बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड

बिहीबार, ०४ असार २०८३, १३ : ०१
बिहीबार, ०४ असार २०८३

सारांश

  • सांसद घनश्याम रिजालले दोलखाको खरिढुङ्गास्थित म्याग्नेसाइट उद्योग सञ्चालनलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।
  • उनले लामो समयदेखि सञ्चालन नभएको उद्योगको जग्गाको सदुपयोग नभएको र स्थानीय बासिन्दा आलु खेतीमा निर्भर रहेको बताए।
  • सांसद रिजालले योजना आयोगले 'गेमचेन्जर' आयोजनाका रूपमा सिफारिस गरेको म्याग्नेसाइट खानीमा बजेट विनियोजन नभएको गुनासो गरे।

काठमाडौँ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसद घनश्याम रिजालले दोलखाको खरिढुङ्गास्थित म्याग्नेसाइट उद्योग सञ्चालनलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट तथा कार्यक्रममाथि भएको छलफलमा  सांसद रिजालले लामो समयदेखि उद्योग सञ्चालन नहुँदा त्यसले ओगटेको जग्गाको सही सदुपयोग हुन नसकेको बताए। सो स्थानका स्थानीय बासिन्दा अहिले पनि आलु खेतीमा नै निर्भर रहनुपरेको उल्लेख गर्दै उनले उद्योग सञ्चालनको सम्भावनाबारे सरकारलाई प्रश्न गरे। 

सांसद रिजालले योजना आयोगले म्याग्नेसाइट खानीलाई 'गेमचेन्जर' आयोजनाका रूपमा सिफारिस गरे तापनि सोहीअनुसार बजेट विनियोजन नभएको गुनासो गरे। उनले खरिढुङ्गा म्याग्नेसाइट, फलाम खानी र मिथेन ग्यास जस्ता रणनीतिक महत्वका आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए। 

बजेटमा ठूला आयोजनाहरूमा पर्याप्त ध्यान पुर्‍याउन नसकिएको बताउँदै सांसद रिजालले थोरै बजेटले मात्र आयोजनाहरूले गति लिन नसक्ने तर्क गरे। 'बजेटमा स-साना कार्यक्रममा मात्रै ध्यान दिँदा जनतामा निराशा पैदा हुन्छ। बरु ठोस र ठूला कार्यक्रममा लगानी बढाउन आवश्यक छ,' उनले भने । 

बैठकमा उद्योग सञ्चालनको विषयमा पटक-पटक कुरा उठाउँदै आएका सांसद रिजालले उद्योग सञ्चालन हुने वा नहुने भन्ने सम्बन्धमा मन्त्रालयले स्पष्ट जवाफ दिनुपर्ने धारणा राखे। यदि उद्योग सञ्चालन नहुने हो भने सो जग्गाको विकल्प खोजेर स्थानीय किसानहरूलाई राहत दिनुपर्ने उनको माग छ। उनले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने यस्ता उद्योगहरूलाई थप गृहकार्य गरी सञ्चालनमा ल्याउन मन्त्रीको ध्यानाकर्षण गराए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप