बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
अपडेट

यी कार्यालयबाट नयाँ सवारी लाइसेन्स परीक्षा सुरु, कसरी दिने आवेदन ?

बुधबार, २६ कात्तिक २०८२, १४ : ११
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमति पत्र परीक्षा सुरु गरेको छ, जसले जेनजी आन्दोलनका कारण सेवा बन्द भएको थियो।
  • पहिलो चरणमा उपत्यकाका चार कार्यालयबाट सेवा सुरु भएको छ, र छिट्टै अन्य स्थानमा पनि विस्तार गरिनेछ।
  • अत्यावश्यक परेका सेवाग्राहीले अनलाइन वा विभागमा उपस्थित भएर तत्काल लाइसेन्स लिन सक्नेछन्।

काठमाडौँ । जेनजी आन्दोलनका कारण प्रभावित नयाँ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) परीक्षा सुरु भएको छ । यातायात व्यवस्था विभागले पहिलो चरणमा उपत्यकाका चार यातायात व्यवस्था कार्यालयबाट सेवा थालेको हो ।

विभागका निर्देशक केशव खतिवडाकाअनुसार आइतबारदेखि यातायात व्यवस्था कार्यालय सानोभर्‍याङ र भक्तपुरको राधेराधेबाट तथा सोमबारदेखि चाबहिल र एकान्तकुना कार्यालयबाट सेवा सुरु भएको छ ।

निर्देशक खतिवडाले भने, ‘नयाँ लाइसेन्स लिनेहरुका लागि उपत्यकामा चार वटा कार्यालयहरूबाट सेवा सुरु भएको छ । अब बिस्तारै अन्य स्थानबाट पनि सेवा दिने तयारी गर्दैछौँ ।’

अवधि सकिएका नयाँ र पुराना लाइसेन्स सबैको नवीकरण सेवा पनि यसअघि नै सुरु भइसकेको छ ।

उनका अनुसार छिट्टै उपत्यकाबाहिरका यातायात व्यवस्था कार्यालयबाट पनि नयाँ लाइसेन्स सेवा सुरु गरिँदै छ । देशभरका ४२ मध्ये ३८ वटा यातायात व्यवस्था कार्यालयबाट अन्य सेवा सुरु भइसकेको छ । 

  • कसरी दिने आवेदन ? 

नयाँ सवारी लाइसेन्सका लागि सेवाग्राहीले applydlnew.dotm.gov.np मा गएर आवेदन दिनसक्ने विभागले जनाएको छ । विभागका अनुसार उक्त वेवसाइमा गइसकेपछि आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्ने, क्याप्चा प्रविष्ट गर्ने यसपछि ‘एम पिन’ मोबाइलको म्यासेजमा आउँछ । उक्त एमपिन हानिसकेपछि ‘न्यु लाइसेन्स’मा गएर आफूले कुन यातायात कार्यालयमा गएर परीक्षा दिने हो त्यस कार्यालय छान्नु पर्नेछ । यसपछि आफूले चाहेको समय छानेर नयाँ लाइसेन्सका लागि आवेदन दिन सकिन्छ । त्यसपछि लिखित र प्रयोगात्मक परिक्षा हुने विभागको भनाइ छ ।

  • अत्यावश्यक लाइसेन्स लिन के गर्ने ? 

लाइसेन्स तत्काल आवश्यक परेका सेवाग्राहीले अनलाइनमार्फत अर्थात विभागमा उपस्थित भएर निवेदन दिएपछि तत्काल उपलब्ध गराउने विभागले जनाएको छ ।

अत्यावश्यक चालक अनुमति पत्र छपाई सम्बन्धी निर्देशिकामा भिसा र जब अप्लाइका लागि अत्यावश्यक सवारी चालक अनुमति पत्र तत्काल उपलब्ध गराउने व्यवस्था छ । यसअनुसार विभागले कुनै नेपाली नागरिकलाई प्रवेशाज्ञा प्राप्त (भिसा अप्लाइ) गर्न अत्यावश्यक भए तत्काल चालक अनुमति पत्र छपाई गर्न सक्नेछ ।  

निवेदकले भिसा अप्लाइ गर्न चालक अनुमति पत्र अत्यावश्यक भएको पुष्टि भएको कागजातसहित सम्बन्धित कन्सल्टेन्सी वा म्यानपावर कम्पनी वा स्पोन्सरबाट सिफारिसपत्र संलग्न गरी विभागसमक्ष आवेदन गर्नुपर्नेछ ।  

लाइसेन्स अत्यावश्यक छपाइका लागि जब अप्लाइको फारम वा जब अप्लाइका लागि चालक अनुमति पत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कुरा पुष्टि हुने कागजात समेत संलग्न गरी विभागमा आवेदन गर्न सकिनेछ ।

यसका लागि सवारी चालक अनुमतिपत्रको फारम  वेबसाइटमा गई विभागसमक्ष अनलाइन आवेदन गर्न सकिनेछ । तर सर्भर डाउन लगायतका समस्या भएमा आवश्यक कागजात संलग्न गरी विभागसमक्ष आवेदन गर्न सकिने छ ।  

साथै विद्यालय अस्पताल सार्वजनिक निकायमा चालक अनुमति पत्र अत्यावश्यक भएमा योग्य नागरिकले कार्यालयको सिफारिससहित चालक अनुमति पत्र अत्यावश्यक छपाइका लागि आवेदन गर्न सकिन्छ । 

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीका कारण यातायात व्यवस्था विभागमा ठुलो क्षति पुगेको थियो । विभागको सर्भरदेखि सवारी लाइसेन्स प्रिन्टरसमेत जलेर ध्वस्त बनेको थियो । त्यसपछि विभागका सबै सेवा ठप्प भएको थियो । अहिले विभागले बिस्तारै आफ्नो सेवा नियमित गर्न थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप