पोस्टमार्टममा संलग्न डाक्टर भागेका छन् र कर्मचारीहरू गैरजिम्मेवार जबाफ दिइरहेका छन् ।’
पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर नआएसम्म शव नबुझ्ने अडान लिएको छ । ‘यो आत्महत्या होइन, हत्या हुन सक्छ । बल प्रयोग गरेर झुन्ड्याइएको पनि हुन सक्छ,’ वडाध्यक्ष राईले भने, ‘यो घटना अत्यन्तै रहस्यमय छ, हामीलाई चित्तबुझ्दो जबाफ र निष्पक्ष छानबिन नभएसम्म शव बुझ्दैनौँ ।’
मृतक निरबहादुर राई उक्त कम्पनीमा काम गर्न थालेको १५ दिनमात्र भएको थियो । उनको विवाह भएको पनि एक वर्ष मात्रै पुगेको परिवारले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेषज्ञ टोली खटाएर अनुसन्धान अघि बढाएको जनाएको छ । तर, परिवारको सहमतिविपरीत गरिएको पोस्टमार्टमले प्रहरी अनुसन्धानलाई समेत जटिल बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण