बागमती प्रदेशमा एक वर्षमा ५४३ नयाँ उद्योग
सारांश
- बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/०८२ मा ५४३ वटा नयाँ उद्योग दर्ता भएका छन्।
- यी उद्योगहरूले ७१ अर्ब ९७ करोड रुपैयाँ पुँजी प्रस्ताव गरेका छन् र २४ हजार ९३ जनालाई रोजगारी दिने अपेक्षा गरिएको छ।
- सर्वाधिक उद्योग काठमाडौँमा दर्ता भएका छन्, जसले १५ हजार ८५८ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन्।
काठमाडौँ । बागमती प्रदेशमा गत आर्थिक वर्ष २०८१/०८२ मा औद्योगिक गतिविधि सकारात्मक देखिएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनअनुसार २०८१ साउनदेखि २०८२ असार मसान्तसम्मको अवधिमा ५४३ वटा नयाँ उद्योगहरू दर्ता भएका हुन ।
प्रतिवेदन अनुसार उद्योगहरूले कुल ७१ अर्ब ९७ करोड रुपैयाँ बराबरको पुँजी प्रस्ताव गरेका छन् भने २४ हजार ९३ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौँमै थुप्रियो उद्योग
प्रतिवेदनअनुसार बागमती प्रदेशका काठमाडौँ जिल्लामा सर्वाधिक ३४० वटा उद्योग दर्ता भएका छन् । जसले १५ हजार ८५८ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् । भक्तपुरमा ८३ र ललितपुरमा ७४ वटा उद्योग दर्ता भएका छन् । मकवानपुरमा १४ वटा उद्योग दर्ता भएका छन् ।
बागमती प्रदेशमा अधिकांश उद्योगहरू काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर), चितवन र मकवानपुरमा केन्द्रित रहेको देखिन्छ । प्रदेशमा दर्ता भएका प्रमुख उद्योगहरूमा छालाका जुत्ता, कपडाका सामान, जीवजन्तुको आहार, ऊनको तयारी पोसाक, सुतिको तयारी पोसाक, गलैँचा, पश्मिना, फेल्टका सजावटका सामान, चाउचाउ, बिस्कुट, पेय पदार्थ, इँटा, औषधी र सिमेन्ट उद्योगहरू पर्दछन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण