मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

कात्तिक १९ बाट गौरीटारमा प्रेसिडेन्ट लिग, १० टिम सहभागी हुने

सोमबार, १७ कात्तिक २०८२, १७ : ४८
सोमबार, १७ कात्तिक २०८२

हेटौँडा । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हेटौँडामा एन्फा प्रेसिडेन्ट लिग बुधवार सुरु हुने भएको छ । हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा कात्तिक १९ गतेबाट मङ्सिर ४ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

एन्फाले सोमबार पत्रकार सम्मेलनमार्फत लिगबारे जानकारी गराउँदै प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन हुनेछ । एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगितामा प्रदेशका १० टोलीले सहभागी हुने जानकारी गराइएको हो ।

लिगमा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृति युवा क्लब (बर्दिया), देउराली यूथ क्लब (धनकुटा), काँक्रेविहार यूथ क्लब (सुर्खेत), नव जनजागृती (बारा), विजय स्पोर्टस क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौँ), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम तिखातल (दोलखा) र लालीगुराँस एसोसिएसन क्लब कास्की छन् ।

सो टिमहरू एन्फामा आबद्ध भई जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगमा छनोट भएका क्लबहरू रहेको उनले बताए । प्रतियोगिताको सेमिफाइनल पुग्ने ४ टोलीले राष्ट्रिय लिग लागि छनोट हुनेछन् ।

प्रतियोगितामा प्रत्येक टिमले ए डिभिजनका ३ र राष्ट्रिय टिमका २ गरी ५ जना खेलाडी दर्ता गर्न सक्ने व्यवस्था गरिएको प्रवक्ता शाहले बताए । प्रतियोगिताले स्थानीय स्तरको प्रतिभालाई मेन स्टिममा पुर्याउन सहयोग पुग्ने विश्वास लिएको र कुनै पनि टिमले विदेशी खेलाडीलाई टिममा दर्ता गर्न नपाउने प्रावधान रहेको उनले बताए ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ र दोस्रो टोलीले ५ लाख रुपैयाँसहित ट्रफि प्राप्त गर्नेछ भने विधागततर्फ फेर प्ले टिम र मोस्ट भ्यालुएवल टिमलाई ५० हजार रुपैयाँसहित ट्रफी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपरलाई पच्चिस हजार रुपैयाँ, हरेक खेलका प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

एन्फाले प्रतियोगितामा सहभागी क्लबहरूलाई ७ लाख रुपैयाँका दरले तयारी खर्च समेत उपलब्ध गराएको जनाइएको छ । प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार रुपैयाँ बजेट रहेको प्रवक्ता शाहले बताए । प्रतियोगिता सञ्चालनका लागि स्थानीय आयोजक मकवानपुर जिल्ला फुटबल सङ्घ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप