बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?

बिहीबार, ०४ असार २०८३, १२ : ५८
बिहीबार, ०४ असार २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी-७ शिखर सम्मेलनका क्रममा विश्व नेताहरूलाई 'म मालिक हुँ' भनी टिप्पणी गरेका छन्।
  • सम्मेलनमा सहभागी नेताहरूले युक्रेनलाई निरन्तर समर्थन गर्ने र रुसमाथि थप प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाएका छन्।
  • फ्रान्सेली राष्ट्रपति म्याक्रोँले ट्रम्पको अभिव्यक्तिलाई युक्रेन युद्धप्रति अमेरिकी दृष्टिकोणमा आएको परिवर्तनको सङ्केत मानेका छन्।

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व नेताहरूसामु ‘म मालिक हुँ’ भन्दै टिप्पणी गरेका छन् । जी–७ राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा उनले सो टिप्पणी गरेका हुन् । 

फ्रान्सको पर्यटकीय नगर एभियाँ–ले–बाँमा जुन १५ देखि १७ सम्म आयोजित सम्मेलनमा ट्रम्पको उक्त टिप्पणीलाई हल्का व्यङ्ग्यात्मक शैलीमा गरिएको अभिव्यक्तिका रूपमा हेरिएको छ । 

सम्मेलनपछि जारी संयुक्त वक्तव्यले सम्भावित शान्ति वार्तामा युक्रेनको स्थिति थप बलियो बनाउन सक्ने विश्लेषण गरिएको छ । सम्मेलनमा सहभागी नेताहरूले युक्रेनको युद्ध क्षेत्रमा सुधारिएको अवस्थालाई स्वीकार गर्दै उसलाई निरन्तर समर्थन गर्ने र रुसमाथि थप प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनका सहयोगीहरूले सम्मेलनमा ट्रम्पलाई युक्रेनको प्रतिआक्रमण प्रभावकारी भइरहेको तथा रुस शान्ति सम्झौताका सर्त निर्धारण गर्ने अवस्थामा नरहेको सन्देश दिन खोजेका छन् । 

वर्षाैँदेखि युक्रेनप्रति सशङ्कित देखिएका ट्रम्प पछिल्लो समय जेलेन्स्कीको तर्कप्रति केही सकारात्मक बनेको सङ्केत देखिएको छ । पत्रकार सम्मेलनमा ट्रम्पले युद्धमा रुसले युक्रेनभन्दा बढी सैनिक गुमाइरहेको दाबी गर्दै रुसलाई आक्रमणकारी पक्षको संज्ञा दिएका थिए । 

फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोँले ट्रम्पको अभिव्यक्तिलाई युक्रेन युद्धप्रति अमेरिकी दृष्टिकोणमा आएको वास्तविक परिवर्तनको सङ्केत भएको बताएका छन् । अन्य युरोपेली नेताहरूले पनि यस्तै प्रतिक्रिया दिएका छन् ।

गतवर्ष क्यानडामा भएको जी–७ सम्मेलन युक्रेनबारे कुनै संयुक्त धारणा बिना समाप्त भएको थियो । तर यसपटक नेताहरूले युक्रेनप्रति एकीकृत समर्थन व्यक्त गरेका छन् ।

यद्यपि, रुसलाई शान्ति वार्तामा ल्याउने प्रयास अझै पनि ट्रम्पको प्रतिबद्धतामाथि निर्भर रहेको र त्यसमा अनिश्चितता कायमै रहेको कूटनीतिक विश्लेषकहरू बताउँछन् ।

जी–७ नेताहरूले अमेरिका र इरानबिच भएको प्रारम्भिक शान्ति सम्झौताको पनि स्वागत गरेका छन् । उनीहरूले सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

तर सम्मेलनमा ट्रम्पले यस प्रक्रियामा जी–७ राष्ट्रहरूको भूमिका के हुने भन्नेबारे कुनै स्पष्ट प्रतिबद्धता जनाएका छैनन् ।  साथै युरोपका सहयोगी राष्ट्रहरू अमेरिकी वार्ता टोलीको अनुभवहीनता प्रति चिन्तित देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप