शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

भारी वर्षाले बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन विभागको आग्रह

मङ्गलबार, ११ कात्तिक २०८२, १६ : ४५
मङ्गलबार, ११ कात्तिक २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका धेरैजसो भू–भागमा भारी वर्षा हुने र यसका कारण नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

विभागले कात्तिक १५ गतेसम्म विशेष गरी कोशी, गण्डकी र बागमती प्रदेशका मुख्य नदी र तिनका सहायक नदीहरूमा जलस्तर बढ्ने र केही स्थानमा सतर्कता तहसम्म पुग्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । 

बाढीसँगै पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको पनि सम्भावना रहेको हुँदा उच्च पहाडी र हिमाली भू–भागमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । 

नदी किनार र होचो भागमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा सर्न र सतर्क रहन विभागले आग्रह गरेको छ । विभागका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावका कारण उल्लेखित प्रदेशहरूमा भारी वर्षा हुनेछ ।

यसबाट नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदायका लागि बाढीको जोखिम बढेको छ। बाढीले जनजीवन, यातायात तथा कृषि क्षेत्रमा प्रत्यक्ष असर पार्न सक्ने भन्दै विभागले थप क्षति हुन नदिन पूर्व तयारीका लागि अनुरोध गरेको छ ।

यी जिल्लाहरूमा बाढी र पहिरोको उच्च जोखिम:

विभागले विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा भारी वर्षासँगै बाढी र पहिरोको जोखिम उच्च रहेको औँल्याएको छ ।

जोखिमयुक्त जिल्लाहरूमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, धनकुटा, इलाम, पाँचथर, मोरङ, सुनसरी, सिन्धुली, दोलखा, मकवानपुर, चितवन, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, रोल्पा, रुकुम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, म्याग्दी, बागलुङ, पर्वत, कास्की, लमजुङ, गोर्खा, तनहुँ, स्याङ्जा, धादिङ, नुवाकोट र रसुवा रहेका छन् ।

image

image (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप