कांग्रेसभित्र आन्तरिक खिचातानीले राष्ट्रिय राजनीतिका एजेन्डा ओझेलमा
सारांश
- जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएर निर्वाचन घोषणा, तर दलहरू विभाजित छन्।
- कांग्रेसले राष्ट्रिय मुद्दामा ध्यान नदिई आन्तरिक राजनीति र महाधिवेशनमा जोड दिएको छ।
- विज्ञहरूले कांग्रेसको अलमलले पार्टी सुधार नचाहेको र लोकतान्त्रिक अभ्यासमा समस्या देखाएको बताए।
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि जननिर्वाचित प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भएको छ । प्रतिनिधि सभा विघटन संविधान सम्मत् हो कि होइन भन्नेमा चर्को बहस भइरहेको छ । आन्दोलनपछि संविधान अनुसारका काम भए/नभएबारे पनि फरक/फरक तरिकाले बहस भइरहेका छन् ।
सरकार र निर्वाचन आयोगले निर्वाचनको तयारी अगाडि बढाइरहे पनि निर्वाचनका सरोकारवाला पक्ष राजनीतिक दलहरू भने निर्वाचनमा भाग लिने र नलिने दुई कित्तामा विभक्त छन् । जेनजी आन्दोलनअघि सरकारको नेतृत्व गरेको नेकपा एमालेले निर्वाचनमा भाग लिने/नलिने स्पष्ट नगर्दै पुनर्स्थापनाको पक्षमा अदालत र सडकमा जाने बताएको छ । अरू दल भने निर्वाचनमा जानका लागि सकारात्मक छन् ।
तर, विघटित प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले भने अहिलेसम्म यी महत्त्वपूर्ण विषयमा संस्थागत निर्णय गर्न सकेको छैन । आन्दोलनपछि बसेको कार्यसम्पादन समिति बैठकले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेको थियो । लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनमा जाने कांग्रेसको निर्णय थियो ।
यसबारे आधिकारिक निर्णय गर्न गत असोज २८ गतेदेखि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अझै जारी छ । बैठकमा प्रतिकूल अवस्थाबाट गुज्रिएको राष्ट्रिय राजनीतिबारे भन्दा पार्टीको आन्तरिक राजनीतिबारे चर्को बहस भइरहेको छ ।
पार्टीभित्र महाधिवेशनको बहस चर्को हुँदा कांग्रेस राष्ट्रिय मुद्दामा समेत हराउन थालेको छ ।
जेनजी आन्दोलनको विकसित घटनाक्रममा अहिलेसम्म कांग्रेसले औपचारिक दृष्टिकोण नै सार्वजनिक गर्न सकेको छैन । अर्कोतर्फ, यत्रो संक्रमणकालीन अवस्थामा देशकै पुरानो दलको उपस्थिति र भूमिका शून्य देखिएको छ ।
जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा केन्द्रीय सदस्य उदय शमशेर राणाले देशकै ठुलो दल भएर पनि कांग्रेसको ध्यान राष्ट्रिय राजनीतिबाट हटेकोमा चिन्ता जनाउँदै यसबारे नेतृत्वले ठोस धारणा ल्याउनुपर्ने माग गरेका थिए । ‘राष्ट्रिय राजनीतिमा कांग्रेसको धारणा के हो ? हामी अहिले कुन अवस्थामा कहाँ, कसरी उभिएका छौँ ? भदौ २७ गते अन्तरिम सरकार बनेपछि भारतीय नरेन्द्र मोदीसहितका छिमेकी नेताहरूले दुई–दुई पटक बधाई दिइसके । कूटनीतिज्ञ र राजदूत दौडिँदै बधाई दिन गए । अझै पनि हाम्रो पार्टी सरकारबारे ठोस धारणा नबनाएर मौन बसेको छ,’ राणाको धारणा थियो ।
राणाले बैठकमा १५औँ महाधिवेशन र विशेष महाधिवेशनबाहेक अन्य कुरामा छलफल हुन नसकेकोतर्फ आपत्ति जनाए । ‘नेताहरू एक हुनुपर्छ भन्ने कार्यकर्ताले अपेक्षा गरेका छन् । हाम्रो बैठक लामो चलिरहे पनि देशका ठुला विषयमा कुनै कुरा भएको छैन । देशको एजेन्डा यहीमात्र हो र ?,’ राणाले भने ।
जेनजी आन्दोलनपछि एमालेले आफ्नो राजनीतिक दिशा तय गरिसकेको छ । साविकको माओवादी केन्द्र साना दलहरूलाई समेटेर अघि बढ्न लागिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि शक्ति बढाउन संवादमा रहँदा कांग्रेस अलमलमै छ ।
बैठकमा विघटित प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय गर्न ४५ सांसदको हस्ताक्षरसहित आग्रह गरेका थिए ।
घिमिरेको नेतृत्वमा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर सुरु भएपछि पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रूपमै विरोध गरे । त्यसपछि सभामुख देवराज घिमिरेसँगको भेटमा प्रमुख सचेतक घिमिरेले पार्टीभित्र पुनर्स्थापनाका पक्षमा विरोध देखिएकाले त्यसतर्फ नलाग्ने जानकारी गराए ।
नेताहरू आफ्नो मनमा के लाग्छ, त्यही अनुसार बोलिरहेका छन् । तर, पार्टीले राष्ट्रिय राजनीतिमा आफ्नो स्पष्ट धारणा यो हो भनेर निर्णय गर्न सकेको छैन ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पार्टीको आन्तरिक विवादमा रुमल्लिँदा राष्ट्रिय राजनीतिमा स्पष्ट धारणा बनाउन आफूहरू चुकेको स्वीकार्छन् । ‘हो, अधिवेशनको विवादले गर्दा हामी राष्ट्रिय राजनीतिमा स्पष्ट रूपमा निर्णय गर्न सकिरहेका छैनौँ । महाधिवेशनबारे लामो छलफल यो परिस्थितिमा गर्नु हुँदैनथ्यो,’ प्रवक्ता महतले रातोपाटीसँग भने, ‘केन्द्रीय कार्यसमिति बैठकको सुरुदेखि नै निर्वाचनका विषयमा निर्णय गरिहालौँ भन्दा निर्णय भएको छैन । महाधिवेशनबारे छलफल गर्दा अरु विषयमा पनि निर्णय गर्न सकिएको छैन ।’
प्रवक्ता डा. महतले बिहीबार केन्द्रीय समिति बैठक बस्ने भएकाले त्यसबाट राष्ट्रिय राजनीतिबारे धारणा आउने बताए ।
त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्रमा अध्यापन गर्ने डा. भेषराज घिमिरेले कांग्रेसको यो अलमलले पार्टी सुध्रिन चाहँदैन भन्ने सन्देश दिएको बताउँछन् । ‘कांग्रेसको यो अलमलले पार्टीका नेताहरूले राजनीति बुझेका छैनन् । परिस्थिति बुझेका छैनन् । पार्टी पनि सुध्रिन चाहँदैन भन्ने सन्देश आम नागरिकमा गएको छ,’ डा. घिमिरेले रातोपाटीसँग भने, ‘लोकतन्त्रको मसिंहा ठान्ने पार्टी आन्तरिक झिना मसिना, खुद्रा कुरामा अल्झिन्छ, अनि कसरी लोकतान्त्रिक अभ्यास गर्न सक्छ ? कसरी परिवर्तन गर्न सक्छ र विकास ल्याउन सक्छ भन्ने प्रश्न खडा भएको छ ।’
उनले कांग्रेसबाट पटक–पटक लाभ लिएकाको झुण्डले परिवर्तन नचाहँदा समस्या देखिएको बताए । त्यो झुण्डको चक्र तोड्न नसकेमा कांग्रेस पार्टी आगामी निर्वाचनमा रसातलमा पुग्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण