शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

पार्टी ‘रिफर्म’को विषयले रास्वपामा हलचल, नेतृत्व क्षमतामाथि उठ्यो प्रश्न

आइतबार, २३ कात्तिक २०८२, १९ : ००
आइतबार, २३ कात्तिक २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक ११ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । चितवनको सौराहामा कात्तिक २१–२२ बसेको बैठकले फागुन २१ गते आमनिर्वाचन घोषणा भएको कारण देखाउँदै पूर्वनिर्धारित महाधिवेशन ६ महिना पर सार्ने निर्णय गरेको छ ।

देशमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेकोसमेत बैठकले ठहर गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘देशमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेकोमा एकमत छौँ । यसका लागि समान विचार भएका परिवर्तनकारी शक्तिसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह गर्दछौँ । परम्परागत राजनीतिक शक्तिको विकल्प खोज्ने जनचाहनालाई सम्बोधन गर्न रास्वपाको भूमिका विशेष र प्रभावकारी हुनुपर्नेमा जोड दिन्छौँ ।’

577737350_814814914591838_3365246988686332659_n

यद्यपि पार्टी सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेको वेला आयोजना भएको बैठकले कतिपय विचारलाई सम्बोधन गर्न सकेन । राजनीतिक ध्रुवीकरणको विषयमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा स्पष्ट मार्गचित्र नआएको तथा उपसभापति डा. स्वर्णिम वाग्लेले पेस गरेको बाचापत्र, महामन्त्री कवीन्द्र बुर्लाकोटीले पेस गरेको संगठनात्मक प्रतिवेदन आपसमा दोहोरिएको तथा निकै फितलो भएको प्रतिनिधिहरूको आरोप थियो ।

बैठकमा पार्टी नेतृत्वले प्रतिवेदन पेस गर्दैगर्दा सुदूरपश्चिम, कोशी, मधेस प्रदेश समितिबाट प्रतिनिधिहरूले उठेर विरोध जनाए । पार्टी सुधारको पक्षमा लगातार वकालत गर्दै आएकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले आफूलाई बोल्न नदिएको विषयमा उठेर विरोध गरिन् । एक प्रकारले रास्वपाको बैठक हलमा तमासाजस्तै देखिएको थियो ।

कार्कीले ‘रिफर्मेसन’को चार बुँदे फरक प्रस्ताव नै पेस गरिन् । उनले महाधिवेशन पार्टीको अक्सिजन भएकाले मंसिरभित्रै गर्नुपर्ने प्रस्ताव गरेकी थिइन्, तर उनको प्रस्तावलाई बैठकले अस्वीकार गरी निर्वाचन भएको ६ महिनाभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका बनाउन केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गर्‍यो ।

महामन्त्री बुर्लाकोटीले पार्टी विचार र संगठन निर्माणकै क्रममा रहेकाले ‘रिफर्मेसन’ नहुने स्पष्ट पारे । ‘विचार र संगठन निर्माणकै क्रममा रहेकाले रिफर्मेसन भन्ने हुँदैन । जेनजी विद्रोहपछि पार्टीको औचित्य झन् बढेर गएको छ । औचित्य समाप्त भएको अवस्थामा रिफर्मेसनको कुरा हुन्छ’, बुर्लाकोटीले भने, ‘कम्युनिस्ट पार्टीमा रिफर्मको कुरा आउँछ । त्यहाँ एक जनाले पदाधिकारी, सचिवालय रिफर्म गर्छ, तर हाम्रोजस्तो लोकतान्त्रिक पार्टीमा महाधिवेशनले नै निर्णय गर्छ ।’

हलमा बहुसंख्यक प्रतिनिधिले निर्वाचनपछि नै महाधिवेशन गर्नुपर्ने सुझाव दिएकाले मिति सारिएको बुर्लाकोटीले जिकिर गरे । अहिले तदर्थ समिति रहेकाले बाहिरबाट नेतृत्व आयात गरेर ल्याउने, पदाधिकारी बढाउने वा केन्द्रीय समितिको आकार बढाउने काम नहुने उनको भनाइ छ ।

‘अहिलेको पार्टी समिति तदर्थ समिति हो । नेतृत्वको विकल्प खोज्ने, बाहिरबाट आयात गर्ने, पदाधिकारी बढाउने वा केन्द्रीय समिति थपघट गर्ने भन्ने हुँदैन । यी सबै निर्णय महाधिवेशनले नै गर्छ’, उनले भने ।

विस्तारित बैठकमा कार्यवाहक सभापति अर्याल र आफूले पेस गरेको प्रतिवेदनमा निर्वाचन केन्द्रित पार्टी निर्माण गर्ने र विचार मिल्ने वैकल्पिक शक्तिहरूबिच ध्रुवीकरण गर्ने स्पष्ट प्रस्ताव आएको भन्दै बुर्लाकोटीले प्रतिनिधिहरूको बुझाइमा समस्या देखिएकाले केही असहज वातावरण सिर्जना भएको जिकिर गरे ।

अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा अहिले नेतृत्वलाई विस्थापित नभई स्थापित गर्ने समय भएको उल्लेख गरेका छन् । पार्टी रिफर्म गर्ने र चर्चित व्यक्तिलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्छ भन्ने कुरा जायज हुँदाहुँदै पनि मूल नेतृत्वलाई नै आयात गर्नुपर्ने अघोषित नीति अस्वीकार्य हुने उनको भनाइ थियो ।

अर्यालले भनेका छन्, ‘पार्टी रिफर्म गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्ति/व्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदाहुँदै पनि रिफर्म वा स्वागतको बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजीचाहिँ स्वीकार्य हुन सक्दैन ।’

कार्कीले विचार मिल्नसक्ने विभिन्न राजनीतिक पार्टीहरूसँग घण्टी चुनाव चिह्न साझा रहनेगरी एकता गर्नुपर्नेमा जोड दिएकी छन् । उनले भनिन्, ‘यस क्रममा रास्वपाले उच्चतम उदार चरित्र देखाउँदै ठुला वा साना, दुवै खालका पार्टीहरूलाई एकता प्रक्रियामा स्वागत गर्नु पर्दछ ।’

अर्यालले पुराना पार्टीहरूजस्तो पूरै भत्काएर नयाँ ‘रिफर्म’ गर्नुपर्ने अवस्थामा नभएको जिकिरसमेत गरे । ‘हामी त पार्टी निर्माणकै क्रममा छौँ । चौतर्फी रूपमा योजनाबद्ध तरिकाले मूलमूल नेतृत्वमा प्रहार गरी पार्टीलाई नै सकाइदिने योजनालाई बुझ्न सकेनाँै भने हामीले पनि हार्छौं र जनतालाई पनि हराउँछौँ । त्यसैले नेतृत्वहरूलाई अहिले विस्थापित होइन, स्थापित गर्ने समय हो ।’

तर केन्द्रीय सदस्य कार्कीले महाधिवेशन आयोजक समिति घोषणा गरेपछि पनि केन्द्रीय सचिवालय र पदाधिकारी रहिरहनु तथा सचिवालय विस्तार गरिनुको आधार स्पष्ट नभएको बताएकी थिइन् । ‘महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न पार्टीको मौजुदा कार्यकारी नेतृत्व (पदाधिकारी तथा सचिवालय) भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नु पर्दछ’, फरक मत राख्दै उनले भनिन्, ‘महाधिवेशन आयोजक समितिमा जेनजी, विभिन्न वैकल्पिक शक्तिहरू एवं बौद्धिक वर्गलाई पनि समावेश गर्नु पर्दछ ।’

यसैगरी कार्कीले विचार मिल्नसक्ने विभिन्न राजनीतिक पार्टीहरूसँग घण्टी चुनाव चिह्न साझा रहनेगरी एकता गर्नुपर्नेमा जोड दिएकी छन् । उनले भनिन्, ‘यस क्रममा रास्वपाले उच्चतम उदार चरित्र देखाउँदै ठुला वा साना, दुवै खालका पार्टीहरूलाई एकता प्रक्रियामा स्वागत गर्नु पर्दछ ।’

576969506_815656851174311_8490330383998037075_n

राष्ट्र निर्माणको वैचारिक नेतृत्व अब रास्वपाले नै गर्नुपर्नेमा कार्कीले जोड दिएकी छन् । नेपालको हालसम्मको राजनीतिक परिदृश्यमा वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरण नै प्रबल रहेको विश्लेषण गर्दै कार्कीले तीमध्ये पनि कम्युनिज्म, समाजवाद, सोसल डेमोक्रेसी आदिको नारा भजाइ गैरचरित्रबाट देशलाई ब्रह्मलुट भइरहेको यथार्थ चित्रण गरेकी छन् । यस सन्दर्भमा देशको आर्थिक समुन्नति, स्वास्थ्य, शिक्षा, रोजगारी तथा प्राविधिक क्रान्ति साथै सांस्कृतिक स्वाभिमानको एजेण्डा स्थापित हुन नसकेको उनको निष्कर्ष छ ।

‘देशलाई वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणमा फस्न नदिई लोककल्याणकारी राज्यको अवधारणा स्थापित गर्नका लागि रास्वपाले आफूलाई स्पष्टसँग मध्यमार्गी राजनीतिक पार्टीका रूपमा नयाँ ध्रुवीकरणको नेतृत्वका लागि अघि बढ्नु पर्दछ’, कार्कीले स्पष्ट पारेकी छन् ।

यद्यपि महामन्त्री बुर्लाकोटीले नेपालमा अहिले वामपन्थी र दक्षिणपन्थीको चरित्र उस्तै रहेकाले रास्वपा नै परिवर्तित अवस्थामा स्पष्ट म्यान्डेट लिएर अगाडि बढेको पार्टी भएको दाबी गरे । उनले भने, ‘जेनजी विद्रोहको स्पष्ट म्यान्डेट लिएर अगाडि बढेको पार्टी रास्वपा नै हो । नेपालमा अहिले वामपन्थी र दक्षिणपन्थी पार्टीको चरित्र उस्तैउस्तै छ । केही पालिकामा हाम्रो संगठन निर्माण भइसकेको छ । केही पालिकामा निर्माण हुने क्रममै छौँ । त्यसैले हाम्रो औचित्य सकिएको छैन ।’

तर बैठकमा सहभागी एक नेताले पार्टी नेतृत्व राजनीतिक ध्रुवीकरणमा स्पष्ट हुन नसकेको आरोप लगाए । ती नेताले भने, ‘राजनीतिक ध्रुवीकरणमा पार्टीको स्पष्ट मार्गचित्र के हो भन्नेमा नेतृत्व नै अलमलमा देखिन्छ । पार्टीलाई जीवन्त बनाउने एजेन्डा आएन । निरन्तरताको पक्षमा देखियो । स्पष्ट भिजन नभएका नेतृत्वबाट कसरी पार्टी निर्माण हुन्छ ? कसरी देश बन्छ ?’

पार्टी नेतृत्वमा रविको अभाव स्पष्ट खट्किएको ती नेताले महसुस गरे । कार्यवाहक सभापति, महामन्त्री र उपसभापतिले पेस गरेको तीन भिन्नाभिन्नै प्रतिवेदन आपसमा रिपिट भएको, पार्टी निर्माणको स्पष्ट खाका ल्याउन नसकेको, निकै फितलो रहेको ती नेताको बुझाइ छ ।

यता सहमहामन्त्री विपिनकुमार आचार्यले लोकतान्त्रिक पार्टीभित्र विवाद आउनु सामान्य भएको जिकिर गरे । पार्टीको आन्तरिक छलफलमा टिका–टिप्पणी, आलोचना वा विरोध भएमात्र त्यो पार्टी जीवन्त हुने आचार्यको ठम्याइ छ । नेतृत्वको विकल्पमा अहिले कसैले पनि प्रस्ताव नल्याएको उनको जिकिर छ ।

‘लोकतान्त्रिक पार्टीमा जति छलफल, बहस, टिका–टिप्पणी, आलोचना भयो, त्यति नै पार्टी जीवन्त हुन्छ । नेतृत्वले ल्याएको प्रस्तावमा समर्थनमात्र गरियो भने पार्टी सही दिशामा अगाडि बढ्न सक्दैन । जहाँसम्म नेतृत्वको विकल्पको विषय छ, बैठकमा कसैले पनि नेतृत्व फेर्नुपर्छ भनेर ल्याउनुभएको छैन,’ उनले भने ।

पूर्वसमहामन्त्री सुमना श्रेष्ठले नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै केही महिना पहिले पार्टी परित्याग गरेकी थिइन् । पार्टी एकता र ध्रुवीकरणको विषयमा छलफल गर्न बनाइएको संवाद समितिका संयोजक पुकार बमले वैकल्पिक शक्तिहरूको साझा पार्टी बनाउन बाहिरबाट नेतृत्व ल्याउने सकिने गरी प्रस्ताव आएको नेतृत्वलाई जानकारी गराएका थिए । पुराना पार्टीहरूलाई निर्वाचनबाटै परास्त गर्न सभापति रविले अदालतबाट सफाइ नपाएसम्म ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङलाई नेतृत्वमा ल्याउन सकिने उनको प्रस्ताव थियो ।

घिसिङलाई साझा प्रस्तावमा सभापति बनाउन सकिएमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको समेत समर्थन पाउने र जेनजी एलाइन्सहरू पनि रास्वपाप्रति आकर्षित हुन सक्ने विश्वास पुकार बमले दिलाएका थिए । राष्ट्रिय मुद्दा साझा रूपमा समाधान गर्न रविले नै ठुलो हृदय देखाउनुपर्ने उनको बुझाइ थियो । तर उनको प्रस्ताव कार्यवाहक सभापति अर्याल र उपसभापति वाग्ले लगायत नेताहरूले अस्वीकार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप