उपसभामुख इसरले भनिन् : सांसदलाई पदमुक्त गर्ने कार्य नियमसङ्गत छैन
सारांश
- मधेस प्रदेश उपसभामुख बबिताकुमारी राउत इसरले सभामुख रामचन्द्र मण्डलले संविधान विपरीत सदस्य पदमुक्त गरेको बताइन्।
- सभामुखले पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेपछि उपसभामुख इसरले नियम विपरीत भएको बताइन्।
- सभामुख मण्डलले दर्ता किताब दराजमा राखेर महाअभियोग प्रस्ताव दर्ता गर्न अवरोध गरेको आरोप छ।
काठमाडौँ । मधेस प्रदेशका उपसभामुख बबिताकुमारी राउत इसरले सभामुख रामचन्द्र मण्डलले संविधान विपरीत प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको बताएकी छन् । शनिबार मुख्यमन्त्री नियुक्तिकाे विराेधमा आयोजित धर्ना कार्यक्रममा सात दलका सांसदहरूलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।
प्रदेशसभामा अनुपस्थित रहेको भन्दै सभामुख मण्डलले ५ जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका थिए । सभामुखको सो काम नियम विपरित भएको उपसभामुख इसरले बताइन् ।
‘लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसदलाई कारबाही गर्न सकिन्छ तर जसलाई कारबाही गरेका छन्, उनीहरू विभिन्न बैठकमा उपस्थित रहेको मैले देखेको छु’ उनले भनिन्, ‘अस्ति जितेन्द्र सोनलले विश्वासको मत लिँदा ती सांसदहरू उपस्थित हुनुहुन्थ्यो । सतिशकुमार सिंह पनि विश्वासको मत लिँदा उपस्थित हुनुहुन्थ्यो, त्यसको रेकर्ड मसँग छ । यसरी उपस्थित हुँदाहुँदै कसैलाई कारबाही गर्न मिल्दैन ।’
मधेसका सांसदहरूले सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव ल्याएका थिए । उपसभामुख इसरले आफूले तोक लगाएपछि दर्ता गर्न जाँदा सभामुखले दर्ता चलानी पुस्तिका दराजमा ताल्चा लगाएर राखेको आरोप लगाइन् ।
सचिवले अर्को दर्ता किताब खडा गरेर महाअभियोग प्रस्ताव दर्ता भएको बताउँदै उनले सभामुख मण्डलले सांसदलाई हातपात गरेपछि तनावको अवस्था सृजना भएको बताइन् ।
आफूले नै सुरक्षाकर्मीलाई बोलाएर अशान्त वातावरणलाई नियन्त्रणमा लिएको बताउँदै उपसभामुख राउतले महाअभियोगको प्रस्ताव प्रक्रिया अगाडि बढाउने बताइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण