शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा पाकिस्तानले श्रीलङ्कालाई ६ रनले हरायो

बुधबार, २६ कात्तिक २०८२, १० : १८
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • पाकिस्तानले पहिलो एकदिवसीय खेलमा श्रीलंकालाई ६ रनले पराजित गर्‍यो, सलमान आगाको शतक र हरिस रउफको बलिङ प्रदर्शन उत्कृष्ट रह्यो।
  • आगाको अविजित १०५ रन र हरिस रउफको ४ विकेटको मद्दतले पाकिस्तानले २९९ रन बनायो भने श्रीलंका २९३ रनमा सीमित भयो।
  • इस्लामावादमा आत्मघाती आक्रमण भए पनि खेल निर्धारित समयमै अघि बढेको थियो, जसमा पाकिस्तानले शृङ्खलामा १-० को अग्रता लियो।

रावलपिन्डी । सलमान आगाको सानदार शतक र हरिस रउफको उत्कृष्ट बलिङको मद्दतले पाकिस्तानले मंगलबार रावलपिन्डीमा भएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा श्रीलङ्कालाई ६ रनले पराजित गरेको छ। यो जितसँगै घरेलु टोली पाकिस्तानले तीन खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ।

आगाले ८७ बलमा अविजित १०५ रन बनाएपछि पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९९ रनको बलियो योगफल तयार पारेको थियो। जवाफमा हरिस रउफले ४ विकेट लिएपछि श्रीलङ्का ५० ओभरमा ९ विकेट गुमाएर २९३ रनमा सीमित भयो।

१२ जनाको मृत्यु हुने गरी इस्लामाबादमा आत्मघाती आक्रमण भए पनि खेल भने निर्धारित समयमै अघि बढेको थियो। पाकिस्तान क्रिकेट बोर्डले आक्रमणपछि भ्रमणकारी टोलीको सुरक्षा बढाइएको बताएको छ।

लक्ष्य पछ्याउने क्रममा श्रीलङ्काका लागि डेब्यु गरिरहेका कमिल मिश्र (३८ रन) र पथुम निसङ्का (२९ रन) ले ८५ रनको राम्रो ओपनिङ साझेदारी गरे। तर, हरिस रउफले पाँच रनको अन्तरमा यी दुवै ओपनर र कुशल मेन्डिस (शून्य) लाई आउट गर्दै खेलमा पाकिस्तानलाई फर्काए। 

सदिरा समराविक्रमा (३९ रन) र कप्तान चरिथ असलंका (३२ रन) ले चौथो विकेटका लागि ५७ रनको साझेदारी गर्दै टोलीलाई लयमा फर्काउने प्रयास गरे। तर, बाबर आजमले स्लिपमा उत्कृष्ट क्याच लिँदै समराविक्रमालाई पभेलियन फर्काएपछि यो साझेदारी पनि टुट्यो।

२१०/७ को अवस्थामा पुगेको श्रीलङ्का हारको संघारमा थियो, तर वानिन्दु हसरंगाले ५२ बलमा ५९ रनको आक्रामक पाली खेल्दै एक्लो सङ्घर्ष गरे। उनको पारीले अन्तिम दुई ओभरमा जितका लागि २३ रन चाहिएको समीकरणमा ल्यायो । तर २१ रन आवश्यक हुँदा ८ बल बाँकी छँदै उनी आउट भए। हसरंगाले ७ चौका प्रहार गरे भने जनिथ लियानागेले २८ रन बनाउन दुई छक्का र दुई चौका प्रहार गरे।

यसअघि ब्याटिङतर्फ, टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ९५/४ को सङ्कटपूर्ण अवस्थामा पुगेको थियो। यसपछि आगाले आफ्नो दोस्रो एकदिवसीय शतक बनाए भने हुसेन तलतले ६२ रनको योगदान दिए। उनीहरूको १३८ रनको पाँचौँ विकेट साझेदारीले टोलीलाई उकास्यो। 

श्रीलङ्काका स्पिनर हसरंगाले ५४ रन खर्चेर ३ विकेट लिँदै पाकिस्तानलाई सुरुवाती झड्का दिएका थिए। आफ्नो पहिलो एकदिवसिइ अर्धशतक बनाउने क्रममा तलतले एक छक्का र ६ चौका प्रहार गरे। 

मोहम्मद नवाजले २३ बलमा आक्रामक ३६ रनको अविजित पाली खेल्दै पाकिस्तानलाई अन्तिम १० ओभरमा १०४ रन जोड्न मद्दत गरे।

श्रीलङ्काका पेसर असिथा फर्नान्डोले पाँचौँ ओभरमा ओपनर साइम अयुबलाई ६ रनमा एलबीडब्लु आउट गरेर पहिलो सफलता दिलाएका थिए। त्यसपछि फखर जमान (३२ रन) र बाबर आजम (२९ रन) ले दोस्रो विकेटका लागि ५४ रन जोडे। हसरंगाले १६ बलको स्पेलमा जमान, आजम र मोहम्मद रिजवान (५ रन) लाई आउट गरेर पाकिस्तानको शीर्ष क्रम ध्वस्त पारेका थिए।

अब यो शृङ्खलाका बाँकी खेलहरू बिहीबार र शनिबार रावलपिन्डीमै हुनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप